काठमाडौँ – अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) का नेपाल निर्देशक सेपिडे केभान्शाडसँगै आज काठमाडौँमा दुई ओटा माध्यमिक विद्यालयका पुनर्निर्मित भवन हस्तान्तरण गर्नुभएको छ । एक सानो समारोहका बिच आयोजित उक्त हस्तान्तरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र एसियाली विकास बैंक (एडीबी) का अफिसर-इन-चिफ शरद भण्डारी उपस्थित हुनुहुन्थ्यो ।
नेपालका २९ स्थायी विद्यालयका भवन पुनर्निर्माण सम्पन्न गर्नका लागि अमेरिकी सरकारले युएसएआईडीमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको छ । तीमध्येका थप दुई विद्यालयहरू आजको कार्यक्रमसँगै प्रयोगका लागि तयार भएका छन् ।
कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा राजदूत बेरीले भन्नुभयो, “बालबालिकालाई विद्यालय फर्काउने नेपालको प्राथमिकता अमेरिकी सरकारको पनि प्राथमिकता हो । यस प्रतिबद्धताको हिस्सास्वरूप भूकम्पीय दृष्टिले सुरक्षित, सुविधासम्पन्न र बाल तथा अपाङ्गतामैत्री विद्यालय भवन निर्माणका निम्ति हामीले एसियाली विकास बैंक र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग साझेदारी गरेका हौँ । सुरक्षित नेपालको पुनर्निर्माणमा मद्दत गर्ने दिशामा अमेरिकी जनताको लामो समयदेखिको र जारी सहयोग यस प्रतिबद्धताबाट प्रतिविम्बित भएको छ ।”
२०७२ सालको भूकम्पयता अमेरिकी सरकारले भूकम्प प्रतिकार्य र पुनरुत्थानमा १९ करोड डलरभन्दा बढी रकम लगानी गरेको छ । हाम्रो सहयोगअन्तर्गत अस्थायी सिकाइका संरचना स्थापित भएका छन् र विद्यार्थी तथा शिक्षकलाई अति महत्त्वपूर्ण शैक्षिक सामग्री उपलब्ध गराइको छ, जसको फलस्वरूप बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता दिन पाएका छन् । साथै, हाम्रो सहयोग भौतिक संरचनाको निर्माणमा मात्र सीमित नरहेको कुरा यी दुई विद्यालयले सङ्केत गर्दछन् । नेपालका प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षाको हक छ र त्यस्तो शिक्षा उनीहरूले सुरक्षित स्थलमा प्राप्त गर्नु पर्दछ भन्ने कुरा सुनिश्चत गर्नका लागि युएसएआईडी र नेपाल सरकारबिच भएको सहकार्य यी भवनहरूको निर्माणबाट देखिएको छ ।
सुरक्षित पुनर्निर्माणमा नेपाल सरकारलाई सहयोग गर्ने र नेपाली बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा सुरक्षा सुनिश्चित गर्ने अमेरिकी सरकारको प्रतिबद्धताको निरन्तरता यस हस्तान्तरण कार्यक्रमबाट प्रदर्शित भएको छ । ७० वर्षभन्दा बढी समयदेखि अमेरिकाले नेपालसँग बलियो र लामो साझेदारी गर्दै आएको छ र हामी हाम्रो मित्रतालाई निरन्तरता दिन उत्साहित छौँ ।
थप जानकारीका लागि नेपालस्थित अमेरिकी दूतावासका आन्ना रिची-एल्लेनलाई Richey-AllenAE1@state.gov मा सम्पर्क गर्न सकिनेछ वा https://www.usaid.gov/nepal मा जान सकिनेछ ।
###