Flag

An official website of the United States government

अमेरिकाद्वारा नेपाललाई बाल कोभिड-१९ खोपका २२ लाख मात्रा प्रदान
2 MINUTE READ
जुन 19, 2022

काठमाडौँ, नेपाल – अमेरिकी सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न २२ लाख मात्रा बाल खोपको अनुदान प्रदान गर्ने भएको छ । ५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरिएका हुन् र यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल-मात्रा खोपको १५ लाख मात्रामा थपिने छन् ।

यस अनुदानले अमेरिका र नेपालबिचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको सम्मान पनि गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीका सशक्त परिणामहरू प्रतिविम्ब गर्दछ । कोभिड-१९ महामारीको सुरुवातदेखि नै यस विरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा – न्यूनीकरण गर्न नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको छ ।

बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्न नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो ।

विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड-१९ खोपको अनुदान प्रदान गर्ने वाचा गरेको छ र ५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ । ४ अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठुलो द्विपक्षीय दाता पनि हो ।

विश्वव्यापी कोभिड-१९ प्रतिकार्यको नेतृत्व गर्न अमेरिका प्रतिबद्ध छ किनकि यो सही कार्य हो र यसले अमेरिकी र नेपाली हामी सबैलाई एकैनासले सुरक्षित बनाउने छ । यस महामारीको अन्त्य गर्न नेपालसँग सहकार्य गरेकोमा हामीलाई गर्व छ ।

###

For further information contact the U.S. Embassy Kathmandu at usembktm@state.gov.

थप जानकारीका लागि नेपालस्थित अमेरिकी दूतावासलाई usembktm@state.gov मा सम्पर्क गर्न सकिनेछ।