Flag

An official website of the United States government

अमेरिकी दूतावासद्वारा अमेरिका र नेपालबिच भिसा पारस्परिकता घोषणा
2 MINUTE READ
अप्रील 2, 2019

Press Release Newspaper Roll
Press Release Newspaper Roll

२०७५ चैत १८

अमेरिकी दूतावासका कन्सुलर शाखा प्रमुख माइक म्युस्सी र अध्यागमन विभागका महानिर्देशक ईश्‍वर पौडेलले आज नेपालद्वारा अमेरिकी नागरिकलाई जारी गरिएको पहिलो पाँच-वर्षीय बहुप्रवेश पर्यटक भिसा हस्तान्तरण कार्यक्रमको संयुक्त अवलोकन गर्नुभयो । लामो समयदेखि अमेरिकाले नेपाली पर्यटकहरूलाई पाँच-वर्षीय भिसा जारी गर्दै आइरहेको छ । आजको हस्तान्तरण कार्यक्रमसँगै नेपालले पनि अमेरिकी आगन्तुकका निम्ति भिसाका एउटै शर्त अपनाएको छ । यसबाट अमेरिका र नेपालबिच अझै निकट र गहिरो सम्बन्धको सहजीकरण हुनेछ ।

विश्‍वभर नै भिसासम्बन्धी नीतिमा भिसा पारस्परिकता एक मानक तथा चिरस्थायी सिद्धान्तका रूपमा रहँदै आएको छ । अमेरिकी सरकार र नेपाल सरकारले अक्टोबर २०१७ देखि नै सबै प्रकारका भिसामा पारस्परिकता स्थापित गर्नेतर्फ काम गर्दै आएका थिए ।

अमेरिका र नेपालका भिसासम्बन्धी व्यवस्थामा समरूपताको स्थापनाले नेपाल आउने अमेरिकी पर्यटक तथा व्यावसायिक प्रतिनिधिहरूको सङ्ख्या तथा बारम्बारतामा वृद्धि गर्ने अवसर सिर्जना गर्दछजसबाट नेपालको अर्थतन्त्रलाई फाइदा पुग्दछ । नेपालको अर्थतन्तन्त्रको उल्लेखनीय हिस्सा पर्यटन हो । गत वर्ष ९० हजारभन्दा बढी अमेरिकी नागरिकले नेपाल भ्रमण गरे । सन् २०१७ को तुलनामा अमेरिकी आगन्तुकको सङ्ख्यामा १५ प्रतिशतले वृद्धि भएको छ । पाँच वर्षका लागि बहाल रहने बहुप्रवेश सुविधासहितको पारस्परिक पर्यटक भिसा प्राप्‍तिसँगै अमेरिकी नागरिकहरूले सहजै र अझै धेरै पटक नेपाल आउने मौका पाउने भएका छन् ।

त्यसैगरीअमेरिकी विद्यार्थी र अध्येताहरू पनि नेपालमा अध्ययन र अनुसन्धान गर्न उत्सुक छन् । हाम्रा भिसा व्यवस्थाहरूमा समानता हुनुको मतलब अझ धेरै अमेरिकीहरूले नेपाली शैक्षिक संस्थाहरूमा अध्ययन र अनुसन्धान गर्ने अवसर पाउनेछन् र शैक्षिक तथा सांस्कृतिक आदानप्रदानहरूमा सहभागी हुन पाउनेछन् ।

अमेरिका र नेपालबिच पारस्परिक भिसा व्यवस्थातर्फको कदमले निश्‍चित वर्गका नेपाली भिसा आवेदकहरूलाई पनि महत्त्वपूर्ण फाइदा पुर्‍याउनेछ । उदाहरणका लागि संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूले चाँडै नै प्रत्येक भिसा जारी हुँदा दुई सय अमेरिकी डलर अर्थात् ५० प्रतिशतभन्दा बढी बचत गर्नेछन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै श्री म्युस्सीले भन्नुभयो, “भिसा बहाल रहने अवधिमा विस्तार तथा खर्चमा कमी अमेरिका र नेपाल दुवैका लागि राम्रा कुरा हुन् । हाम्रा जनसमुदायबिच अझ बढी सम्बन्धहरू अन्वेषण गर्ने अवसरहरू सम्भव बनाउँदै यसले हाम्रा मुलुकहरूबिच आर्थिक क्रियाकलाप र आदानप्रदानलाई बढावा दिनेछ ।

###