Flag

An official website of the United States government

अमेरिकी दूतावासद्वारा नेपाल-युएस एलम्नाइ नेटवर्क (नुसान) क्षेत्रीय सञ्‍जालविस्तार विचार गोष्ठी सम्पन्न
2 MINUTE READ
जुलाई 19, 2019

The U.S. Embassy, in partnership with the Nepal-US Alumni Network (NUSAN), organized a half-day Regional Connectivity Symposiusm on July 19
The U.S. Embassy, in partnership with the Nepal-US Alumni Network (NUSAN), organized a half-day Regional Connectivity Symposiusm on July 19

२०७६ साउन ३

काठमाडौँ – अमेरिकी दूतावासले नेपाल-युएस एलम्नाइ नेटवर्क (नुसान) सँगको साझेदारीमा साउन ३ गते रिजनल कनेक्टिभिटी (क्षेत्रीय सञ्‍जालविस्तार) सम्बन्धी आधा दिने विचारगोष्ठी आयोजित गरेको छ । कार्यक्रममा अमेरिकी सरकारका आदानप्रदान कार्यक्रमका पूर्व विद्यार्थी, सरकारी अधिकारी, विद्यार्थी, र पत्रकार लगायत १२० जनाभन्दा बढी सहभागीको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले भन्नुभयो, “अमेरिकी दूतावासले आफै छलफललाई निर्देशित गर्ने हिसाबले यस्ता कार्यक्रमलाई प्रायोजन गरेको होइन । यसको उद्देश्य त विचारको स्वतन्त्र आदानप्रदान र सम्बन्ध निर्माणलाई प्रोत्साहित गर्नु हो । नेपालले सामना गरिरहेका चुनौतीका लागि यसबाट अहिले र भविष्यमा समेत व्यावहारिक तथा स्वदेशी समाधान निस्कनेछन् भन्ने हामीले आशा लिएका छौँ ।”

प्रस्तोताहरूले तथ्याङ्क संरक्षण तथा गोपनीयता ढाँचाको विकासका साथै नेपालको अनुपम अवस्थितिका कारण पर्यटन तथा जलविद्युत् विकासका निम्ति सिर्जित भौगोलिक लाभ लगायतका विविध विषयमा चर्चा गरेका थिए । आफ्ना क्षेत्रीय र त्यसभन्दा परका छिमेकीहरूको एक आत्मनिर्भर, स्वतन्त्र तथा समुत्थानशील साझेदारका रूपमा नेपालको स्थानलाई मजबुत बनाउने नीति तथा रणनीतिको पहिचानमा कार्यक्रमले मद्दत गरेको छ ।

अमेरिकी दूतावास तथा नुसानको साझेदारीमा विगत एक वर्षमा आयोजित कार्यक्रमहरूको शृङ्खलामा यो चौथो कार्यक्रम हो । यसअघि नुसानले पारदर्शिता तथा जवाफदेहिता, विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलता, र महिला उद्यमशीलता लगायतका विषयमा सम्मेलन आयोजना गरिसकेको छ ।