अमेरिकी दूतावासद्वारा पर्यटन क्षेत्रका अधिकारीहरूका लागि अङ्ग्रेजी तथा कार्यसञ्‍चालन सिपसम्बन्धी तालिम सुरु

२०७५ माघ २१

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी तथा नेपालका माननीय परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त रूपमा पर्यटक प्रहरी, अध्यागमन अधिकृत र पर्यटन क्षेत्रका अधिकारीहरूप्रति लक्षित अङ्ग्रेजी तथा कार्यसञ्‍चालन सिपसम्बन्धी श्रृङखलाबद्ध तालिमको उद्‍घाटन गर्नुभएको छ ।

काठमाडौँमा आज आयोजित उद्‌घाटन समारोहमा बोल्दै राजदूत बेरीले भन्नुभयो, “नेपालको अर्थतन्त्र सबल बन्दै गइरहेको र मुलुकले बढीभन्दा बढी विदेशी आगन्तुक भित्र्याइरहेको अवस्थामा अग्रपङ्‌क्तिमा रहेकाहरूले अङ्ग्रेजीमा सञ्‍चार प्रवाह तथा समस्या समाधान गर्नसक्नु अति महत्त्वपूर्ण हुन पुगेको छ ।

विभिन्न सहर तथा धेरै महिनाको अवधिको सो तालिम कार्यक्रम पर्यटन क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूको अङ्ग्रेजी भाषा सिप मजबुत बनाउँदै नेपालको आर्थिक वृद्धि तथा सुरक्षा लक्ष्यलाई अगाडि बढाउने प्रयत्‍न हो । अमेरिकी दूतावासको अङ्ग्रेजी भाषासम्बन्धी कार्यालयले एकीकृत विकास तथा रूपान्तरण नेपालसँगको सहकार्यमा सहभागीहरूको अङ्ग्रेजी सञ्‍चार सिपमा सुधार ल्याउन मद्दत गर्नेछ जसले गर्दा विदेशी आगन्तुकसँगको उहाँहरूको दैनिक अन्तरक्रिया सहज बन्नेछ । नेपालका चार सहरमा सञ्‍चालन गरिने यस श्रृङ्‍खलाबद्ध तालिमबाट झन्डै ८० अध्यागमन अधिकृत, ५० पर्यटन अधिकारी र ४३ पर्यटक प्रहरी लाभान्वितहुने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ र २०१८ मा नेपाल आउने पर्यटकको तेस्रो ठूलो सङ्ख्या विश्‍वको पल्लो छेउमा रहेको संयुक्त राज्य अमेरिकाको थियो । गत साल ९० हजारभन्दा बढी अमेरिकी पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए । सो सङ्ख्या सन् २०१७ को तुलनामा १२ हजारले बढी थियो । यस वर्ष पनि अमेरिकी पर्यटकको सङ्ख्या वृद्धि गर्ने अपेक्षा हामीले गरेका छौँ । यस तालिमले पर्यटनसम्बन्धी अनुभवलाई सुधार गर्दै नेपालको आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।

###