Flag

An official website of the United States government

अमेरिकी दूतावासद्वारा १८ औँ शताब्दीको अष्‍टकोणीय कृष्ण मन्दिर पुनर्स्थापना परियोजनाको उद्‍घाटन
2 MINUTE READ
नोभेम्बर 1, 2019

The U.S. Embassy awarded $150,000 through the Ambassadors Fund for Cultural Preservation (AFCP) to the Kathmandu Valley Preservation Trust
The U.S. Embassy awarded $150,000 through the Ambassadors Fund for Cultural Preservation (AFCP) to the Kathmandu Valley Preservation Trust

२०७६ कात्तिक १५

पाटन – वि.सं. २०७२ सालको महाभूकम्‍पमा गम्भीर रूपमा क्षतिग्रस्त अष्‍टकोणीय कृष्ण मन्दिरको संरक्षणका लागि अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) मार्फत काठमाडौँ उपत्यका संरक्षण कोषलाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । पाटन दरबार क्षेत्रमा आयोजित एक समारोहका बिच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी, अन्तर्राष्‍ट्रिय धार्मिक स्वतन्त्रताका लागि राजदूत स्याम ब्राउनब्याक, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुनर्स्थापना र संरक्षण कार्य सुरुवातको उत्सवमनाउ गर्नुभयो ।

एएफसीपीको रकमले शिखर शैलीको उक्त अष्‍टकोणीय कृष्‍ण मन्दिरको भूकम्पीय सुदृढीकरण तथा संरक्षणमा सहयोग पुर्‍याउनेछ । सन् १७२३ मा निर्मित उक्त मन्दिर भगवान् कृष्‍णप्रति समर्पित छ र यसमा प्रस्तरकलाको एक अभिनव स्वरूपको प्रयोग गरिएको छ जुन दक्षिण एसियामै अतुलनीय छ । यो संरक्षण कार्य दुई वर्षभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।

“यो कार्यक्रमले नेपालको सांस्कृतिक सम्पदाप्रति अमेरिकी सम्मानको गहिराई दर्साउँछ,”  राजदूत बेरीले भन्नुभयो । “सन् २००३ को हाम्रो पहिलो एएफसीपी परियोजना, काल भैरव, देखि पछिल्लो समयको यस कृष्ण मन्दिर पुनर्स्थापनासम्म, नेपालका अद्वितीय र अपूरणीय सम्पदाको संरक्षण गर्ने प्रयासहरूमा नेपालको गौरवशाली साझेदार रहिआएको छ अमेरिका ।”

महानिर्देशक गौतमले अमेरिकी दूतावासका प्रयासहरूका दिगो प्रभावमाथि प्रकाश पार्नुभयो । “नेपालको सांस्कृतिक सम्पदाका क्षेत्रहरूको पुनर्स्थापना र संरक्षणमा अमेरिकी सरकारको सहयोगप्रति हामी आभारी छौँ । गद्दी बैठकदेखि पाटन राजदरबार र यस मन्दिरसम्म एएफसीपीमार्फत प्राप्‍त रकमले नेपाल सरकारको भूकम्पपछिका सांस्कृतिक सम्पदा पुनर्स्थापना प्रयासहरूमा ठुलो सहयोग पुर्‍याएको छ ।”

फोटो लिङ्क: https://www.flickr.com/photos/usembassykathmandu/albums/72157711588828942

थप जानकारीका लागि नेपालस्थित अमेरिकी दूतावासकी सूचना अधिकृत एन्ड्रिया डी आरमेन्टलाई DeArmentAJ@state.gov मार्फत सम्पर्क गर्नुहोला ।

###