२०७६ असार १२
अमेरिकी दूतावासले पाँच महिला युवा फुटबल खेलाडीलाई खेलकुद आगन्तुक कार्यक्रम (एसभिपि) अन्तर्गत असार १५ देखि २७ सम्म अमेरिका पठाउँदै छ। एसभिपि एक अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम हो जसले सहभागीहरूलाई अमेरिकी संस्कृति, नेतृत्व, र खेलकुदमा भएका सर्वोत्कृष्ट अभ्यास—समुदायमा आधारित युवा मनोरञ्जनात्मक खेल देखि व्यावसायिक लिगहरूसम्म—सँग परिचय गराउँछ। अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा व्यवस्थापन र एफएचआइ-३६० द्वारा कार्यान्वयन हुने एसभिपि कार्यक्रमले सहभागीहरूलाई अमेरिकी समाज, संस्कृति, र मान्यताहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गर्नेछ। यसका गतिविधिमा पोषण, तागत र अनुकूलन, खेलकुदमा लैङ्गिक समता, खेलकुदमा अपाङ्गता, तथा टिम निर्माण अभ्यासका सत्र समाविष्ट छन्।
असार १२ गते एसभिपिको शुभारम्भ समारोहमा बोल्दै दूतावासकी प्रवक्ता एण्डी डि आर्मेण्टले नेपाल फर्केर आएपछि यी विद्यार्थीहरूले कार्यान्वयन गर्ने व्यक्तिगत कार्ययोजनामा जोड दिँदै भन्नुभयो, “एसभिपि जस्ता कार्यक्रमले खेलकुदप्रतिको सर्वव्यापी मोहलाई भाषिक र सामाजिक-सांस्कृतिक भिन्नताभन्दा माथि उठ्ने र मानिसहरूलाई एकै ठाउँमा ल्याउने एक उपायका रूपमा प्रयोग गर्छन्। खेलकुदमा सहभागिताले नेतृत्व, सामूहिक कार्य, र सम्प्रेषण सिपहरू सिकाउँछ जसले युवावर्गलाई जीवनका सबै पक्षहरूमा सफल बन्न मद्दत गर्छ।”
यी दुई हप्ताको बसाइमा सहभागीहरूले अमेरिकामा महिला खेलकुद’bout बुझ्नेछन् र सन् २०१९ को फिफा महिला विश्वकपको उत्सव अमेरिकी दौँतरीसँग मैदानमै मनाउनेछन्। अखिल नेपाल फुटबल संघ र ‘वी युनाइटेड’ परियोजनासँगको साझेदारीमा नेपालको भौगोलिक, सांस्कृतिक, र जातीय विविधताको प्रतिनिधित्व हुने गरी कर्णालीदेखि धनुषासम्म र सुदुरपश्चिमदेखि काठमाण्डौंसम्मबाट चुनिएका उमेर १५-१८ वर्षका पाँच सहभागीप्रति अमेरिकी दूतावासलाई गर्व छ।
###