Flag

An official website of the United States government

अमेरिकी सरकारले १८औँ शताब्दीको कृष्ण मन्दिरको संरक्षणमा सहयोग गर्ने
2 MINUTE READ
अगस्ट 23, 2019

The U.S. Embassy is pleased to announce this year’s recipient of the Ambassadors Fund for Cultural Preservation (AFCP)
The U.S. Embassy is pleased to announce this year’s recipient of the Ambassadors Fund for Cultural Preservation (AFCP)

काठमाडौँ – अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत यस वर्ष काठमाडौँ उपत्यका संरक्षण कोष (केभीपीटी) लाई विश्‍वव्यापी प्रतिस्पर्धामार्फत परियोजना सञ्‍चालनका लागि छनोट गरिएको घोषणा गर्न पाउँदा अमेरिकी दूतावासलाई खुशी लागेको छ । उक्त परियोजनाअन्तर्गत पाटन दरबार क्षेत्रमा रहेको १८औँ शताब्दीको अष्टकोण आकारको कृष्ण मन्दिरलाई भूकम्पीय दृष्टिले बलियो बनाउँदै त्यसको संरक्षणमा सहयोग गरिनेछ ।

सन् १७२३ मा निर्मित शिखर शैलीको कृष्ण मन्दिरको संरक्षणका लागि अमेरिकी दूतावासले एएफसीपी कार्यक्रममार्फत केभीपीटीलाई १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ । २०७२ सालको भूकम्पका कारण उल्लेखनीय रूपमा कमजोर बनेको उक्त मन्दिरलाई परियोजनाले स्थिर र भूकम्प प्रतिरोधी बनाउनुका साथै त्यसको संरक्षणका लागि अत्यावश्यक जीर्णोद्धार कार्यलाई सघाउनेछ । केभीपीटीको पञ्‍चवर्षीय भूकम्प प्रतिकार्य अभियानको हिस्साको रूपमा रहने उक्त परियोजनाले स्थानीय शिल्पकारहरूलाई काममा लगाउनेछ र सर्वोत्तम अन्तर्राष्ट्रिय मापदण्ड अपनाउँदै यस ऐतिहासिक मन्दिरको जीर्णोद्धार गर्नेछ ।

“सांस्कृतिक सम्पदा संरक्षणका लागि नेपालसँगको हाम्रो दुई दशकभन्दा लामो सहकार्य दुई देशबिचको आपसी मित्रताको प्रष्ट सङ्केत हो र यसले नेपालको सांस्कृतिक विविधता र सम्पन्नताप्रति हाम्रो सम्मान पनि देखाउँदछ,” राजदूत बेरीले भन्नुभयो । “नेपालको अनुपम र अद्वितीय सांस्कृतिक सम्पदाको संरक्षणप्रति संयुक्त राज्य अमेरिका प्रतिबद्ध छ । कृष्ण मन्दिरको संरक्षण ऐतिहासिक ढुङ्गा वास्तुकला संरक्षणमा भावी पुस्ताका लागि एउटा महत्त्वपूर्ण पाइला हुनेछ ।”

अमेरिकी कंग्रेसद्वारा स्थापित र अमेरिकी विदेश मन्त्रालयद्वारा सञ्‍चालित एएफसीपी कार्यक्रमले सन् २००१ देखि सांस्कृतिक स्थल, सांस्कृतिक वस्तु र परम्परागत सांस्कृतिक अभिव्यक्तिलाई सहयोग गर्दै आएको छ । स्थापनाकालदेखि नै एएफसीपी कार्यक्रमले अन्य देशका सांस्कृतिक सम्पदाप्रतिको अमेरिकाको सम्मान व्यक्त गर्दै आएको छ । कार्यक्रमले हालसम्म १२५ भन्दा बढी मुलुकमा १,००० भन्दा बढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनाहरूलाई सहयोग गरिसकेको छ । नेपालमा एएफसीपीले अमेरिकी सरकारको ३५ लाख २० हजार डलर अनुदान सहयोगमार्फत २४ ओटा परियोजनाहरूलाई सहयोग गरेको छ ।

###