Flag

An official website of the United States government

दक्षिण एसिया क्षेत्रीय अङ्ग्रेजी भाषा सम्मेलनका सहभागीहरू बाग्मती सरसफाइमा सरिक
1 MINUTE READ
नोभेम्बर 25, 2019

२०७६ मङ्‌सिर ९

काठमाडौँ – हालै बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलङ्काको प्रतिनिधित्व गर्दै १४० भन्दा बढी शिक्षक, पूर्वविद्यार्थी र प्रशिक्षकहरूले स्थानीय नेपाली संघसंस्थाका ६०० जना स्वयंसेवकलाई बाग्मती नदी सरसफाइ अभियानमा साथ दिएका छन् । उक्त राष्ट्रव्यापी अभियान आफ्नो ३४०औँ हप्‍तामा छ । स्वस्थ नदी परिप्रणालीलाई प्रवर्द्धन गर्नका लागि नेपाल सरकारको सहरी विकास मन्त्रालयले स्वच्छ बाग्मती अभियानको नेतृत्व गरेको हो ।

सहभागीहरू अमेरिकी विदेश मन्त्रालयको परिचायक इङ्गलिश एक्सेस माइक्रोस्कलरशीप कार्यक्रमका हिस्सा हुन् । विपन्न समुदायका प्रतिभाशाली युवाहरूलाई इङ्गलिश एक्सेस माइक्रोस्कलरशीप कार्यक्रमले अङ्ग्रेजी भाषा सिपको जग प्रदान गर्दछ । यस कार्यक्रमअन्तर्गत दुई वर्षसम्म विद्यालयको नियमित पढाइ सकिएपछि विद्यार्थीहरू अतिरिक्त समय विद्यालयमा बसेर सघन सिकाइ कक्षामा सामेल हुन्छन् । सन् २०१३ यता मुलुकका २२ भन्दा बढी स्थानमा ९०० भन्दा नेपाली विद्यार्थी इङ्गलिश एक्सेस माइक्रोस्कलरशीप कार्यक्रममा सहभागी बनिसकेका छन् ।

बाग्मती सरसफाइमा स्थानीय स्वयंसेवकहरूलाई उत्साहपूर्वक साथ दिँदै सहभागीहरूले हजारौँ किलो बराबरको फोहोर नदी किनारबाट सङ्कलन गर्न सघाएका छन् । आवश्यकतामा आधारित आफ्नै सेवामूलक परियोजना निर्माण तथा कार्यान्वयन गर्ने, सञ्‍चारसम्बन्धी आफ्नो ज्ञान र सिप अविवृद्धि गर्ने र पेसागत अभ्यासमा आधारित पद्धति विकास गर्ने अनि कक्षाकोठा र पूर्वविद्यार्थीद्वारा सञ्‍चालित दक्षिण एसियाभरिका संघसंस्थाहरूबिच सम्बन्ध स्थापित गर्ने गरी तर्जुमा भएको एक बृहत् कार्यक्रममा भाग लिन सहभागीहरू नेपाल आएका हुन् । एक भारतीय सहभागीले भने, “कार्यक्रमबाट मैले एकजुट हुनुको महत्त्व बुझेँ ।” पाकिस्तानबाट आएका एक शिक्षकले भने, “मैले यस्तै किसिमको केही काम एक्लै गर्दै आएको थिएँ तर यसरी अरूसँग सहकार्य गरेको थिइनँ ।” अर्का सहभागीले भने, “यस सम्मेलनले अन्तरसांस्कृतिक अभ्यास आदानप्रदानका लागि खुला र सुरक्षित स्थान सिर्जना गरेको छ ।”