२०७६ जेठ ३०
अमेरिका र बेलायतका विकास नियोगहरूले आज मानव तस्करी नियन्त्रणमा नेपाल सरकारलाई सहयोग गर्ने गरी एक साझेदारीको घोषणा गरेका छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) र बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिफिड) बिचको यो नयाँ साझेदारीले मानव तस्करीसँग लड्ने नेपाल सरकारका प्रयत्नहरूलाई सहयोग गर्न नेपालका १० जिल्लामा युएसएडद्वारा सञ्चालित हाम्रो सम्मान परियोजना को विस्तार गर्नेछ।
उक्त समारोहमा बोल्दै युएसएड-नेपालकी नियोग निर्देशक एमी टोहिल-स्टलले भन्नुभयो, “अमेरिकी जनता मानव तस्करी विरुद्ध विश्वभर लड्न कटिबद्ध छन्। एक दशकभन्दा अघिदेखि युएसएडको सहयोगले नेपाललाई मानव तस्करी रोक्ने, तस्करहरू विरुद्ध कानुनी कारबाही चलाउने, र पीडितको सुरक्षा र पुनर्स्थापना गर्ने सम्बन्धी ४९ वटा नीतिहरूलाई सुदृढ गर्न सक्षम बनाएको छ। डिफिडले हामीसँग साझेदारी गरेकोमा हामी खुसी छौँ किनकि हाम्रो सहकार्यले यस गम्भीर विषयलाई सम्बोधन गर्ने हाम्रा प्रयत्नहरूलाई विस्तार गर्न सक्षम बनाउने छ।”
त्यसै गरी, नेपालमा डिफिडका प्रमुख डा. रुरिक मार्सडेनले भन्नुभयो, “नेपालमा आधुनिक दासत्व अन्त्य गर्न नेपाल सरकारसँग सहकार्य गर्न बेलायत कटिबद्ध छ। यस ध्येयमा युएसएडसँग हातेमालो गर्न पाउँदा हामी खुसी छौँ। मानव तस्करीलाई सम्बोधन गर्न र प्रमाण जुटाएर अझ राम्रो योजना बनाउन र मानव तस्करीसँग लड्न सरकारी प्रणालीहरूलाई बलियो बनाउन डिफिडको योगदानले मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु।”
अमेरिकी सरकारको मानव तस्करी प्रतिवेदन २०१८ ले नेपाललाई तह २ मुलुकको श्रेणीमा राखेको छ र नेपाललाई मानव तस्करीको स्रोत, ट्रान्जिट, र गन्तव्य मुलुकका रूपमा पहिचान गरेको छ। यस रिपोर्टको आकलन अनुसार प्रत्येक वर्ष ३० हजार नेपाली केटी र महिलाहरू व्यापारिक तवरमा यौनका लागि शोषित हुन्छन् भने विश्व दासत्व सुचकाङ्क २०१८ को अनुमान अनुसार कुनै पनि समयमा एक लाख ७१ हजार नेपाली दासत्वको अवस्थामा हुन्छन्।
यी चुनौतीका बाबजुद सन् २०१७ मा सुरु गरिएको र विन्रक इन्टरनेश्नल द्वारा कार्यान्वयन भएको हाम्रो सम्मान परियोजना ले नेपालमा मानव तस्करी घटाउनमा उल्लेखनीय फड्को मारेको छ। विगतका दुई वर्षमा, यस परियोजनाले:
• मानव तस्करी सम्बन्धमा आम सञ्चारका माध्यमबाट २५ लाख जनाको चेतना अभिवृद्धि गरेको छ;
• जोखिममा परेका ४,००० नेपालीलाई अवसरहरू र/वा कानुनी सहायताका लागि सिफारिस गरेको छ;
• जोखिममा परेका १,१२५ नेपालीलाई उद्यमशीलताका सिपहरू सिकाएको छ;
• मानव तस्करीका ६२० पीडितहरूका लागि सहयोग सेवाहरू सुनिश्चित गरेको छ;
• मानव तस्करी तथ्याङ्क सङ्कलन गर्न ३९९ संस्था तथा सरकारी निकायहरूलाई सहयोग गरेको छ;
• ३६० फौजदारी न्यायका कर्मचारीलाई प्रशिक्षित गरेको छ;
• जोखिममा परेका १७९ जना नेपालीलाई भारतबाट स्वदेश फिर्तीका लागि नेपाल सरकारसँग सहकार्य गरेको छ;
• मानव तस्करी सम्बन्धी ४९ वटा नीतिहरू सुदृढ बनाएको छ;
• ४७ जना तस्करी पीडितलाई बास दिन, सेवा दिन, र स्वदेश फिर्ता गर्न आश्रयगृहलाई सक्षम बनाएको छ; र
• मानव तस्करी सम्बन्धी समस्याहरू सफल रूपमा सम्बोधन गर्न ३९ वटा उप-राष्ट्रिय सरकारहरूको क्षमता अभिवृद्धि गरेको छ।
यस परियोजनाका बाँकी तिन वर्षमा डिफिडसँगको साझेदारीले युएसएड र डिफिडको प्राविधिक विज्ञताको मिश्रण गरेर विशेष गरी वैदेशिक श्रम आप्रवास प्रक्रिया र मनोरञ्जन क्षेत्रहरूमा मानव तस्करीलाई सम्बोधन गरी हाम्रो सम्मान को विगतको सफलतालाई विस्तार गर्ने छ। यस परियोजनाले मानव तस्करीको सामना गर्न नेपाल सरकारको प्रणालीलाई सुदृढ बनाउने तथा सरकार, नागरिक समाज र निजी क्षेत्रबिच सहक्रिया सृजना गरी तस्करहरूलाई कारबाही गर्ने र नेपालको संघिय संरचना अन्तर्गत पीडितहरूलाई अझ राम्ररी सहयोग गर्ने लक्ष लिएको छ।