२०७६ असोज ०६
अमेरिकी दूतावासले नेपाली सेनासँगको साझेदारीमा २०७६ असोज ३-४ गते पाँचौँ वार्षिक विपद् व्यवस्थापन जागरण कार्यक्रम (डिएमएपी) सम्पन्न गरेको छ। यस वर्ष पनि अमेरिकी दूतावासको प्रतिरक्षा सहकार्य कार्यालय, अमेरिकी दूतावासको नागरिक सैन्य सहायता एलिमेण्ट, काठमाडौँ इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, र नेपाल एम्बुलेन्स सर्भिस लगायतका सहभागी समाविष्ट थिए। जनसङ्ख्याको उल्लेखनीय हिस्सा प्रभावित पार्ने भूकम्प, पहिरो तथा बाढीबाट नेपाल प्रत्येक वर्ष गुज्रन्छ। अमेरिकी दूतावासको प्रतिरक्षा सहकार्य कार्यालयद्वारा प्रायोजित डिएमएपीले भावी स्वास्थ्य सेवा प्रदायकहरूलाई विपद्अघि जोखिम घटाउने साधनहरू उपलब्ध गराउँछ र विपद्पछिको चिकित्सकीय व्यवस्थापनका लागि उनीहरूलाई अझ तयार बनाउँछ।
यस वर्षको डिएमएपी चिकित्साशास्त्र तथा नर्सिङका तेस्रो र चौथो वर्षका विद्यार्थीहरूलाई बृहत् स्तरको विपद् प्रतिकार्य तालिमप्रति उजागर गराउन तयार पारिएको थियो। नेपाली सेना, काठमाडौँ इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, अमेरिकी दूतावासको नागरिक सैन्य सहायता एलिमेण्ट, र नेपाल एम्बुलेन्स सर्भिसका चिकित्सक तथा चिकित्सकीय पेसाकर्मीहरूले ८० भन्दा बढी सहभागीहरूलाई विपद् व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी तालिम प्रदान गरेका थिए। आफ्नो प्रस्तुतिका क्रममा नेपाल एम्बुलेन्स सर्भिसका निर्देशक डा. कुलेश थापाले विपद्को पूर्वतयारी सबैको जिम्मेवारी हो भन्ने सन्देश दिनु भयो; सङ्कटको घडीमा जनतालाई सर्वोत्तम सेवा दिन समाजले एक सर्वाङ्गीण तरिका अपनाउनै पर्छ। विपद्बाट उत्थानशील नेपालको पक्षपोषण गर्न अमेरिकी र नेपाली नागरिक तथा सैन्य प्रथम प्रतिकार्यकर्ताबिचको सहकार्यको एक उत्कृष्ट उदाहरण हो डिएमएपी।
###