२०७६ माघ १७
संयुक्त राज्य अमेरिका र नेपालबिचको शैक्षिक आदानप्रदानका लागि सञ्चालित युसेफ-नेपाल / फुलब्राइट कमिशन २० वर्षको ज्ञानेश्वर बसाइपछि महाराजगञ्जमा सरेको छ । महाराजगञ्जस्थित नयाँ कार्यालय भवनमा सभाकक्ष, पुस्तकालय, कम्प्युटर सुविधा, प्रमाणित परीक्षा केन्द्रका साथै अध्ययनका लागि संयुक्त राज्य अमेरिका पढ्न जाने योजना बनाएकाहरूका लागि परामर्श सेवा लगायतका सुविधाहरू उपलब्ध छन् । नयाँ कार्यालय भवन उद्घाटनको उपलक्ष्यमा आयोजित कार्यक्रममा एजुकेशन युएसए नेपालले नेपाली विद्यार्थीलाई अमेरिकामा अध्ययन गर्ने विषयमा सही जानकारी प्राप्त गर्न सघाउने नयाँ पुस्तिका र नयाँ मोबाइल एप सार्वजनिक गरेको छ ।
कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली र अमेरिकी विद्यार्थीका लागि शैक्षिक आदानप्रदानको महत्त्वमाथि जोड दिनुभयो । “हाल अमेरिकामा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी छन्, जुन अहिलेसम्मकै उच्च सङ्ख्या हो । यस वर्ष अमेरिकामा १३ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन् । नयाँ पुस्ताका युवाहरूबाट नेपाल र अमेरिकाबिचको जनता-जनताबिचको सम्बन्धको बढ्दो सञ्जालमा योगदान हुने विषयमा हामी उत्साहित छौँ,” राजदूत बेरीले भन्नुभयो । “यी विद्यार्थीहरूले उत्कृष्ट शिक्षा हासिल गर्नेछन् र आफ्नो देशमा फर्केर स्थिर, सुरक्षित र समृद्ध नेपालको निर्माणमा योगदान गर्नेछन् भन्ने हामीलाई आशा लागेको छ ।”
शिक्षा मन्त्रालयका सहसचिव रामसरण सापकोटाले पनि शैक्षिक आदानप्रदानले दुई देशबिचको दौत्य सम्बन्धमा विशेष महत्त्व राख्ने कुरा आफ्नो मन्तव्यका क्रममा राख्नुभयो ।
नेपालमा शैक्षिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्नका लागि सन् १९६१ मा अमेरिकी सरकार र नेपाल सरकारबिच सम्पन्न सम्झौताअनुसार फुलब्राइट कमिशनको स्थापना भएको हो । सन् १९६१ देखि फुलब्राइट कमिशनद्वारा सञ्चालित विभिन्न कार्यक्रमअन्तर्गत अध्ययनका लागि झण्डै ७०० नेपालीहरू अमेरिका पुगेका छन् भने ६०० अमेरिकीहरू नेपाल आएका छन् ।