२०७६ कार्तिक १९
नेपालस्थित अमेरिकी मिसनले सन् १९५० को दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रमा साझेदारी र कार्यक्रम सञ्चालन गर्दै आएको छ र यस क्षेत्रमा आफ्नो लामो इतिहासप्रति हामीलाई गर्व छ । खास गरी अमेरिका नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध छ । हालै प्रजनन स्वास्थ्यसम्बन्धी हाम्रा कार्यक्रम ’bout सञ्चारमाध्यममा गलत चित्रण भएको छ र गलत सूचना प्रवाह भएको छ । नेपालका स्वास्थ्य तथा परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धता आज पनि उत्तिकै बलियो छ । हामीले नेपालको लागि आफ्नो आर्थिक सहयोग एक डलर पनि घटाएका छैनौँ । वास्तवमा परिवार नियोजनका लागि हाम्रो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक सहयोग विगत तीन वर्षमा एक करोड २० लाख डलरबाट झन् वृद्धि भई लगभग एक करोड ७० लाख डलर पुगेको छ । युएसएआईडीको सहायतामार्फत नेपाल सरकारलाई प्रजनन स्वास्थ्य सेवालाई नेपालभर संस्थागत गर्न र स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न सहयोग पुगेको छ । सरकारद्वारा प्रदान गरिएको नि:शुल्क जनसेवालाई नेपाली निजी क्षेत्रद्वारा प्रदान गरिने सेवाले थप सहयोग पुर्याएको छ । स्पष्ट शब्दमा भन्नुपर्दा महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नेपालसँग साझेदारी गर्ने हाम्रो प्रतिबद्धतामा परिवर्तन भएको छैन । आउँदा पुस्ताका नेपालीहरू अझै स्वस्थ रहून् भन्ने कुरा सुनिश्चित गर्नका लागि स्वास्थ्य क्षेत्रमा हामी आफ्नो लक्षित लगानीलाई निरन्तरता दिइरहनेछौँ ।
###