व्यापार तथा लगानीसम्बन्धी सम्झौता परिषद्को तेस्रो बैठकसम्बन्धी अमेरिका-नेपालको संयुक्त विज्ञप्‍ति

२०७४ वैशाख ८

काठमाडौँ, नेपाल – संयुक्त राज्य अमेरिका र नेपालबीचको व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को तेस्रो बैठक २०७४ वैशाख ७ गते काठमाडौँमा सम्पन्न भएको छ ।वस्तु तथा सेवामा द्विपक्षीय व्यापार तथा लगानीलाई प्रवर्द्धन गर्नका लागि सो बैठक बसेको हो । नेपाल सरकार वाणिज्य मन्त्रालयका सचिव ङईन्द्र प्रसाद उपाध्याय तथा अमेरिकी व्यापार सहायक प्रतिनिधि मार्क लिनस्कटले बैठकको सहअध्यक्षता गर्नुभएको थियो ।

बैठकमा नेपाल र अमेरिकाले टिफा अन्तर्गत समेटिएका साझा रुचिका विषयहरूमाथि गहन छलफल गरे । प्राविधिक व्यापारसम्बन्धी छलफल भन्सार तथा व्यापार सहजीकरण, सरसफाइ तथा फाइटोसेनेटरी उपाय, खाद्य सुरक्षा, लेबलिङसम्बन्धी योग्यता, मापदण्ड तथा अनुकूलता मूल्याङ्कन, र श्रममाथि केन्द्रित थियो । यी क्षेत्रहरूमा आफ्नो क्षमता अभिवृद्धिका लागि नेपालले गरेको आग्रहलाई अमेरिकाले मनन गरेको छ ।

नेपाल र अमेरिकाले निश्‍चित नेपाली वस्तुहरूलाई प्रदान गरिएको सुविधाबाट प्राप्‍त व्यापार लाभको पूर्ण सदुपयोग गर्नुको महत्त्वको विषयमा छलफल गरेका छन् । सन् २०१५ को अमेरिकी व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐन अन्तर्गत त्यस्ता वस्तुहरूले डिसेम्बर ३१, २०२५ सम्म सुविधा प्राप्‍त गर्नेछन् । दुवै पक्षले उक्त ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यापार ग्राह्यता कार्यक्रम अन्तर्गत थप वस्तुहरूलाई समावेश गर्ने, नेपालमा लगानी प्रवर्द्धन गर्ने र मजबुत आर्थिक वृद्धिका लागि व्यापारसम्बन्धी क्षमता अभिवृद्धि सहयोग बढाउने नेपालको आग्रहलाई अमेरिकाले मनन गरेको छ ।

राष्ट्रिय बौद्धिक सम्पत्ति नीतिमार्फत नवीनतालाई प्रश्रय दिने नेपालको प्रयासलाई स्वागत गर्दै अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारलाई अझै बढी संरक्षण गर्ने कानुन बनाउने दिशामा नेपालको प्रयासलाई सहयोग गर्नका लागि जानकारी प्रदान गरेको छ । अमेरिकी पक्षले बौद्धिक सम्पत्ति अधिकार प्रशासनको क्षेत्रमा नेपालको क्षमता अभिवृद्धिको लागि सहयोग गर्ने आफ्नो आसय व्यक्त गरेको छ । नेपालले आफ्नो विदेशी लगानीसम्बन्धी कानुनलाई पुनरावलोकन गर्ने दिशामा गरेको प्रयत्‍नलाई अमेरिकाले सराहना गर्नुका साथै सुझाव दिन पाउने अवसरलाई स्वागत गरेको छ । साथै, आर्थिक सेवामा लगानीसम्बन्धी केही नियन्त्रणहरूलाई खुकुलो बनाउँदै अझै बढी व्यापारमैत्री वातावरण निर्माणका लागि गरिएको पहललाई अमेरिकाले मनन गरेको छ ।

सन् २०१८ मा वाशिङ्टन डी.सी.मा आयोजित हुने टिफा परिषद्को चौथो बैठक अगावै उल्लेखनीय प्रगति हासिल गर्नका लागि दुवै देशका सरकारले आगामी महिनाहरूमा यस्ता विषयगत क्षेत्रमा आफ्नो सहभागिता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पृष्‍ठभूमि : 

नेपाल सरकार र संयुक्त राज्य अमेरिकाले २०६८ वैशाख २ गतेबाट लागु हुने गरी व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) मा हस्ताक्षर गरेका हुन् । सो सम्झौताका उद्देश्यहरूमा व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरण लगायत रहेका छन् ।

२०७२ वैशाखमा नेपालमा भूकम्प गएपछि सन् २०१५ को व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नयाँ देशकेन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी हार्मोनाइज्ड ट्यारिफ शेडुल अन्तर्गतका ७७ वस्तुहरूद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सारछुट सुविधा दिएको छ (जसमा हस्तकला, शल, भ्रमण सामग्री लगायत वस्तु छन्) ।

सन् २०१६ मा नेपाल र अमेरिकाबीच जम्मा १२ करोड ९० लाख अमेरिकी डलर बराबरको (दोहोरो) व्यापार भएको छ ।