Flag

An official website of the United States government

स्टेट पार्टनरसिप प्रोग्रामसम्बन्धी तथ्यगत विवरणपत्र
5 MINUTE READ
जुन 17, 2022

२०७९ असार ३

प्रमुख बुँदाहरू

  • स्टेट पार्टनरसिप प्रोग्राम सुरक्षा वा सैन्य गठबन्धन होइन, न कहिल्यै थियो । अमेरिकाले नेपालसँग सैन्य गठबन्धन खोजेको छैन ।
  • स्टेट पार्टनरसिप प्रोग्रामले विश्वव्यापी रूपमा विभिन्न प्रकारका प्रशिक्षण, शैक्षिक र सम्बन्धित गतिविधिहरूका लागि अमेरिकी नेशनल गार्ड र सैन्य कर्मचारीहरूलाई एक ठाउँमा ल्याउँछ ।
  • यो कार्यक्रम ९० भन्दा बढी देशमा २५ वर्षदेखि कायम रहँदै आएको छ । तीमध्ये अधिकांश यस क्षेत्रमा छैनन् ।
  • नेपालले सन् २०१५ मा र त्यसपछि फेरि सन् २०१७ मा कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो । सन् २०१९ मा अमेरिकाले नेपालको अनुरोध स्वीकार गरेको हो । यसमा नेपालसँग कुनै एसपीपी सम्झौता प्रस्तावित गरिएको छैन
  • नेपाली सेनाको कार्यक्रमका लागि सुरक्षाका महत्त्वपूर्ण मुद्दामध्ये विपद् जोखिम व्यवस्थापन एक हो ।

स्टेट पार्टनरसिप प्रोग्राम के हो ?

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।

आँधीबेहरीदेखि भूकम्प, बाढी र आगलागीसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ ।

यस विश्वव्यापी कार्यक्रममार्फत अमेरिकी नेशनल गार्ड र साझेदार देशहरूले साझा रक्षा सुरक्षा लक्ष्यहरूको समर्थनमा सेना-सेनाबिचको तालिम र शैक्षिक गतिविधि सञ्चालन गर्दछन् । कार्यक्रमले सैन्य, सरकारी, आर्थिक र सामाजिक क्षेत्रहरूमा द्विपक्षीय आदानप्रदानको सदुपयोग गर्दछ ।

एसपीपीका केही उदाहरणहरू यस प्रकार छन् :

  • मोरक्को : युटाह नेशनल गार्डले मोरक्कोमा बहुराष्ट्रिय अभ्यासलाई सहयोग गर्दछ जहाँ दुबै देशका सेनाले स्वास्थ्यसम्बन्धी क्षमतालाई विकासित गर्दछन् र अगाडि बढाउँछन् । यस मानवीय सहकार्यले दुबै देशको सेनालाई मोरक्कोका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि मिलेर काम गर्न सक्षम बनाउँछ ।
  • रोमानिया : अलाबामा नेशनल गार्ड र रोमानियाले कोभिड-१९ प्रतिकार्यमार्फत सम्बन्ध बलियो बनाएका छन् । सन् २०२० मा रासायनिक, जैविक, रेडियोलोजिकल र आणविक तथा चिकित्सा क्षेत्रका विज्ञहरू मिलेर बनेको नागरिक र सैन्य कर्मचारीहरूको रोमानियाली प्रतिनिधिमण्डलले स्वास्थ्यसम्बन्धी आकस्मिकता र कोभिड-१९ प्रतिकार्यबारे छलफल गर्न अलाबामामा स्वास्थ्य संस्थाहरूको भ्रमण गरेको थियो ।
  • बंगलादेश : ओरेगन नेशनल गार्डले बंगलादेश इन्स्टिच्युट अफ पीस सपोर्ट अपरेसन्स ट्रेनिङमा टाइगर लाइटनिङ अभ्यासलाई सहयोग गर्दछ । ओरेगन नेशनल गार्डका सदस्यहरू आफ्ना बंगलादेशी समकक्षीहरूसँग क्षेत्रीय सङ्कट प्रतिकार्य र प्रति-घरेलु विस्फोटक पदार्थ / विस्फोटक हतियार बिसर्जन क्षमतासम्बन्धी प्रशिक्षणमा सहभागी बन्दछन् ।

के नेपालमा अमेरिकाको अन्य सैन्य कार्यक्रम छ ?

छ । नेपालसँग अमेरिकाको दशकौँदेखि सेना-सेनाबिचको सम्बन्धमा आधारित सहयोग कार्यक्रम सञ्चालित हुँदै आएको छ । यस सहयोगका लाभहरूमध्ये निम्न छन् :

  • २०७२ सालको विनाशकारी भूकम्पपछिको समयमा उपलब्ध गराइएलगायतको मानवीय सहायता
  • कोभिड महामारीको क्रममा ७५ लाख डलरभन्दा बढीको सहायता ।

अमेरिकी सेनाले नेपाली सेनासँग मानवीय सहायता तथा विपद् राहत अभ्यास र तालिम आदानप्रदान सञ्चालन गर्दछ । यस्तो अभ्यास र तालिम वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा, ई.ओ.डी. होल्डिङ युनिटसँग र सशस्त्र प्रहरी बलसँग मुख्यतया उसको विपद् व्यवस्थापन तालिम शिक्षालयमार्फत लगायत सञ्चालन गरिन्छ ।

‘डिजास्टर रेस्पोन्स एक्सरसाइज एण्ड एक्सचेन्ज’ नामक कार्यक्रम नेपालसँगको अमेरिकी संलग्नताको एउटा उदाहरण हो । प्रत्येक दुई वर्षमा सञ्चालन गरिने यो अभ्यास नेपाल सरकार, नेपाली सेना, अन्य साझेदार राष्ट्रहरू, अन्तर्राष्ट्रिय एजेन्सीहरू, निजी साझेदारहरू र गैरसरकारी संस्थाहरूले नागरिक-सैन्य विपद् प्रतिकार्यलाई सहयोग गर्न कसरी मिलेर काम गर्न सक्छन् भन्ने कुरा बुझ्ने कार्यमा केन्द्रित छ ।

 

के नेपालको अन्य देशहरूसँग सैन्य आदानप्रदान कार्यक्रम छ ?

छ । भारत सबैभन्दा ठूलो सुरक्षा साझेदार हो, जुन पेशागत तालिम र उपकरण तथा यातायात सहयोगमा केन्द्रित छ । चीनले वार्षिक सैन्य अभ्यास सञ्चालन गरेको छ, उल्लेखनीय रूपमा वार्षिक व्यावसायिक सैन्य शैक्षिक कोर्सहरू प्रदान गरेको छ र बढ्दो रूपमा सैन्य उपकरण (कोभिडअघि) प्रदान गरेको छ । नेपाली सेनाको इजरायल, बेलायत र अन्य दक्षिण एसियाली देशहरूसँग पनि सीमित सैन्य सम्बन्ध छ । पछिल्ला केही वर्षमा नेपालमा अष्ट्रेलिया, बेलायत, भारत र बंगलादेशका उच्च सैनिक पदाधिकारीहरूको भ्रमण भएको छ ।

जर्नेल फ्लिनले अहिले किन भ्रमण गर्नुभएको हो ? उहाँको भ्रमणका क्रममा के भयो ?

गएका दुई वर्षमा कोभिड-१९ महामारीका कारण कूटनीतिक, राजनीतिक, विकास र सैन्यलगायत सबै प्रकारका औपचारिक भ्रमणहरूमा उल्लेख्य कमी आएको थियो ।

हाल विश्वभर भ्रमण सामान्य बन्दै गएको अवस्थामा जर्नेल फ्लिन नेपाल सरकार र नेपाली सेनाको वरिष्ठ नेतृत्वसँग भेटघाट गर्न र मानवीय सहायता तथा विपद् व्यवस्थापनमा अमेरिका–नेपालबिचको लामो साझेदारीका सम्बन्धमा छलफल गर्न र राष्ट्रसंघीय शान्ति सेनामा नेपालले गरेको बलियो सहयोगको प्रशंसा गर्न नेपाल आउनुभएको थियो ।

हामीबिचको दशकौँ पुरानो दौत्य सम्बन्धका क्रममा अमेरिकाले सङ्कटको घडीमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ र नेपालको विपद् पूर्वतयारी क्षमतालाई बलियो बनाउन मद्दत गरेको छ ।

धेरै देशहरूमा दक्षता आदानप्रदान गर्न, तालिम दिन र एकअर्कालाई शिक्षित बनाउनका लागि गैर-गठबन्धनकारी सेना-सेनाको सम्बन्धमा आधारित सहयोग सञ्चालित छ, जसबाट उनीहरूको स्वतन्त्र र सामूहिक सुरक्षालाई सबल बनाइन्छ ।

औपचारिक भेटघाटका क्रममा जर्नेल फ्लिनले स्टेट पार्टनरसिप प्रोग्रामबारे संक्षिप्त छलफल गर्नुभएको थियो र राष्ट्रसंघीय शान्ति स्थापना कार्यक्रमप्रतिको नेपालको प्रतिबद्धताको अमेरिका प्रशंसा गर्दछ भन्ने कुरामा जोड दिनुभएको थियो । भेटघाटका क्रममा कुनै प्रकारको हस्तान्तरण गरिएको थिएन । हस्ताक्षर गर्नुपर्ने कुनै “सम्झौता” पनि छैन । यो कुरा पूर्णतया असत्य हो ।

के एसपीपी सैन्य गठबन्धन हो ?

होइन । एसपीपी कुनै पनि प्रकारको सैन्य गठबन्धन होइन । अमेरिकाले नेपालसँग कहिल्यै सैन्य गठबन्धन गर्न खोजेको छैन, न त त्यसो गर्ने योजना नै छ ।

के सम्झौता हस्ताक्षरबारे अनलाइन माध्यममा प्रकाशित पत्र साँचो हो ?

होइन । नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो ।

के एसपीपी चीनलाई नियन्त्रणमा राख्ने वा अन्य कुनै भूराजनीतिक माध्यम हो ?

होइन । २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन् । तीमध्ये अधिकांश यस क्षेत्रमा छैनन् र अधिकांश निकै पहिले सुरु भएका हुन् ।

अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुन किन दबाब दिएको हो ?

अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुन दबाब दिएको छैन । नेपालले एसपीपीमा सहभागी हुन दुई पटक अनुरोध गरेको थियो, पहिलो पटक सन् २०१५ मा र दोस्रो पटक सन् २०१७ मा, र अमेरिकाले सन् २०१९ मा नेपालको अनुरोध स्वीकार गरेको हो ।

अमेरिकाले सङ्कटमा परेका व्यक्तिहरूलाई सहयोग उपलब्ध गराउन नेपाल सरकारसँग निरन्तर काम गर्दै आएको छ । हालै मात्र कोभिड-१९ को महामारी र त्यसअघि २०७२ सालको भूकम्पका समयमा यस्तो सहयोग गरिएको थियो । स्टेट पार्टनरसिप प्रोग्राममार्फत ९० भन्दा बढी अन्य देशहरूसँग सहकार्य गर्दै अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्दछ । यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम बन्नसक्छ ।

के एसपीपी हिन्द-प्रशान्त रणनीतिको अङ्ग हो ?

हिन्द-प्रशान्त रणनीतिका प्रतिवेदनहरूमा एसपीपीको उल्लेख भएको छ, तर यो कुरा नेपालले एसपीपीमा सहभागी हुन दुई पटक अनुरोध गरेपछिका वर्षहरूमा आएको होअनुरोधको प्रक्रिया सन् २०१५ मा सुरु भएको हो । त्यस बेला हिन्द-प्रशान्त रणनीति थिएन ।

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन् । तीमध्ये अधिकांश यस क्षेत्रमा छैनन् ।

एक पटक फेरि स्मरण गर्न महत्त्वपूर्ण छ कि हिन्द-प्रशान्त रणनीति सैन्य गठबन्धन होइन – त्यो दुष्प्रचार हो ।

अमेरिकाले नेपालको अनुरोध स्वीकारेदेखिका वर्षहरूमा के भयो ?

स्टेट पार्टनरसिप प्रोग्राममा भाग लिनका लागि नेपालले गरेको अनुरोधमा अमेरिका सहमत भएदेखि हामीले नेपाली नेतृत्वसँग खुला संवाद जारी राखेका छौँ र एसपीपीअन्तर्गतको सहयोग आदानप्रदान कस्तो हुनसक्छ र सम्भावित मानवीय सहायता तथा विपद् राहत पूर्वतयारीसम्बन्धी गतिविधिहरू समावेश गरी सहकार्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे छलफल गरेका छौँ । एसपीपीको नेतृत्वमा सञ्चालित कुनै पनि कार्यक्रम नेपालको चाहनाविरुद्ध भएको छैन । एसपीपीअन्तर्गतका कार्यक्रमहरू नेपालको स्वीकृतिमा मात्र हुन्छन् ।

यो साझेदारी नागरिक निगरानीबिना भएको हो ?

यो साझेदारी नेशनल गार्ड र नेपाली सेनाबिच हुने नियमित सेना-सेनाबिचको आदानप्रदानमा आधारित कार्यक्रम हो । नेपालले सन् २०१५ मा र त्यसपछि फेरि सन् २०१७ मा कार्यक्रममा सहभागी हुन आग्रह गर्दा नेपालको नागरिक, सरकारी र सैन्य नेतृत्वबाट सुरक्षा सहयोग तथा आदानप्रदान र मानवीय सहायता तथा विपद् पूर्वतयारीमा केन्द्रित यस कार्यक्रमको खुलेर लाभ लिने चाहना व्यक्त भएको थियो ।

एमसीसीसँग एसपीपीको सम्बन्ध के सम्बन्ध छ ?

एमसीसीसँग यसको कुनै सम्बन्ध छैन । एमसीसीलाई एसपीपीसँग जोड्ने प्रयास बेइमानपूर्ण र असत्य छ ।

हामीलाई एसपीपीसँग सम्बन्धित दुष्प्रचारका पछाडि को छ जस्तो लाग्छ ?

हामीलाई थाहा छैन तर स्पष्ट रूपमा त्यो व्यक्ति मानवीय सहायतामा केन्द्रित अमेरिकी कार्यक्रमहरूलाई कुनै उद्देश्यपूर्तिका लागि प्रयोग गर्न चाहन्छ, चाहे त्यो राजनीतिक होस् या रणनीतिक ।

नेपाल एसपीपीबाट कसरी बाहिरिन सक्छ ?

कुनै पनि देशले अमेरिकालाई आफूले अब उपरान्त कार्यक्रममा भाग लिन नचाहेको सूचना दिए पुग्छ । स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी लगभग ९० देशमध्ये बेलारुसले मात्र कार्यक्रममा आफ्नो सहभागिता टुङ्ग्याएको छ ।

यस विवादले दौत्य सम्बन्धलाई कसरी असर गर्छ ?

एसपीपीबाट अलग, अमेरिका र नेपालबिचकको दौत्य सम्बन्ध शैक्षिक तथा व्यावसायिक आदानप्रदान, कूटनीतिक संलग्नता, सैन्य साझेदारी, व्यापार र साझा मूल्यहरू लगायतका जनता-जनताको सम्बन्धमा केन्द्रित छ र बलियो छ ।