Flag

An official website of the United States government

अमेरिकी दूतावासद्वारा युवा सार्वजनिक नीति तालिमलाई सहयोग
1 MINUTE READ
September 15, 2020

२०७७ भाद्र ३०

गण्डकी प्रदेश – अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले आज संसदीय सहयोगसम्बन्धी पूर्वव्यावसायिक कार्यक्रम प्रि-प्रोफेशनल पार्लियामेन्टरी सपोर्ट प्रोग्राम (पीपीएसपी) को उद्‍घाटन गर्नुभएको छ । युवाहरूका लागि नेपालमै पहिलो किसिमको फेलोशिपका रूपमा रहेको पीपीएसपी ले कानून निर्माण र सार्वजनिक नीतिका विषयमा ज्ञान प्रदान गर्दछ । नेपालका ५२% मतदाता युवा रहेको तथ्यलाई सम्मान गर्दै अमेरिकी दूतावासले पोखरा रिसर्च सेन्टर (पीआरसी) सँगको साझेदारीमा आयोजना गरेको सार्वजनिक नीतिसम्बन्धी अनलाइन तालिममा गण्डकी प्रदेशका ११ ओटै जिल्लाबाट छानिएका २० देखि ३० वर्ष उमेर समूहका ५० जना युवाहरूको सहभागिता छ । सहभागीहरूले भाद्र ३० देखि आश्‍विन ३ गतेसम्म भूराजनीति, कूटनीति, संघीयता, आर्थिक नीति र सुशासन लगायत विविध विषयमा ज्ञान प्राप्‍त गर्नेछन् ।

“युवाको राजनीतिक निर्णय निर्माणमा सामेल हुने हक त छ नै, उनीहरूको समावेशिताले सरकारलाई समेत बलियो बनाउँछ,” कार्यक्रम उद्‌घाटनका क्रममा राजदूत बेरीले भन्नुभयो । “नेपालका युवालाई नीतिको खाका कोर्ने मञ्‍चमा पुर्‍याउँदा नेपालको लोकतन्त्रमा देशका सबै जनताको प्रतिनिधित्व सुनिश्‍चित हुन्छ ।”

यस परियोजनाले तीन ओटा शिविर सञ्‍चालन गर्नेछ, जसमा ५० मध्येबाट छानिएका अन्तिम १२ सहभागीले गण्डकी प्रदेश सभाका सांसदहरूका सल्लाहकारका रूपमा काम गर्नेछन् । छनोटमा परेका फेलोहरूले सांसदहरूलाई नीतिगत क्षेत्रको अध्ययन, संसदीय सोधपुछको मस्यौदा लेखन, संसदीय छलफलको तयारी र कार्यक्रम तालिका मिलाउने लगायतका कार्यमा सघाउनेछन् ।

###