२०७८ असोज २०
सन् २०२३ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता अवधि बुधबार, अक्टोबर ६, २०२१ (२०७८ असोज २०) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयानुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ र मङ्गलबार, नोभेम्बर ९, २०२१ (२०७८ कार्तिक २३) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयानुसार रातको १०:४५ बजे) बन्द हुनेछ । हामी डि.भी. आवेदकहरूलाई चाँडै नै आवेदन दर्ता गर्न प्रोत्साहित गर्दछौँ ।
इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :
- आवेदन नि:शुल्क : डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन ।
- कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन दर्ता गर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुनुहुनेछ ।
- फारम अनलाइन भर्नुपर्ने : सन् २०२३ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
- पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष पुरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
- एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।
- हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । कृपया ध्यान दिनुहोला फोटो खिच्दा आवेदकले चश्मा लगाउनु हुँदैन ।
- बहालवाला, म्याद समाप्त नभएको राहदानीको विवरण आवश्यक : यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नु अनिवार्य छ ।
- आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
- आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस् ।
- तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ८, २०२२ (२०७९ वैशाख २५) वा त्यसपछि https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नु हो ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।
डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन् ।
डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारी https://dvprogram.state.gov/ वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/ne/dv2023-np/ मा उपलब्ध छ ।
थप जानकारीका लागि नेपालस्थित अमेरिकी दूतावासलाई usembktm@state.gov मा सम्पर्क गर्न सकिनेछ।