पीस कोर स्वयंसेवकको २०३औँ समूहद्वारा शपथ ग्रहण

२०७३ जेठ २८ 

राजदूत अलाइना बी. टेपलेट्जले जेठ २८ गते चौबीस जना पीस कोर स्वयंसेवकहरूलाई शपथ ग्रहण गराउनुभएको छ । नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले शपथ लिएका हुन् । सन् २०१२ मा पीस कोर कार्यक्रम पुन: चालु भएपछि नेपाल आउने स्वयंसेवकहरूको यो पाँचौँ समूह हो । पीस कोर नेपालका कार्यवाहक देशीय निर्देशक डायन पार्टलले पनि नयाँ स्वयंसेवकहरूलाई स्वागत गर्नुभयो । यी नयाँ स्वयंसेवकहरू सन् १९६१ यता नेपालमा आई सेवा पुर्‍याइसकेका ३,७४० भन्दा बढी स्वयंसेवकहरूको सूचीमा सामेल भएका छन् । विश्‍वभरका अन्य ६५ देशमा हाल ७,२०० भन्दा बढी पीस कोर स्वयंसेवकहरू सेवारत छन् ।

अप्रिल २०१६ मा आइपुगेका चौबीस जना पीस कोर स्वयंसेवकहरूले काभ्रे जिल्लामा ११ हप्‍ता लामो सघन भाषिक तथा प्राविधिक तालिम पूरा गरेका छन् । खाद्य सुरक्षा, सरसफाइ र स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नका लागि यी स्वयंसेवकहरूलाई पश्‍चिमाञ्‍चल विकास क्षेत्रका पाँच जिल्लामा खटाइएको छ ।

राजदूत टेपलेट्जले स्वयंसेवकहरूलाई भन्नुभयो, “नेपालका लागि अमेरिकी राजदूतका हैसियतले हाम्रा दुई देशबीचको सहकार्यको कुरा गर्नुपर्दा म पीस कोर र नेपालबीचको ऐतिहासिक सम्बन्धभन्दा कुशल उदाहरणको कल्पना गर्न सक्दिनँ । यो सम्बन्ध ५५ वर्षअघि सुरु भएको हो । अझ बढी समृद्ध, लोकतान्त्रिक र स्थिर नेपालको निर्माणका लागि हामीहरूले मिलेर पश्‍चिमाञ्‍चलका थुप्रै समुदायमा खाद्य सुरक्षाका चुनौतीहरूलाई सम्बोधन गरिरहेका छौँ ।” 

###