काठमाडौँ – पिस कोरका २१ नयाँ स्वयंसेवकहरू यसै साता काठमाडौँ आइपुगेका छन् । एघार हप्ताको सघन पूर्व-सेवा प्रशिक्षण सम्पन्न गरेपश्चात् यी प्रशिक्षार्थीहरूले सन् १९६२ मा यस अमेरिकी कार्यक्रमको स्थापना भएदेखि नेपालमा सेवा गर्ने पिस कोर स्वयंसेवकहरूको २०८ औँ समूहका रूपमा शपथ लिनेछन् । कोभिड-१९ का कारण भएको विश्वव्यापी निष्क्रमणपछि नेपाल आएको यो पहिलो समूह हो । यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपाल आई काम गरिसकेका झन्डै ४ हजार स्वयंसेवकहरूको सङ्ख्यामा जोडिनेछन् ।
भक्तपुरस्थित तालिम केन्द्रमा बोल्दै कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले भन्नुभयो, “नेपाल सरकार र पिस कोरबिच ६० वर्षभन्दा लामो साझेदारी रहेकोमा, तीन वर्षभन्दा लामो अवधिपछि सेवामा फर्किएको स्वयंसेवकको यस पहिलो समूहलाई नेपालमा स्वागत गर्न पाउँदा हामीलाई खुसी लागेको छ । नेपालभरका ग्रामीण स्थानहरूमा समुदायहरूसँगको साझेदारीमा काम गर्ने पिस कोर स्वयंसेवकहरूले हाम्रा दुई देशबिच रहेका मजबुत र विस्तार हुँदै गरेका सम्बन्धहरू उजागर गर्दछन् ।”
एघार हप्ताको सघन भाषा र अन्तर-सांस्कृतिक तालिमपछि, स्वयंसेवकहरू गण्डकी र वाग्मती प्रदेशका जिल्लाहरूमा खटाइनेछन् जहाँ उनीहरूले सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी अध्यापन गर्नुका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँगको समन्वयमा खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नेछन् ।
###
पिस कोरबारे :
पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४३ वटा मुलुकमा सेवा गरिसकेका छन् । विश्वभरिका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्छन् । पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरूको विकास र अन्तर-सांस्कृतिक क्षमताहरूको अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताहरूको आगामी पुस्ता बन्ने स्थानमा पुर्याउँछ । थप जानकारीका लागि peacecorps.gov हेर्नुहोस् र फेसबुक, इन्सटाग्राम र ट्विटरमा हामीलाई फलो गर्नुहोला ।
####