Flag

An official website of the United States government

पिस कोर स्वयंसेवकको २०८ औँ समूहद्वारा शपथ ग्रहण
5 MINUTE READ
अगस्ट 24, 2023

काठमाडौँपिस कोरका २१ स्वयंसेवकहरूले नेपालमा आफ्नो दुई वर्षीय सेवाको प्रारम्भमा अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर-नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका छन् । यससँगै यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा काम गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिएका छन् । कोभिड-१९ महामारीका कारण भएको विश्‍वव्यापी निष्क्रमणपछि नेपाल आएको यो पहिलो समूह हो । नेपाली र अमेरिकी सरकारबिच ६१ वर्षअघि सन् १९६२ को अगस्ट २४ तारिखमा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको दिनको वर्षगाँठ पनि आजै परेको छ ।    

 आफू नै पिस कोरका एक संस्थापक कर्मचारीका छोरा एवं एक पूर्व-स्वयंसेवकका पिताका रूपमा मलाई पिस कोरको महत्त्वका साथै स्वयंसेवक र उनीहरूले सेवा गर्ने समुदाय दुवैका जीवन परिवर्तन गर्ने सक्ने यसको क्षमताबारे प्रत्यक्ष रूपमा थाहा छ । नेपालमा मलाई अनगिन्ती मानिसहरूले पिस कोरसम्बद्ध आफ्नो कथा सुनाएका छन् – आफ्ना जीवन वा समुदायमा सकारात्मक परिवर्तन ल्याएका स्वयंसेवकबारे । र सन् १९६२ यता झन्डै ४ हजार स्वयंसेवकहरूले नेपालका विद्यालयमा पढाएर वा कृषिमा काम गरेर सेवा गरिसकेका कारण नेपालीहरूसँग सुनाउन धेरै कथा छन् । स्वयंसेवकहरू नेपालमा पुनः आउनु अत्यन्त राम्रो कुरा हो । मैले नवआगन्तुक स्वयंसेवकहरूसँग हालसालै भेट गरेको छु र उनीहरू देशभरका समुदायमा जाँदै गर्दा उनीहरूले कोर्ने कथा सुन्न म उत्सुक रहेको छु,” राजदूत थम्पसनले भन्नुभयो । 

गत जेठ महिनामा नेपाल आइपुगेका यी २१ पिस कोर स्वयंसेवकले आफ्नो सेवाको तयारी स्वरूप काभ्रे जिल्लामा ११ हप्‍ता लामो सघन भाषिक, अन्तरसांस्कृतिक र प्राविधिक प्रशिक्षण पूरा गरेका छन् । यिनलाई गण्डकी तथा वाग्मती प्रदेशका पाँच जिल्लामा खटाइएको छ जहाँ यिनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरूमा अङ्ग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नेछन् ।  

पिस कोरबारे :  

पिस कोर विश्‍व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको अन्तर्राष्‍ट्रिय सेवा सञ्‍जाल हो । विश्‍वभरिका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्‍त परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्दछन् । सन् १९६१ मा अमेरिकी राष्‍ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्‍वभर १४३ वटा मुलुकमा सेवा गरिसकेका छन् । थप जानकारीका लागि peacecorps.gov हेर्नुहोस् र फेसबुक, इन्सटाग्राम र ट्विटरमा हामीलाई फलो गर्नुहोला ।  

आजको शपथग्रहण कार्यक्रमका तस्बिरहरू यहाँ उपलब्ध छन्