वैध स्थायी बासिन्दासम्बन्धी सेवाहरू

हराएका वा चोरी भएका ग्रिन कार्ड तथा पुन:प्रवेश अनुमति पत्रहरू

एक वर्षभन्दा कम समय अमेरिका बाहिर रहेका र यस अवधिमा आफ्नो ग्रिन कार्ड हराएका, चोरी भएका वा च्यातिएका वैध स्थायी बासिन्दा (एलपीआर) हरूले बोर्डिङ फोइलका लागि आवेदन दिन सक्नेछन् ।

बोर्डिङ फोइलका लागि आवेदन दिन नेपालस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ता निर्धारण गर्नु पर्दछ । अन्तर्वार्ताका लागि समय लिन consktm@state.gov मा ईमेल पठाउनुहोला । विस्तृत पुनरावलोकन तथा अन्तर्वार्तापश्‍चात् कन्सुलर अफिसरले तपाईँ बोर्डिङ फोइलका निम्ति योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा निर्धारण गर्नेछन् । समय लिएर दूतावास आउँदा आफ्नो साथमा निम्न कागजात/विवरण ल्याउनुहोला :

  • भरिएको Form I-131A
  • युएससीआईएस शुल्क तिरेको रसिद – व्यक्तिगत रूपमा दूतावास आउनुअघि युएससीआईएस वेबसाइटमार्फत अनलाइन माध्यमबाट दाखिला शुल्क तिर्नु पर्दछ । थप जानकारी https://my.uscis.gov/travel-document मा उपलब्ध छ । व्यक्तिगत रूपमा Form I-131A दाखिला गर्न आउँदा प्रिन्ट गरिएको ईमेल प्राप्‍ति सूचना वा कन्फर्मेशन पेज (पुष्टि पृष्ठ) लगायत शुल्क तिरेको प्रमाण साथमा ल्याउनुहोला । अन्य सबै आप्रवासन शुल्क झैँ आवेदनउपर जेसुकै निर्णय भए तापनि युएससीआईएसले शोधभर्ना उपलब्ध गराउने छैन ।
  • बहालवाला राहदानी
  • हालै खिचिएका दुई रङ्गिन फोटोहरू । फोटोको साइज २ इन्च x २ इन्च (५ सेमी x ५ सेमी) हुनुपर्नेछ । टाउको ढाकिएको हुनु हुँदैन, अनुहारको अग्रभाग पूर्ण रूपमा देखिएको हुनु पर्दछ र फोटोको पृष्ठभूमिको रङ सेतो हुनु पर्दछ । झुम्का वा चश्मा लगाएको हुनु हुँदैन ।
  • उपलब्ध भएमा तपाईँको ग्रिन कार्डको प्रतिलिपि वा विदेशी दर्ता सङ्ख्या (एलिएन रजिष्ट्रेशन नम्बर)
  • उपलब्ध भएमा भ्रमण मिति तोकिएको हवाई टिकट

यस सेवाका लागि कन्सुलर शाखामा कुनै शुल्क लाग्दैन । शुल्क युएससीआईएसलाई तिर्नु पर्दछ । सामान्यतया बोर्डिङ फोइल एक महिनाका लागि र एक पटक अमेरिका प्रवेश गर्नका लागि बहाल रहन्छ । अमेरिका आइपुगेपछि तपाईँले प्रतिस्थापन कार्ड (Form I-90) का लागि आवेदन दाखिला गर्नु पर्नेछ । थप जानकारी USICS मा उपलब्ध छ ।

कन्डिशनल रेसिडेन्टका लागि बोर्डिङ फोइल :

कन्डिशनल (सशर्त) हैसियतअन्तर्गतका एलपीआरहरूले बोर्डिङ फोइलका लागि देहायका अवस्थामा आवेदन दिन सक्नेछन् :
यदि कन्डिशनल रेसिडेन्सी (सशर्त बसोबास) हैसियत दुई-वर्षीय बहाल अवधिभित्र छ भने यदि सशर्त बसोबास हैसियतको म्याद नाघिसकेको छ र बसोबासका शर्तहरू हटाउनका लागि आवेदन दाखिला गरिएको छ भने । यसका लागि युएससीआईएसको प्राप्‍ति सूचना Form I-797 पेश गर्नुहोला ।

देहायका अवस्थामा बोर्डिङ फोइल आवश्यक छैन र तपाईँ अमेरिकाको फिर्ती भ्रमण गर्नसक्नुहुन्छ :

यदि तपाईँसँग म्याद नाघेको १० वर्षको बहाल अवधिसहितको स्थायी बासिन्दा कार्ड छ भने, अथवा तपाईँसँग (दुई वर्षको बहाल अवधि रहेको) बहालवाला स्थायी बासिन्दा कार्ड, र तपाईँको हैसियतको अवधि थप गरिएको सङ्केत गर्ने Form I-797, नोटिस अफ एक्शन छ भने ।

तपाईँको राहदानीको ADIT छाप भने बहाल नै रहनेछ ।