Flag

An official website of the United States government

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राजदूत बेरीको सम्बोधन
1 MINUTE READ
जुलाई 12, 2021

आजको यस ऐतिहासिक दिनमा अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोगस्वरूप उपलब्ध गराउँदै गर्दा माननीय मन्त्री श्रेष्ठज्यू र युनिसेफ तथा अमेरिकी नियोगका सहकर्मी मित्रहरूका साथमा उपस्थित हुन पाएकोमा मलाई सम्मानको अनुभूति भएको छ ।

यो अमेरिकी जनताका तर्फबाट उपहार हो । आज आइपुगेको एक मात्रा मात्र लगाए पुग्ने यो खोप नेपालका १५ लाखभन्दा बढी मानिसहरूलाई कोभिड-१९ को घातक प्रभावबाट जोगाउनका निम्ति पर्याप्त हुनेछ । हामीले यो खोप कुनै काम लिन वा सुविधा पाउनका लागि दिएका होइनौँ । हाम्रो खोपमा कुनै स्वार्थ लुकेको छैन । हाम्रा सर्तहरू खुला र पारदर्शी छन् : जीवनरक्षाको एक मात्र उद्देश्यसहित हामीले यो काम गरेका हौँ ।

यस खोपले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्नेछ । साथै, यसले आर्थिक नोक्सानीहरूको पूर्ति गर्न र हाम्रा साथीसँगी, परिवारजन, र छिमेकीसँग सुरक्षित रूपमा पुनः भेट्ने अवसर पुनर्प्राप्त गर्न समेत मद्दत गर्नेछ ।

अमेरिका त्यो राष्ट्र हो जसले कोभिड-१९ का कारण अन्य मुलुकहरूको तुलनामा आफ्ना निकै धेरै नागरिक गुमायो, जुन इर्ष्यायोग्य प्रतिष्ठाको विषय होइन । ६ लाख भन्दा बढी अमेरिकी नागरिकहरूको ज्यान गइसकेको छ । हामीलाई यस रोगको क्रूरताका ’boutमा थाहा छ र यस भाइरसको कुनै सिमाना छैन भन्ने कुरा हामीले बुझेका छौँ । कोभिड-१९ जस्तो चुनौतीका निम्ति साझेदारी र समतामूलक, विश्वव्यापी प्रतिकार्य आवश्यक छ ।

विश्वव्यापी स्वास्थ्यको क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृराष्ट्र पनि हो, जसले ग्लोबल फन्ड र विश्व स्वास्थ्य सङ्गठन जस्ता अन्तर्राष्ट्रिय प्रयत्नमार्फत अनुदान सहयोग गरेको छ । साथै, विश्वलाई प्रथम एड्समुक्त पुस्ताको सङ्घारमा ल्याउन सघाउने पेपफार जस्ता हाम्रा आफ्नै उत्कृष्ट विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमार्फत पनि अमेरिकाले अनुदान सहयोग गरेको छ ।

नेपालको कोभिड प्रतिकार्यमा अमेरिका सबैभन्दा ठूलो दातृराष्ट्र हो । आजका मितिसम्म अमेरिकाले नेपालको कोभिड प्रतिकार्यका लागि ७ करोड डलरभन्दा बढी योगदान गरिसकेको छ । यस कोषअन्तर्गत परीक्षण सामग्री, पल्स अक्सिमिटर, आपत्‌कालीन स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, दूरचिकित्सा सहयोग, भेन्टिलेटर, अक्सिजन ट्याङ्क तथा सामग्री, श्वासप्रश्वास उपकरणका साथै अन्य धेरै सरसामग्री उपलब्ध गराइएको छ ।

कोभ्याक्सको गौरवशाली सदस्यका रूपमा हामीले २ अर्ब डलरको अनुदान उपलब्ध गराएका छौँ, जसबाट न्यून तथा मध्यम आय भएका मुलुकहरूमा खोप आपूर्ति हुनेछ । त्यसका साथै हामीले थप २ अर्ब डलरको बाचा गरेका छौँ, जुन हामी अन्य मुलुकहरूले आफ्ना बाचा पुरा गर्दै गर्दा उपलब्ध गराउने छौँ ।

राष्ट्रपति बाइडेनको सरकारले हालै भनेको छ कि संयुक्त राज्य अमेरिकाका रूपमा हामी “जीवन रक्षाका लागि र आफ्नो उदाहरणको शक्ति र आफ्ना मूल्यहरूका साथ यस महामारीको अन्त्य गर्ने कार्यमा विश्वको नेतृत्व गर्नका लागि यो खोप बाँडिरहेका छौँ ।”

यस महामारीलाई जित्नका लागि हामी आफ्नो लोकतन्त्रको शक्ति, अमेरिकी वैज्ञानिकहरूको दक्षता र अमेरिकी मानवीय सहायताको बल प्रयोग गरिरहेका छौँ । साथै, अति जरुरी मुद्दाहरू हल गर्नका लागि हामीले मुलुकहरूसँगको आफ्नो दीर्घकालीन साझेदारीलाई सदुपयोग गर्ने क्रमलाई निरन्तरता दिएका छौँ ।

अमेरिकाले ७३ वर्षदेखि यही काम नेपालमा गर्दै आइरहेको छ । नेपाल सरकार र नेपाली जनतासँगको साझेदारीमा हामीले औलो उन्मूलन तथा बाल मृत्यदर घटाउनका लागि राष्ट्रिय पोषण अभियान सञ्चालन जस्ता स्वास्थ्य क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गरेका छौँ । र हामी आफ्ना एजेन्सीहरूसँग निरन्तर रूपमा काम गरिरहेछौँ । जस्तो कि अमेरिकी रक्षा मन्त्रालयले नेपालका विभिन्न सरकारी तथा नागरिक समाजका साझेदारहरूलाई अति जरुरी स्वास्थ्य सामग्रीका साथै दीर्घकालीन विपद् राहत सहयोग उपलब्ध गराएको छ । र नेपालको स्वास्थ्य क्षमता निर्माण, विपद् पूर्वतयारी, शिक्षा र जलवायु उत्थानशीलताका साथै अन्य धेरै क्षेत्रहरूमा युएसएआईडीले गरेको कामले नेपालसँगको हाम्रो सम्बन्धलाई परिभाषित गर्न सघाएको छ ।

हाम्रा दुई देशबिचको दशकौँ पुरानो सहकार्यका कारण आज लाखौँ नेपालीहरू स्वस्थ जीवन बाँचिरहेका छन् र आफ्ना समुदायमा अझै पूर्ण रूपमा सहभागी बनिरहेका छन् ।

यस भाइरसलाई जित्ने प्रयत्नमा आजको दिन एक महत्त्वपूर्ण दिन हो । तर हामी अपरिपक्व छैनौँ । हामीलाई थाहा छ, अगाडि गर्न बाँकी काम धेरै छ । त्यसैले अमेरिकाले नेपाललाई आगामी साता र महिनाहरूमा सहयोग गरिरहनेछ । हामी यहीँ छौँ, सधैँ झैँ तपाईँहरूको साथमै उभिएका छौँ ।

कृपया निरन्तर रूपमा विज्ञानको पालना गरौँ र सावधानी अपनाऔँ : मास्क लगाऔँ, हात धोऔँ र सामाजिक दूरी कायम गरौँ ।

सबै जना सुरक्षित बसौँ ।

धन्यवाद । नमस्ते ।