राजदूत डिन आर. थम्पसन नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत हुनुहुन्छ र उहाँले २०७९ कात्तिक ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो ।
नेपाल आउनुअघि राजदूत थम्पसनले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरोमा कार्यवाहक सहायक मन्त्री र प्रमुख उप-सहायक मन्त्रीका रूपमा काम गरी अमेरिकी नीति र यस क्षेत्रका देशहरूसँगको सम्बन्ध लगायतका विषय हेर्नुभएको थियो । उहाँ वरिष्ठ परराष्ट्र सेवाका सदस्य हुनुहुन्छ र उहाँसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा लामो अनुभव छ ।
त्यसअघि राजदूत थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख हुनुहुन्थ्यो । उहाँले रोमानियाको बुखारेस्टस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख, भारतको कोलकातामा अमेरिकी महावाणिज्यदूत र श्रीलङ्काको कोलोम्बोस्थित अमेरिकी दूतावासमा आर्थिक तथा वाणिज्य शाखाका प्रमुखका रूपमा समेत काम गरिसक्नुभएको छ । साथै राजदूत थम्पसन परराष्ट्र सेवाका क्रममा पाराग्वे र बङ्गलादेशस्थित अमेरिकी दूतावासहरूमा पनि कार्यरत हुनुहुन्थ्यो । वाशिङ्गटनमा कार्यरत रहँदा राजदूत थम्पसनले अमेरिकी विदेशमन्त्रीलाई प्रत्यक्ष सहयोग गर्ने थुप्रै टोलीहरूको नेतृत्व गर्नुभयो र उहाँ कार्यकारी सचिवालय स्टाफका निर्देशक, अमेरिकी विदेश मन्त्रालयको २४-घण्टे कार्यसञ्चालन केन्द्रका उपनिर्देशक र विदेश मन्त्रालयकै सङ्कट व्यवस्थापन स्टाफका निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
राजदूत थम्पसनले मेरिल्याण्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक अफेयर्सबाट पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर र यु.एस. नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा अध्ययनमा पनि स्नातकोत्तर गर्नुभएको छ । उहाँ प्रारम्भिक बाल विशेष शिक्षा प्रशासक जेन क्रिल थम्पसनसँग विवाहित हुनुहुन्छ ।