Flag

An official website of the United States government

कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (CRBA) को लागि आवेदन दिने
4 MINUTE READ
जुलाई 31, 2023

कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (CRBA) अमेरिकी नागरिक आमा वा बाबुबाट अथवा अध्यागमन तथा राष्‍ट्रियता ऐन (INA) अन्तर्गतका नागरिकता प्रसारसम्बन्धी आवश्यकताहरू पूरा गर्ने आमाबाबुबाट विदेशमा जन्मिएका व्यक्तिले निजको जन्मको समयमा अमेरिकी नागरिकता प्राप्‍त गरेको प्रमाणित गर्ने औपचारिक कागजात हो । गैर-नागरिक विकल्पको प्रयोग गरी गैर-नागरिक अमेरिकीहरू पनि कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोडका निम्ति योग्य हुन सक्छन् ।

CRBA आवेदनहरू अनिवार्य रूपमा बच्चाको १८ औँ जन्मदिन अगावै पेस गर्नुपर्छ । हामी आमाबुबाहरूलाई CRBA का निम्ति आवेदन बच्चाको जन्मपछि सकेसम्म चाँडो दिन सुझाव दिन्छौँ ।

योग्यतासम्बन्धी आवश्यकताहरू

CRBA का निम्ति अनलाइन माध्यमबाट आवेदन दिन योग्य हुन निम्‍नलिखित सबै मापदण्डमा तपाईँको उत्तर ‘हो’ हुनु अनिवार्य छ ।

१. बच्चा नेपालमा जन्मिएको हो ?
२. बच्चा १८ वर्षभन्दा कम उमेरको छ ?
३. बच्चाको जन्मको समयमा बच्चाका आमाबाबुमध्ये कम्तीमा एक जना अमेरिकी नागरिक वा गैर-नागरिक अमेरिकी थिए ?
४. कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड आवेदनका निम्ति अनलाइन माध्यममार्फत भुक्तानी गर्न के तपाईँ अन्तर्राष्‍ट्रिय रूपमा चल्ने क्रेडिट/डेबिट कार्डबाट वा अमेरिकी डलर बैङ्क खाता (जसलाई “ACH” पनि भनिन्छ) बाट सिधै भुक्तानी गर्न सक्षम हुनुहुन्छ ?
५. के तपाईँ विदेशमा जन्मिएको आफ्नो बच्चाको निम्ति आवेदन दिन लागेको जैविक आमा वा बुबा हुनुहुन्छ ?

माथिका दिइएका आवश्यकताहरूमध्ये कुनै एउटा मात्र पनि तपाईँलाई लागु हुँदैन भने तपाईँले अनिवार्य रूपमा कागजी आवेदन (DS-2029) भरेर दिनुपर्छ ।

आवेदन कसरी दिने ? 

काठमाडौँमा अब तपाईँ CRBA को लागि इलेक्ट्रोनिक माध्यमबाट आवेदन दिन सक्नुहुन्छ । यस नयाँ अनलाइन सुविधामार्फत अमेरिकी नागरिक आमाबाबुले CRBA आवेदन अनलाइन माध्यमबाट भर्न, सबै आवश्यक कागजात अपलोड गर्न र भौतिक उपस्थितिसहितको अन्तर्वार्ताको अगावै भुक्तानी गर्न सक्छन् ।

१) CRBA को लागि अनलाइन आवेदन दिन MyTravelGov अकाउन्ट खोल्नुपर्छ । MyTravelGov सुरक्षित एवं इनक्रिप्‍ट गरिएको पोर्टल हो । अकाउन्ट खोल्नेबारे थप बुझ्‍न यो भिडियो हेर्नुहोस् (MyTravelGov Tutorial – YouTube) ।

२) MyTravelGov अकाउन्ट खोलिसकेपछि तपाईँले eCRBA मा गएर आफ्नो आवेदन अनलाइन माध्यमबाट पेस गर्न सक्नुहुन्छ । प्रयोग गर्न सजिलो यस अनलाइन प्रक्रियाले आवेदन कसरी भर्ने भन्ने विषयमा आवेदकहरूलाई एक-एक कदम गर्दै सिकाउँछ । तपाईँले यो checklist हेरेर CRBA आवेदनका निम्ति आवश्यक कागजातबारे अग्रिम जानकारी लिन सक्नुहुन्छ ।

३) अनलाइन आवेदन भरेर अनलाइन भुक्तानी गरिसकेपछि तपाईँले हामीलाई इमेलमार्फत सूचित गर्नुपर्छ । भुक्तानीको ७२ घण्टापछि मात्र हामी तपाईँलाई अपोइन्टमेन्ट दिन सक्छौँ । यसले तपाईँको CRBA अन्तर्वार्ता अगावै तपाईँको भुक्तानीको प्रक्रिया पूरा हुन समय दिन्छ । स्मरण रहोस् : CRBA को लागि दूतावासमा अर्को (दोहोरो) पनि भुक्तानी (१०० अमेरिकी डलर) नगर्नुहोला ।

४) यदि तपाईँ अनलाइन माध्यमबाट भुक्तानी गर्न असमर्थ हुनुहुन्छ भने तपाईँले १०० अमेरिकी डलरको शुल्क आफ्नो अपोइन्टमेन्टको समयमा दूतावासमा नै तिर्न सक्नुहुन्छ ।

५) निर्धारित भौतिक उपस्थितिसहितको अन्तर्वार्तामा आफ्ना कागजातका सक्कल र तिनका प्रतिलिपि (एकापट्टि मात्र छापिएको) लिएर जानुहोस् । सक्कल कागजात तपाईँको आवेदन हेरिसकेपछि तपाईँलाई फिर्ता दिइनेछन् । विदेशी भाषामा भएका सबै कागजातको अङ्ग्रेजी अनुवाद तपाईँले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्छ । आवेदनको समयमा बच्चा उपस्थित हुनै पर्छ । सामान्यतया, अन्तर्वार्तामा आमाबाबु दुवै उपस्थित हुने गर्दछन् ।

सहयोग चाहियो ?

सहयोगको लागि हामी छौँ !

  • eCRBA 2.0 बारे बारम्बार सोधिने प्रश्‍नहरू यहाँ हेर्नुहोस् : : Customer Outreach eCRBA FAQs  (PDF319KB)
  • आवेदन कसरी भर्ने भन्नेसम्बन्धी गाइड यहाँ हेर्नुहोस् : : eCRBA Customer SOP  (PDF 387KB)
  • अनलाइन भुक्तानीको लागि यहाँ हेर्नुहोस् :  Pay.gov – Home 
  • कुनै प्रश्‍न वा गुनासो भएमा यस इमेलमार्फत सम्पर्क गर्नुहोस् : ktmCRBA@state.gov  

अन्य महत्त्वपूर्ण जानकारी

नोट : यदि तपाईँ कागजी (paper-based) आवेदन पेस गर्न रुचाउनुहुन्छ भने Embassy Kathmandu website मा दिइएको विधि अपनाउनुहोस् र ktmCRBA@state.gov मा इमेल पठाउनुहोस् ।  

पासपोर्ट र सोसल सेक्युरिटी कार्डसम्बन्धी आवेदनहरू अलग्गै भर्नु र पेस गर्नुपर्छ ।

कृपया याद गर्नुहोस्, सोसल सेक्युरिटी नम्बरको लागि आवेदन कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोडको सक्कल र पासपोर्ट प्राप्‍त गरेपछि मात्र पेस गर्न सकिन्छ । आफ्नो बच्चाको लागि सोसल सेक्युरिटी नम्बर कसरी प्राप्‍त गर्ने भन्नेबारे थप विवरण यहाँ हेर्नुहोस् ।