संक्षिप्त विवरण
अध्यागमन तथा राष्ट्रियता ऐनको दफा ३०१ वा ३०९ अन्तर्गत नागरिकता प्रसार सम्बन्धमा लागू हुने सर्तहरू कुनै बच्चाको जन्म अगावै उक्त बच्चाको बुवा वा आमाबाट पुरा भएको खण्डमा अमेरिकाबाहिर जन्मिएको बच्चाले जन्मँदै अमेरिकी नागरिकता प्राप्त गर्न सक्दछ । सो बच्चा जन्मिएको मिति र समयमा आमाबुवामध्ये कम्तीमा एक जना अमेरिकी नागरिक हुनै पर्छ भन्ने ती सर्तहरूमध्ये एक हो । आमाबुवामध्ये कसैले आफ्नो नाबालिग बच्चाको तर्फबाट उक्त बच्चाको अमेरिकी नागरिकता अभिलिखित गर्न अमेरिकी नागरिकको कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (CRBA) का निम्ति आवेदन दिन सक्दछन् ।
आवेदन कहिले दिने : बच्चाको CRBA आवेदन अनिवार्य रूपमा उसको १८ औँ जन्मदिन अगावै पेस गर्नुपर्छ । स्मरण रहोस्, CRBA कुनै यात्रा गर्ने कागजात होइन; तपाईँले CRBAकै समयमा वा अमेरिका जानु धेरै अगाडी नै पनि आफ्नो बच्चाको अमेरिकी पासपोर्टका निम्ति आवेदन दिन सक्नुहुन्छ । अमेरिकी कानुन अनुसार अमेरिकी नागरिकहरूले अमेरिका प्रवेश र प्रस्थान अमेरिकी पासपोर्टका साथ गर्नुपर्दछ, चाहे उनीहरूसँग अर्को राष्ट्रियता र पासपोर्ट नै किन नहोस् ।
CRBA का निम्ति आवेदन दिने प्रक्रिया सरल छ तर तपाईँले केही कागजात सङ्कलन र पेस भने गर्नुपर्दछ । त्यसपछि, अन्यथा उल्लेख भएको बाहेक, तपाईँ दूतावास, वाणिज्य दूतावास वा कन्सुलर सेवा प्रदान गर्ने कार्यालयमा अपोइन्टमेन्ट (appointment) लिएर आफ्नो बच्चासहित स्वयं उपस्थित हुनुपर्दछ । CRBA ले न त बच्चाको कानुनी आमाबुवाको पहिचानको प्रमाणको रूपमा काम गर्छ न त यसको उद्देश्य नै त्यो हो । सामान्यतया, CRBA मा सूचिबद्ध नाम वा नामहरू आमाबुवालगायत ती व्यक्तिहरूको हुन्छ जसमार्फत अमेरिकी नागरिकतामा बच्चाको दाबी प्रस्तुत गरिएको हुन्छ ।
अन्तर्वार्तामा बच्चा र आमाबुवा दुवै जना व्यक्तिगत रूपमा अनिवार्य उपस्थित हुनुपर्दछ ।
नोट : यदि तपाईँको बच्चाको लागि गर्भाधान असिस्टेड प्रजनन प्रविधि (ART) वा सरोगेसीबाट भएको हो भने के-के आवश्यक हुन्छ भन्ने सम्बन्धमा थप जानकारीका लागि कृपया U.S. Department of State website हेर्नुहोस् ।
शुल्क र भुक्तानी प्रक्रिया तथा थप आवश्यकताहरू बुझ्न गर्न तल उल्लिखित स्थानीय जानकारी अवश्य हेर्नुहोस् ।
यो CRBA जानकारी भिडियो हेरी तपाईँ अन्तर्वार्ताका निम्ति अझ राम्ररी तयार हुन सक्नुहुन्छ ।
सीआरबीएका निम्ति आवश्यक योग्यताहरू
अमेरिकी नागरिकता प्रसार गर्न, बच्चाको जन्मको समयमा आमाबुवामध्ये कम्तीमा एक जनासँग अमेरिकी नागरिकता अनिवार्य रूपमा हुनुपर्छ र उक्त बच्चा र निज अमेरिकी नागरिक आमा वा बुवाबिच रगतको नाता हुनुपर्दछ । यसबाहेक, बच्चाको जन्मअघि अमेरिकी आमा वा बुवाको अमेरिकामा उपस्थिति देखाउने प्रमाण पनि हुनै पर्छ । तपाईँको बच्चा विदेशमा जन्मिएको सम्बन्धी प्रमाणपत्रको लागि योग्य छ-छैन भनी निर्क्योल गर्दा धेरै पक्षबारे विचार गर्नुपर्ने हुन्छ । सीआरबीए (CRBA) आवेदन बच्चाको १८ औँ जन्मदिनअघि कुनै पनि समयमा गर्न सकिन्छ, तर हामी आमाबुवालाई बच्चाको जन्म लगत्तै जतिसक्दो चाँडो सीआरबीएको लागि आवेदन बुझाउने सुझाव दिन्छौँ ।
भौतिक उपस्थितिले त्यो वास्तविक समय जनाउँछ जुन बेला आमा/बुवा अमेरिकामा सशरीर उपस्थित हुनुहुन्थ्यो न कि केवल अमेरिकी बासिन्दाको हैसियतप्राप्त हुनुहुन्थ्यो । यसको मतलब छुट्टी मनाउन गरिएको लगायत अमेरिकाबाहिर गरिएको कुनै पनि यात्राको अवधि समावेश गरिनुहुन्न । अमेरिकामा भौतिक उपस्थिति बच्चाको जन्मअघि कुनै पनि समयमा भएको हुनसक्छ । यसमा अमेरिकी आमा/बुवा अमेरिकी नागरिकका रूपमा अङ्गीकृत हुनु अघिको समय पनि समावेश हुनसक्छ ।
दुई अमेरिकी नागरिक आमाबुवा
अमेरिकी आमा वा बुवामध्ये एक जनाले बच्चाको जन्मअघि कुनै समयमा आफूले अमेरिकामा बसोबास गरेको अनिवार्य रूपमा दर्साउनुपर्छ ।
एक अमेरिकी आमा/बुवा र एक गैर-अमेरिकी आमा/बुवा
अमेरिकी आमा वा बुवाले बच्चाको जन्मअघि आफू कम्तीमा कुल पाँच वर्ष अमेरिकामा भौतिक रूपमा उपस्थित भएको कुरा अनिवार्य देखाउनुपर्छ र ती वर्षमध्ये दुई वर्ष १४ वर्षको उमेरपश्चात् रहेको प्रमाण हुनुपर्छ ।
आवश्यक कागजात :
1. भरेको (तर हस्ताक्षर नगरिएको) DS-2029 फाराम(PDF), कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (CRBA)सम्बन्धी आवेदन
सबै प्रश्नहरू विशेषतः पेज २ को खण्ड 2j को ठिक तरिकाले उत्तर दिनुहोस् । कुनै पनि भाग खालि नछोड्नुहोस् । तपाईँ अमेरिकाभित्र उपस्थित हुनुभएका समयावधिहरू मात्र सूचिबद्ध गर्नुहोस् । उदाहरणका लागि :
Place (City, State) Date (month-day-year) Date (month-day-year)
Miami, Florida From 06-24-2010 To 08-03-2014
Atlanta, Georgia From 08-04-2014 To 04-23-2017
Portland, Oregon From 05-01-2019 To 07-25-2021
भरिएको DS-2029 फारम कागजको एकापट्टि मात्र प्रिन्ट गर्नुहोस्। कन्सुलर अधिकृतले नभनेसम्म CRBA आवेदनमा हस्ताक्षर नगर्नुहोला ।
नोट: यदि अमेरिकी नागरिक बुवा अमेरिकामा बसोबास गर्नुहुन्छ र बच्चाको CRBA र अमेरिकी पासपोर्टको लागि आवेदन दिँदा अन्तर्वार्तामा उपस्थित हुन असमर्थ हुनुहुन्छ भने नेपालमा बस्ने बच्चाकी आमाले अमेरिकी नागरिक बुवाको तर्फबाट आवेदन दिन सक्नुहुन्छ । यस्तो अवस्थामा, अमेरिकामा रहेका अमेरिकी नागरिक बुवाद्वारा नोटरी पब्लिकको सामुन्ने भरेको र हस्ताक्षर गरेको सक्कल DS-2029 फारम आवश्यक हुन्छ । यस अवस्थामा, खण्ड B (बच्चाको जन्म वैवाहिक सम्बन्धबाहिर भएको भए) र खण्ड C अमेरिकामा नै भरिएको, हस्ताक्षर गरिएको र नोटराइज गरिएको हुनुपर्छ । उक्त सक्कल कागजात अन्तर्वार्तामा अनिवार्य रूपमा प्रस्तुत गरिनुपर्छ ।
2. भरेको (तर हस्ताक्षर नगरिएको) अमेरिकी पासपोर्टका निम्ति आवेदन फारम DS-11(PDF)। यो आवेदनमा हस्ताक्षर अनिवार्य रूपमा कन्सुलर अफिसरको रोहबरमा गरिनुपर्छ ।
नोट : यदि आमा वा बुवा अपोइन्टमेन्टको समयमा व्यक्तिगत रूपमा उपस्थित हुन असमर्थ भएमा निजले DS-3053 (PDF) फारम (Statement of Consent) नोटरी सामुन्ने भर्नुपर्छ र उक्त सक्कल कागजात अन्तर्वार्तामा पेस गर्नुपर्दछ । तपाईँले नोटरीलाई पेस गर्नुभएको परिचयपत्रको अगाडी र पछाडिको भागको प्रस्ट प्रतिलिपि पनि संलग्न गर्नुपर्छ । तपाईँले यो फारममा हस्ताक्षर गर्नुभएको मिति र नोटरीले यसमा हस्ताक्षर गरेको मिति एउटै हुनुपर्छ । नोटराइज गरेको ९० दिन पछि यो फारमको म्याद समाप्त हुन्छ ।
3. हालसालै खिचिएको रङ्गिन फोटो को १ प्रति (२ इन्च x २ इन्च)
तपाईँको व्यक्तिगत उपस्थिति आवश्यक पर्ने अपोइन्टमेन्टमा तपाईँलाई DS-2029 and DS-11 फारमका अलावा तल उल्लिखित कागजातका सक्कल र दुई-दुई वटा प्रतिलिपि पनि बुझाउन भनिन्छ :
4. बच्चाको जन्मदर्ताप्रमाणपत्र – अस्पतालद्वारा जारी बच्चाको जन्मको प्रमाणपत्रको सक्कल प्रति (नेपालमा यस्तो प्रमाणपत्रमा बच्चाको नाम प्रायः उल्लेख गरिएको हुँदैन) । नगरपालिका वा गाउँपालिकाको वडा कार्यालयस्थित स्थानीय रजिस्ट्रार कार्यालयबाट अनुसूची २० अनुसार जारी भएको बच्चाको जन्मदर्ताको प्रमाणपत्रको सक्कल प्रति । यो कागजातमा आमा वा बुवा अथवा आमाबुवा दुवैको नाम हुनुपर्दछ । साधारणतया, तपाईँको बच्चालाई अमेरिकी नागरिकका रूपमा अभिलिखित गर्न छोटकरी प्रमाणपत्रहरू स्वीकार्य हुँदैनन् ।
5. अमेरिकी नागरिकता र पहिचानको प्रमाण –अमेरिकी नागरिक आमा वा बुवा अथवा आमाबुवाले आफ्नो अमेरिकी नागरिकता र पहिचानको प्रमाण पेस गर्नुपर्छ । म्याद ननाघेको, पूर्ण अधिकारसहितको अमेरिकी पासपोर्टलाई अमेरिकी नागरिकता र पहिचानको प्रमाणको रूपमा रुचाइन्छ । यदि तपाईँले अमेरिकी सरकार वा अमेरिकी राज्य सरकारले जारी गरेको फोटोसहितको परिचयपत्र पनि प्रस्तुत गर्नुभएमा, अमेरिकी जन्मदर्ता प्रमाणपत्र वा युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले (U.S. Department of Homeland Security) जारी गरेको सर्टिफिकेट अफ नेचुरलाइजेशन (Certificate of Naturalization) वा नागरिकताको प्रमाणपत्रलाई पनि हामी अमेरिकी नागरिकताको प्रमाणको रूपमा स्वीकार गर्छौँ । सक्कल र दुई प्रतिलिपि । (यदि अमेरिकी पासपोर्ट पेस गर्दै हुनुहुन्छ भने पुरै पासपोर्टको प्रतिलिपिको साटो पासपोर्टको फोटो पृष्ठको मात्र दुई प्रतिलिपि पेस गर्नुहोला) ।
6. अमेरिकी नागरिकता नभएका आमा वा बुवाको पासपोर्ट/परिचयपत्र– अमेरिकी नागरिकता नभएका आमा वा बुवाले म्याद बाँकी रहेको आफ्नो पासपोर्ट अथवा सरकारद्वारा जारी फोटोसहितको परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्छ । सक्कल र दुई प्रतिलिपि । (विदेशी पासपोर्ट पेस गर्ने खण्डमा पुरै पासपोर्टको प्रतिलिपिको साटो पासपोर्टको फोटो पेजको मात्र दुई प्रतिलिपि पेस गर्नुहोला ।)
7. आमाबुवाको मौजुदा विवाह दर्ता प्रमाणपत्र (यदि लागु हुने भए)– यदि विवाह दर्ता प्रमाणपत्र स्थानीय भाषा वा अङ्ग्रेजीबाहेकको भाषामा छ भने तपाईँले प्रमाणित अनुवाद उपलब्ध गराउनुपर्छ । प्रमाणपत्रको सक्कल र एउटा प्रतिलिपि ।
8. विवाह समाप्ति कागजात (यदि लागु हुने भए)– पहिले अर्को पनि विवाह भएका आमाबुवाको हकमा, विवाहको अन्त्य भएको ब्यहोरा र कहिले अन्त्य भएको भन्ने ब्यहोरा खुलेको सम्बन्ध विच्छेद आदेश, विवाह खारेजी वा मृत्युदर्ता प्रमाणपत्र हामीलाई आवश्यक पर्छ । यदि तपाईँको कागजात स्थानीय भाषा वा अङ्ग्रेजीबाहेकको भाषामा छ भने तपाईँले प्रमाणित अनुवाद उपलब्ध गराउनुपर्छ । सम्बन्ध विच्छेद आदेश वा मृत्युदर्ता प्रमाणपत्रको सक्कल र एउटा प्रतिलिपि ।
9. बच्चाको जन्मअघि अमेरिकी नागरिक आमा वा बुवाको अमेरिकामा भौतिक उपस्थितिवा बसोबासको प्रमाण :
-
- भौतिक उपस्थिति अमेरिकामा रहेको वा अमेरिकी सरकार अथवा अन्य योग्य सङ्घसंस्थासँगको रोजगारीको सिलसिलामा वा त्यसरी रोजगारीमा रहेको व्यक्तिमाथि आश्रित सन्तानको रूपमा भौतिक उपस्थिति विदेशमा भएको कुराको प्राथमिक प्रमाणमध्ये केही यस प्रकार छन् : शैक्षिक संस्थाका ट्रान्सक्रिप्टका सक्कल, (छ भने) सेवा निवृत्तिको प्रकृति खुलेको सैन्य सेवाका रेकर्डहरू (DD-214), सामाजिक सुरक्षा आय विवरणहरू, रोजगारीका रेकर्डहरू । सक्कल र एउटा प्रतिलिपि ।
- अन्य प्रमाण यस प्रकार हुन सक्छन् : अमेरिकामा पेस गरिएका आयकर फिर्तासम्बन्धी कागजात, उपभोग्य सेवा (पानी, बिजुली आदि) का बिलहरू, स्वास्थ्यसम्बन्धी कागजात, छापसहितका पुराना/हालैका पासपोर्टहरू, एयरलाइन्स टिकटका अर्धकट्टी, क्रेडिट कार्डका बिल, भूतपूर्व/वर्तमान रोजगारदाताका नोटराइज गरिएको एफिडेभिट । सक्कल र एउटा प्रतिलिपि ।
10. भौतिक उपस्थिति वा बसोबास, पितृत्व र भरणपोषणको शपथपत्र (affidavit) (यदि लागु हुने भए) – वैवाहिक सम्बन्धबाहिर जन्मिएको बच्चाको अमेरिकी नागरिक बुवा र/वा गैर-आवेदक अमेरिकी नागरिक आमा/बुवालेभौतिक उपस्थिति वा बसोबास, पितृत्व र भरणपोषणको शपथपत्र फारम (DS-5507) भरेर बुझाउन सक्छन् वा निजलाई कन्सुलर अधिकारीले त्यसो गर्न लगाउन सक्छन् । आधिकारिक प्रयोजनका निम्ति योग्य हुन उक्त फारम कन्सुलर अधिकारी वा पासपोर्ट सङ्कलन गर्ने आधिकारिक एजेन्टद्वारा हस्ताक्षरित र नोटराइज गरिएको हुनुपर्दछ र DS-5507 फारम नोटराइज गर्ने व्यक्तिलाई पेस गरिएको सरकारद्वारा जारी परिचयपत्रकै एक प्रतिलिपिसहित CRBA आवेदन (DS-2029) पेस गरिएको दूतावास, वाणिज्य दूतावास, वा कन्सुलर सेवा प्रदान गर्ने कार्यालयमा पेस गर्नुपर्दछ । बच्चालाई नागरिकता प्रसार गर्ने अमेरिकी नागरिक आमा/बुवा CRBA को लागि आवेदन दिँदा उपस्थित नभएमा निज आमा/बुवाले थप प्रमाणका रूपमा DS-2029 फाराम(PDF) वा DS-5507 फारम (PDF) भर्नुपर्छ जुन निजले अमेरिकामा बिताएको समयावधि सूचिबद्ध गर्न प्रयोग गर्न सकिन्छ । आवेदन दिने आमा/बुवाको साथ DS-2029 फारमसँगै नोटराइज गरिएको कागजातको सक्कल र फोटोसहितको परिचयपत्रको एउटा प्रतिलिपि अनिवार्य रूपमा हुनुपर्छ ।
-
-
- नोट : पितृत्वको शपथपत्र (affidavit) र आर्थिक सहायता प्रदान गर्ने सम्झौता केवल वैवाहिक सम्बन्धबाहिर विदेशमा जन्मिएको बच्चाको अमेरिकी नागरिक बुवाले मात्र अनिवार्य रूपमा भर्नुपर्छ ।
-
नागरिकता प्रसार गर्ने र अमेरिकामा भौतिक उपस्थिति साबित गर्ने
म अमेरिकामा “भौतिक रूपमा उपस्थित” थिएँ भन्ने कसरी दर्साउन सक्छु ?
सामान्यतया, “भौतिक उपस्थिति” भन्नाले अमेरिकाको सिमानाभित्र तपाईँ वास्तवमै भौतिक रूपमा हुनुभएको समय (तपाईँको बच्चाको जन्मअघि) को गणना हो ।
- सामान्यतया, भौतिक उपस्थिति निरन्तर हुनु आवश्यक छैन र कुनै पनि अवधिको अमेरिका भ्रमण भौतिक उपस्थितिको अनिवार्यता पूर्ति गर्नमा गणना हुन्छ ;
- त्यसको विपरीत, छुट्टी मनाउन लगायत अमेरिकाबाहिरको कुनै पनि यात्रा गणनाबाहिर राख्नुपर्छ ;
- नागरिकता प्रसार गर्ने प्रयोजनका लागि, तपाईँ अमेरिकामा कानुनी रूपमा हुनुहुन्थ्यो वा गैर कानुनी रूपमा अथवा तपाईँ अमेरिकी नागरिक हुनुहुन्थ्यो वा भ्रमणकर्ता भन्ने कुराले फरक पर्दैन ;
- अमेरिकी सैन्य सम्मानजनक सेवाको लागि विदेशमा बिताएको समय वा अमेरिकी सेनामा सम्मानजनक रूपमा सेवारत कसैमाथि आश्रित व्यक्तिको रूपमा बिताएको समय प्रायः गणना हुन्छ तर तपाईँले आधिकारिक रेकर्डहरू उपलब्ध गराउनु आवश्यक हुन्छ ;
- अमेरिकी सरकार वा केही निश्चित अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गर्दा बिताएको समय – अथवा अमेरिकी सरकार वा निश्चित अन्तर्राष्ट्रिय संस्थाहरूको रोजगारीमा रहेको कसैमाथि आश्रित व्यक्तिको रूपमा बिताएको समय – पनि गणना हुन सक्छ तर तपाईँले आधिकारिक रेकर्डहरू उपलब्ध गराउनु आवश्यक हुन्छ ।
म भौतिक रूपमा अमेरिकामा उपस्थित भएको कुरा कुन किसिमका कागजातले दर्साउन सक्छन् ?
तपाईँ भौतिक रूपमा अमेरिकामा हुँदा तपाईँले के गर्नुभयो भन्ने कुरा तपाईँ स्वयंलाई थाहा हुन्छ र तपाईँ वास्तवमै त्यहाँ हुनुहुन्थ्यो भन्ने साबित गर्ने भनी तपाईँलाई लागेको कुनै प्रमाण पेस गर्न सक्नुहुन्छ । तपाईँसँग तपाईँको केससम्बन्धी विशिष्ट कागजातहरू हुन सक्छन् – कृपया ती उपलब्ध गराउनुहोस् । यद्यपि, तल उल्लिखित कागजातहरू धेरै आवेदकहरूले प्राप्त गर्न र कन्सुलर अधिकारीहरूले प्रयोग गर्न सजिलो साबित भएका छन् :
- प्राथमिक, माध्यमिक वा विश्वविद्यालय शिक्षासँग सम्बन्धित आधिकारिक ट्रान्सक्रिप्टहरू
- W-2 फारमजस्ता पारिश्रमिक तथा करका विवरणपत्रहरू, तपाईँको रोजगारदाता कम्पनीको वा त्यहाँको मानव संसाधन (HR) विभागको पत्रसाथ
- अमेरिका यात्राको प्रमाण भएका हालको र म्याद सकिएका पासपोर्टहरू (तर सचेत हुनुहोस्, यिनले अमेरिका प्रवेश र अमेरिकाबाट प्रस्थान दुवै देखाउनुपर्छ – अमेरिका प्रवेश र अमेरिकाबाट प्रस्थान गर्न तपाईँले अलग-अलग पासपोर्ट प्रयोग गर्नुभएको छ भने तपाईँ वास्तविक यात्रा मितिहरू निर्धारण गर्न कठिन हुनसक्छ)
- सैन्य सेवा विवरण (Military Statement of Service) अथवा निवृत्ति विवरण (DD-214 Separation Statement) जस्ता सम्मानजनक सेवाका सैन्य रेकर्डहरू
- कारागार रेकर्डहरू
- बैङ्किङ अथवा क्रेडिट कार्ड विवरणपत्रहरू जसले निश्चित अमेरिकी स्थानहरूमा भएका क्रियाकलाप दर्साउँछन् (जस्तै, एटिएमबाट नगद झिकेको, अमेरिकी रेस्टुराँहरूमा खाना खाएको, आदि)
- केही मेडिकल रेकर्डहरूले अमेरिकामा हुँदाको समयको रेकर्ड उपलब्ध गराउँछन्, तर उपचारको सटिक मितिको लागि मात्र
- अमेरिकी भन्सार तथा सीमा सुरक्षा (CBP) का आगमन र प्रस्थानसम्बन्धी रेकर्डहरू – CBP रेकर्डका निम्ति एफ्ओआइए (FOIA) सम्बन्धी अनुरोध पेस गर्ने बारेमा CBP का निर्देशनहरूका लागि हेर्नुहोस् : https://www.cbp.gov/site-policy-notices/foia/faq-foia
कस्ता कागजातले म अमेरिकामा भौतिक रूपमा उपस्थित थिएँ भन्ने दर्साउँदैनन् ?
- अमेरिकी सवारीचालक अनुमतिपत्र (यसले तपाईँ कहिले र कति लामो समय अमेरिकामा उपस्थित हुनुहुन्थ्यो भन्ने देखाउँदैन) ;
- सम्बन्धित शैक्षिक संस्थाको ट्रान्सक्रिप्टबिनाको डिप्लोमा (किनकि कुनै व्यक्तिले क्रेडिटहरू वैदेशिक शिक्षाबाट आर्जन गरेको अथवा स्थानान्तरण गरेको हुनसक्छ) ;
- निवास सम्बन्धित करारपत्र वा ऋण (धेरै मानिसले थुप्रै देशमा निवास कायम राख्छन् वा भाडाको प्रयोजनका निम्ति सम्पत्तिहरू राख्छन्) ;
- मोबाइल फोनका रेकर्डहरू ;
- आम वित्तीय विवरणपत्रहरू जसले अमेरिकामा तपाईँको अवस्थिति दर्साउँदैनन् (धेरै मानिसहरूले विश्वभरि बैङ्क खाताहरू सञ्चालन गर्छन् तर ती देश विशेषमा वास्तवमा समय बिताएका हुँदैनन्) ;
- सामाजिक सञ्जालका रेकर्डहरू जसले तपाईँ अमेरिकामा हुनुभएको मात्र बताउँछन् ;
- तलबको लिखतका अर्धकट्टी वा W-2 बेगरका आयकर फारमहरू (करहरू विश्वको कुनै पनि स्थानबाट भुक्तान गर्न सकिन्छन्) ।
भुक्तानी विधि र अन्य विवरणहरू
कानुनतः पासपोर्ट तयारी र आवेदन शुल्कहरू फिर्ता हुँदैनन् र ती शुल्क अमेरिकी क्रेडिट कार्ड, अमेरिकी नगद वा नेपाली रुपैयाँमा भुक्तान गर्न सकिन्छ ।
कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (CRBA) आवेदन शुल्क : १०० अमेरिकी डलर
पासपोर्ट आवेदन शुल्क : १३५ अमेरिकी डलर
हामी अमेरिकी डलर, नेपाली रुपैयाँ र अमेरिकी क्रेडिट कार्डबाट हुने भुक्तानी स्वीकार गर्छौँ । यदि तपाईँ नगदमा भुक्तानी गर्नुहुन्छ भने अमेरिकी डलर र नेपाली रुपैयाँ नमिसाउनुहोला ।
प्रक्रियालाई लाग्ने समय
पासपोर्टहरू सामान्यतया दुई हप्तामा दूतावासबाट लिन सकिन्छन् । CRBA प्रमाणपत्र पनि सामान्यतया त्यति नै समयमा तयार हुन्छ तर कहिलेकाहीँ त्योभन्दा धेरै समय लाग्छ ।
अन्तर्वार्ताको दिन
आवेदक तथा दूतावासका कर्मचारीहरूको सुरक्षाको लागि हामी सम्भव भएसम्म अन्तरक्रिया र वस्तुहरूको आदानप्रदानलाई सीमित गर्ने उपायहरू अपनाउनेछौँ । यस कारण तपाईँको अन्तर्वार्ताको अनुभव पहिलेका भ्रमणहरूमा भन्दा फरक हुनेछ । तपाईँले यी नियमहरूका साथै दूतावासका सुरक्षाकर्मीद्वारा दिइने सबै निर्देशनहरूको हरदम पालना गर्नुपर्छ ।
कृपया आफ्नो अपोइन्टमेन्टको १० मिनेटभन्दा पहिल्यै उपस्थित नहुनुहोला । प्रतीक्षा गर्ने स्थानमा भिड नहुनु जरुरी छ त्यसैले सबै जना आफ्नो अपोइन्टमेन्टको समयानुसार आइपुग्नु महत्त्वपूर्ण हुन्छ ।
हामी तपाईँको कुनै पनि झोला वा सामान केही बेर राखिदिन गर्न असमर्थ छौँ । दूतावासभित्र मोबाइल फोन वा अन्य विद्युतीय उपकरण लैजान पाइँदैन । तपाईँले आफ्नो पासपोर्ट र आफ्नो फोटो सहित आवश्यक अन्तर्वार्ता सामग्री मात्र लिएर दूतावासमा आउने व्यवस्था मिलाउनुपर्छ । यदि तपाईँसँग विद्युतीय उपकरण, झोला र वालेटहरू छन् भने तपाईँलाई दूतावासमा प्रवेश गर्न दिइनेछैन । दूतावासले तपाईँको कुनै पनि निजी सरसामान भण्डारण गर्नेछैन । यसमा बिलकुल कुनै अपवाद हुनेछैन । यदि तपाईँ कुनै अतिरिक्त वस्तु लिएर आउनुभयो भने तपाईँको अपोइन्टमेन्ट पुनः निर्धारित गरिनेछ ।
आवेदकहरूले हरदम मास्क लगाउनुपर्छ – अन्तर्वार्ताको सुरुवातमा आवेदकहरूको पहिचान रुजु गर्ने छोटो समयमा बाहेक । दूतावासले मास्क उपलब्ध गराउनेछैन । यदि तपाईँसँग मास्क छैन भने तपाईँलाई दूतावासभित्र प्रवेश गर्न अनुमति दिइने छैन । दूतावासमा रहँदा तपाईँले सामाजिक दुरी (२ मिटर) कायम राख्ने अपेक्षा गरिनेछ ।
यी प्रक्रियाहरू दूतावासमा आवेदक तथा हाम्रा कर्मचारीको स्वास्थ्यको सुरक्षा गर्न लागु गरिएका हुन् । तपाईँको समझदारीको लागि र यस प्रक्रिया अवधिभर माथि उल्लिखित मार्गदर्शनको पालना गर्नुभएकोमा धन्यवाद ।