An official website of the United States government
Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.
Secure .gov websites use HTTPS
A lock (
) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.
नोटरी सेवाहरू अपोइन्टमेन्टमार्फत सबै राष्ट्रियताका व्यक्तिहरूलाई उपलब्ध छन् ।
संक्षिप्त विवरण
नेपालमा स्थानीय नोटरी सेवाहरू व्यापक रूपमा उपलब्ध छन् । तर दूतावासले कुनै निश्चित नोटरी सेवा प्रदायकको सिफारिस गर्दैन । थप जानकारीका लागि नेपाल नोटरी पब्लिक परिषद्को वेबसाइट हेर्नुहोला ।
अमेरिकी नागरिकहरू र वैध स्थायी बासिन्दाहरू (अर्थात्, ग्रिन कार्ड होल्डर्स) अथवा अमेरिकामा पेस गर्न कागजातको नोटरी गर्नुपर्ने आवश्यकता भएका गैर-अमेरिकी नागरिकहरूलाई पनि हामी नोटरी सेवा प्रदान गर्न सक्छौँ । दूतावासले जुनै पनि राष्ट्रियता लाई , सोमबार, बुधवार र शुक्रवार नोटरी सेवाहरू प्रदान गर्दछ । कुनै पनि नोटरी सेवाको लागि अनलाइन अपोइन्टमेन्ट लिनु आवश्यक हुन्छ । नोटरी सेवाका लागि प्रत्येक कन्सुलर हस्ताक्षरको शुल्क ५० अमेरिकी डलर लाग्छ ।
कृपया याद गर्नुहोस् : यदि तपाईँ अन्य सेवाको खोजीमा हुनुहुन्छ वा तपाईँसँग भिसासम्बन्धी प्रश्न छ भने कृपया हाम्रो वेबसाइटको त्यससँग सम्बन्धित भागमा हेर्नुहोला । नोटरी सेवाको अपोइन्टमेन्टको समयमा हामी भिसासम्बन्धी कुनै सेवा प्रदान गर्दैनौँ अर्थात् भिसासम्बन्धी कुनै प्रश्नलाई सम्बोधन गर्ने छैनौँ ।
नोटरी सेवाहरूबारे कुनै प्रश्न वा चिन्ता छ भने कृपया अमेरिकी दूतावासको कन्सुलर शाखा सम्बद्ध जानकारी तथा सेवा फाराम भर्नुहोला ।
नोटरी अपोइन्टमेन्टका लागि तयारी
हामीले प्रदान गर्ने सेवाहरू
नेपाली कानुनअनुसार, नेपालमा विवाह गर्नका लागि विदेशी नागरिकले विवाह योग्यताको शपथपत्र पेस गर्नुपर्छ । यो शपथपत्र नेपाली नागरिकता नभएका अमेरिकी ग्रिन कार्ड होल्डरहरूलाई पनि उपयोगी हुनसक्छ । अनलाइन अपोइन्टमेन्ट लिई यो फारम अमेरिकी दूतावासबाट प्राप्त गर्न सकिन्छ । ५० अमेरिकी डलरको शुल्क तिर्नुहोस् र अपोइन्टमेन्टको समयमा आफ्नो अमेरिकी पासपोर्ट वा ग्रिन कार्ड पेस गर्नुहोस् । यस्तो शपथपत्र विवाहको ठिक अघि लिनुहुन र विवाह लगत्तै विवाह दर्ता गर्नुहुन हाम्रो सुझाव छ । कन्सुलर अधिकृतले शपथपत्रमा हस्ताक्षर गरेको दिनदेखि दुई हप्ताभन्दा बढी कुर्नुभयो भने स्थानीय अधिकारीले तपाईँसँग फेरि नयाँ शपथपत्र माग्न सक्छन् । विगतमा विवाहित भएका व्यक्तिहरूले कानुनी सम्बन्धविच्छेद आदेश वा पति/पत्नीको मृत्युको प्रमाणपत्र पेस गर्नुपर्ने हुनसक्छ । तपाईँले आफू बसेको राज्यको विवाहसम्बन्धी कानुनको प्रतिलिपि पनि पेस गर्नुपर्ने हुनसक्छ। आफूलाई लागु हुने विवाहसम्बन्धी कानुन प्राप्त गर्न इन्टरनेटमा खोजी गर्न सक्नुहुन्छ ।
नेपाली कानुन अनुसार, नेपालभित्र कानुनी रूपमा सवारी साधन चलाउन अमेरिका वा संसारका जुनसुकै देशका नागरिकले पनि नेपालको ड्राइभिङ लाइसेन्स लिनुपर्छ ।
कृपया याद गर्नुहोस् : यातायात विभागले अन्तर्राष्ट्रिय सवारीचालक अनुमतिपत्रलाई नेपाली सवारीचालक अनुमतिपत्रमा परिणत गर्ने प्रक्रिया हाल स्थगित गरेको छ । अन्तर्राष्ट्रिय सवारीचालक अनुमतिपत्र बाहकले अनिवार्य रूपमा नेपाली सवारीचालक अनुमतिपत्र लिनेसम्बन्धी नियमित प्रक्रिया पूरा गर्नुपर्छ । विस्तृत जानकारीका लागि हेर्नुहोस् : https://www.dotm.gov.np/। अमेरिकी नागरिकहरूले हालका आवश्यकताहरूबारे यातायात कार्यालयलाई ०१-४४७४९२१ वा ०१-५१९३१७३ मा फोन गरी प्रत्यक्ष रूपमा सोधपुछ गर्न सक्छन् ।
कतिपय अवस्थामा नेपालको यातायात विभागले अझै पनि अमेरिकाका राज्यहरूद्वारा जारी गरिएका वा अन्तर्राष्ट्रिय सवारीचालक अनुमतिपत्रका आधारमा नेपाली सवारीचालक अनुमतिपत्र जारी गर्न सक्छ यदि तपाईँले “अमेरिकी सवारीचालक लाइसेन्सको शपथपत्र” पनि पेस गर्नुभयो भने । यद्यपि यो कुरा यातायात विभागको कार्यालयको तजबिजमा हुन्छ र यसको कुनै ग्यारेन्टी हुँदैन । तपाईँले अनलाइन अपोइन्टमेन्ट लिनुभएमा यो शपथपत्र दूतावासमा उपलब्ध हुन्छ । ५० अमेरिकी डलरको शुल्क तिर्नुहोस् र अपोइन्टमेन्टको समयमा म्याद नगुज्रिएको आफ्नो अमेरिकी सवारीचालक अनुमतिपत्र प्रस्तुत गर्नुहोस् । शपथपत्रको नोटरी गरिसकेपछि यसलाई आफ्नो सवारीचालक अनुमतिपत्रको साथमा सवारीचालक अनुमतिपत्रको प्रक्रिया चलाउने यातायात विभागको कुनै पनि कार्यालय – हाल एकान्तकुना (ललितपुर), चाबहिल (काठमाडौँ), जगाती (भक्तपुर), र ठुलो भर्याङ (स्वयम्भू) – मा पेस गर्नुहोस् । तपाईँले आँखा जाँच गराउनु आवश्यक हुन्छ तर तपाईँलाई तपाईँको अमेरिकी सवारीचालक अनुमतिपत्रको आधारमा लिखित परीक्षा र ड्राइभिङ परीक्षणबाट छुटकारा दिइनेछ ।
नेपालमा नियमित रूपमा कारोबार गर्ने अमेरिकी नागरिकहरूलाई कहिलेकाहीँ अमेरिकी दूतावासद्वारा जारी गरिएको “परिचय पत्र” वा “नो अब्जेक्सन लेटर” पेस गर्न भनिन्छ । उदाहरणका लागि, जब कुनै अमेरिकी नागरिकले नेपालमा गाडी किन्ने वा तेस्रो देशको भिसाको लागि आवेदन दिने प्रयास गर्छन् यी अनुरोधहरू सामान्य हुन्छन् । स्मरण रहोस्, दूतावासले व्यक्तिगत पत्रहरू जारी गर्दैन र यी प्रयोजनका लागि दूतावासको अनुमति वास्तवमा आवश्यक छैन ।
दूतावासले आधिकारिक कूटनीतिक नोटमार्फत यो नीतिबारे नेपाल सरकारलाई अवगत गराएको छ । अमेरिकी नागरिकहरूले यो कागजात प्रिन्ट गर्न सक्छन् (साइडबार हेर्नुहोस्) र पत्र अनुरोध गर्ने अधिकारीसमक्ष प्रस्तुत गर्न सक्छन् । अमेरिकी नागरिकले यस दूतावासको वेबसाइटको यही पृष्ठ पनि प्रिन्ट गर्न सक्छन् । यस जानकारीले अधिकारीहरूलाई त्यस्ता पत्र जारी गर्ने कार्य विरुद्ध रहेको दूतावासको नीति बुझ्न मद्दत गर्न सक्छ । नो अब्जेक्सन लेटरबारे अमेरिकी दूतावासको कूटनीतिक नोट डाउनलोड गर्नुहोस् । (PDF)
स्थानीय विवाह दर्ता गर्न “नो अब्जेक्सन” पत्रको आवश्यकता परेका अमेरिकी नागरिकहरूले “विवाह गर्ने योग्यताको शपथपत्र” मा हस्ताक्षर गर्न अनलाइन अपोइन्टमेन्ट लिनुपर्छ । दूतावासमा नोटरीको सामुन्ने स्वयं-भर्ने शपथपत्रमा हस्ताक्षर गर्न नोटरीसम्बन्धी अपोइन्टमेन्ट लिन अमेरिकी नागरिकहरूलाई सदैव स्वागत छ । हामीसँग सामान्य शपथपत्रहरू र खाली टेम्प्लेट दुवै उपलब्ध छन् । शपथपत्र – जुन हस्ताक्षर र छापसहित दूतावासको लेटरहेडमा लिखित एक औपचारिक कानुनी कागजात हो – विभिन्न परिवेशहरूमा उपयोगी साबित हुनसक्छ ।
एफिड्याभिट भनेको शपथ ग्रहण गरिएको पत्र हो । स्मरण रहोस्, अमेरिकी दूतावासले शपथ लिने व्यक्तिको वक्तव्य वा सो वक्तव्यसँग संलग्न कुनै पनि कागजातमा भएको जानकारी प्रमाणित गर्न सक्दैन। हामी शपथ लिने व्यक्तिको पहिचान मात्र पुष्टि गर्छौँ । यो सेवा अनलाइन अपोइन्टमेन्ट लिई दूतावासबाट प्राप्त गर्न सकिन्छ ।
वारिसनामामार्फत आफ्नो तर्फबाट कानुनी कार्यवाही चलाउन अरू कसैलाई नियुक्त गर्न सकिन्छ । यसको एउटा सामान्य उदाहरण हो – तपाईँ विदेशमा छँदा अमेरिकामा तपाईँको नाममा सम्पत्ति किन्न वा बेच्न अरू कसैलाई अधिकार दिनु । हामी तपाईँलाई वारिसनामाको विशेष भाषा वा ब्यहोराबारे सल्लाह दिन सक्दैनौँ । त्यसैले तपाईँले आफ्नो वारिसनामा नोटराइज गर्न हामीलाई भेट्न आउनु अघि कुनै वकिल वा अन्य उपयुक्त सल्लाहकारसँग परामर्श लिन सक्नुहुन्छ । यो सेवा अनलाइन अपोइन्टमेन्ट लिई दूतावासबाट प्राप्त गर्न सकिन्छ । तपाईँले आफ्नो कागजात (हरू) ल्याउनु पर्छ ।
हस्ताक्षरको पुष्टीकरण वा सम्पादनको पुष्टीकरण एक नोटरी सेवा हो जसले कुनै व्यक्ति विशेषले तोकिएको कागजातमा हस्ताक्षर गरेको कुरा प्रमाणित गर्दछ । यो प्राय: कानुनी सम्झौता, व्यापारिक कागजात, आदिका लागि प्रयोग गरिन्छ । कुनै कागजातमा दुईभन्दा बढी हस्ताक्षरहरू आवश्यक भएको तर हस्ताक्षर गर्नुपर्ने सबै पक्षहरू उपस्थित नभएको अवस्थामा पनि यसको प्रयोग गरिन्छ । हामी हाम्रो अगाडि हस्ताक्षर गर्न उपस्थित वा हाम्रो सामुन्ने आएका व्यक्तिहरूको हस्ताक्षर मात्र नोटरी (वा पुष्टीकरण) गर्न सक्छौँ र उनीहरूले कागजातमा हस्ताक्षर गरेको पुष्टि गर्न सक्छौँ । यो सेवा अनलाइन अपोइन्टमेन्ट लिई दूतावासबाट प्राप्त गर्न सकिन्छ । तपाईँले आफ्नो कागजात (हरू) ल्याउनु पर्छ ।
अमेरिकी दूतावास वा वाणिज्य दूतावासहरूले अमेरिकी राहदानीका साँचो प्रतिलिपिहरू (ट्रु कपि) प्रमाणित गर्न सक्छन् । कृपया आफ्नो अपोइन्टमेन्टको समयमा अमेरिकी राहदानीको सक्कल अवश्य ल्याउनुहोस् ।
१२ वर्ष मुनिका बालबालिकाका निम्ति सामाजिक सुरक्षा नम्बरको लागि कसरी आवेदन गर्ने भन्नेबारे निर्देशनहरूका लागि कृपया मनिलास्थित फेडरल बेनिफिट्स युनिट (FBU) मा जानुहोस् । आवेदनको साथमा नाबालिग बच्चाको पासपोर्ट (आवेदक अभिभावकद्वारा हस्ताक्षर गरिएको) , कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड र आवेदन गर्ने अभिभावकको हस्ताक्षरित राहदानी वा सरकारद्वारा जारी फोटोसहितको परिचयपत्र सामान्यतया आवश्यक हुन्छन् । यदि तपाईँ सक्कल कागजातहरू आफैँसँग राखी तिनको सट्टा प्रमाणित प्रतिलिपिहरू FBU मा पेस गर्न चाहनुहुन्छ भने अमेरिकी दूतावासले तपाईँका सक्कल कागजात निःशुल्क प्रमाणित गर्न सक्छ ।
हामीले प्रदान नगर्ने सेवाहरू
कन्सुलर अधिकृतहरूले अमेरिकामा प्रयोग गर्नका लागि विदेशमा जारी भएका शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि प्रमाणीकरण गर्न सक्दैनन् । त्यसै गरी, उनीहरूले विदेशमा प्रयोग गर्नका लागि अमेरिकी शैक्षिक प्रमाणपत्रहरूको प्रमाणीकरण पनि गर्न सक्दैनन् । यस सम्बन्धमा विस्तृत व्याख्या र पूर्ण निर्देशन विदेश मन्त्रालयको Authentication of American Academic Credentials for Use Abroad पृष्ठमा उपलब्ध छ ।
दूतावासले कुनै पनि अपस्टिल सेवा प्रदान गर्न सक्दैन । अपस्टिलबारे थप जानकारीका लागि यो पृष्ठ हेर्नुहोस् ।
यस्ता कागजातहरूमा महत्त्वपूर्ण अभिलेखहरू (जन्म, विवाह, मृत्यु र सम्बन्ध विच्छेद) तथा शैक्षिक, व्यावसायिक वा अन्य प्रमाणपत्र लगायत पर्दछन् । कन्सुलर अधिकारीहरूसँग यी दस्ताबेज जारी गर्ने कार्यालयका अभिलेख वा ती अभिलेखहरूको संरक्षकको छापमा पहुँच हुँदैन ।
कन्सुलर अधिकारीहरूलाई हस्ताक्षर ग्यारेन्टी/ मेड्यालिअन ग्यारेन्टी सेवा प्रदान गर्ने अधिकार छैन । मेड्यालिअन हस्ताक्षर ग्यारेन्टी कुनै नोटरी सेवा नभएर धितोपत्रसँग सम्बन्धित एक विशेष प्रक्रिया हो जुन युएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (SEC) द्वारा स्वीकृत मेड्यालिअन कार्यक्रममा भाग लिने वित्तीय संस्थाको आधिकारिक प्रतिनिधिद्वारा मात्र गर्न सकिन्छ ।
कृपया सचेत हुनुहोस् कि कन्सुलर अधिकृतले कुनै पनि नोटरी सेवा अस्वीकार गर्न सक्छ यदि :
कृपया कल गर्नुहोस्: 01-4234000
कार्यालय समयबाहेकमा, सम्पर्क गर्नुहोस्: 01-4234000
नेपालबाहिर: +977-1-4234000
आपतकालीन सम्पर्क - सबै स्थानहरू STEP मा नामाङ्कन गर्ने अन्तर्राष्ट्रिय बाल अपहरण अमेरिकी नागरिकको गिरफ्तारी अमेरिकी नागरिकको मृत्यु अपराध पीडित आकस्मिक आर्थिक सहायता