काठमाडौँ, नेपाल – अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का विकास ऋणसम्बन्धी उपाध्यक्ष जिम पोलनले यसै साता लक्ष्मी बैङ्कका साथै नेपालमा दिगो कृषि र खाद्य सुरक्षालाई टेवा पुर्याउने अन्य व्यवसायहरूसँग भेट गर्नुभएको छ । एक भ्रमणको हिस्सा रहेका उक्त भेटहरूमा पोलन र डीएफसीका अधिकारीहरूले नेपाल र यस क्षेत्रमा विकासको प्रवर्द्धन गरिरहेका निजी क्षेत्रका व्यवसायहरूसँग कुराकानी गर्नुभयो ।
हालसालै डीएफसीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु, साना तथा मझौला उद्यमहरूलाई कर्जा प्रदान गर्न पुँजी उपलब्ध गराउन लक्ष्मी बैङ्कलाई ४ करोड ५० लाख अमेरिकी डलरको प्रत्यक्ष ऋण र २५ लाख डलरको ऋण पोर्टफोलियो ग्यारेन्टी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । उक्त ऋण पोर्टफोलियो ग्यारेन्टी उपलब्ध गराउन डिएफसीले अमेरिकी सरकारको विकास नियोग युएसएआइडी-नेपालसँग सहकार्य गरेको थियो ।
आर्थिक वृद्धि र विकासको गति बढाउन डीएफसीले लक्ष्मी बैङ्कका अतिरिक्त नेपालका प्रमुख क्षेत्रहरूमा लघु, साना तथा मझौला व्यवसायलक्षित थप वित्तीय परियोजनाहरूमा सहयोग गर्दै छ । यीमध्ये छन् नेपाली प्रविधि, स्वास्थ्य सेवा र नवीकरणीय ऊर्जा कम्पनीहरूलाई अति आवश्यक वृद्धि पुँजी उपलब्ध गराउन डोल्मा इम्प्याक्ट फन्ड २ मा शेयर लगानी र कोभिड-१९ महामारीका कारण नेपालका लघु, साना र मझौला व्यवसायहरूमा सिर्जित ठुलो वित्तीय खाडललाई सम्बोधन गर्न एनएमबी बैङ्कलाई प्रदान गरिएको १० करोड अमेरिकी डलरको प्रत्यक्ष ऋण ।
हाल नेपालमा डीएफसीको १६ करोड अमेरिकी डलरभन्दा बढीको लगानी छ । साथै, डीएफसी नेपाल र यस क्षेत्रका नयाँ विकास परियोजनाहरूलाई सहयोग गर्दै आफ्नो लगानीको पोर्टफोलियो थप विस्तार गर्ने प्रयासमा छ ।
###
अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) निजी क्षेत्रसँग साझेदारी गरी आजको विकासोन्मुख विश्वले सामना गर्नुपरेका सर्वाधिक महत्त्वपूर्ण चुनौतीहरूका समाधानमा वित्तीय स्रोत उपलब्ध गराउँछ । डीएफसीले ऊर्जा, स्वास्थ्य सेवा, महत्त्वपूर्ण पूर्वाधार र प्रविधिलगायतका विविध क्षेत्रमा लगानी गर्दछ । यसले उदीयमान बजारहरूमा रोजगारी सिर्जना गर्न साना व्यवसाय र महिला उद्यमीहरूलाई पनि वित्तीय स्रोत प्रदान गर्छ । डीएफसीका लगानीहरू उच्च मापदण्डअनुरूप हुन्छन् र वातावरण, मानव अधिकार तथा श्रमिक अधिकारहरूको सम्मान गर्दछन् ।
###