मार्टिन लुथर किङ्ग जुनियर : अहिंसा र अमेरिकी संविधान

राजदूत अलाइना बी. टेपलेट्ज

संयुक्त राज्य अमेरिकाले जनवरी १८ का दिन हामीहरूका सर्वाधिक प्रभावशाली नागरिकमध्ये एक, नागरिक अधिकारका अगुवा रेभरेन्ड डा. मार्टिन लुथर किङ्ग, जुनियरले आफ्नो जीवनकालमा गर्नुभएको काम र उहाँको अद्वितीय विरासतको सम्झना र सम्मान गरेको छ ।

सन् १९९४ मा अमेरिकी कङ्ग्रेसले मार्टिन लुथर किङ्ग दिवसलाई राष्ट्रिय सेवा दिवसका रूपमा तोक्दै अमेरिकीहरूलाई उक्त दिन आफ्ना समुदायको सहयोगमा बिताउन प्रोत्साहित गर्‍यो । फलत: धेरैले मार्टिन लुथर किङ्ग दिवसलाई बिदाको दिन नभई आफ्नो समुदायको सुधारसम्बन्धी कार्यक्रमहरूमा भाग लिने दिनका रूपमा लिन्छन् । विद्यालयमा विद्यार्थीहरूले अमेरिकी नागरिक आन्दोलनको इतिहाससम्बन्धी विशेष पाठ पढ्छन् र आफ्ना अध्यापकहरूसँग मानवअधिकार, नश्‍लीय समानता, जातीय भेदभावसम्बन्धी खुला बहस गर्दै विविधता तथा समावेशीकरणलाई कसरी समर्थन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दछन् ।

यस बिदाले अमेरिकीहरूलाई संविधानको बलमा विगत २४० वर्षदेखि हाम्रो मुलुकले नागरिकका लागि “जीवन, स्वतन्त्रता, र खुशीको खोजी” जस्ता अपरिहार्य अधिकारहरूको प्रत्याभूति सुनिश्‍चित गर्ने दिशामा हासिल गरेको अनुपम उपलब्धिलाई स्मरण गर्ने अवसर प्रदान गर्दछ । यस दिन हामी विगतमा गल्ती भएका छन् र प्रत्येक अमेरिकीका लागि आधारभूत संरक्षण तथा समान अवसर प्रत्याभूत गर्न हामीले अझै परिश्रम गर्नु पर्दछ भन्ने कुरा पनि स्वीकार्छौँ ।

केही हिसाबले मौलिक र केही हिसाबले कम प्रगतिशील दस्तावेजका रूपमा रहेको नेपालको संविधानमाथिको सार्वजनिक बहसले मलाई यस इतिहास र पूर्ण समानतालाई सार्थक बनाउन चालु सङ्‍घर्षको स्मरण गराउँछ । हाम्रा राष्ट्रनिर्माता पुर्खाहरूले संघीयता, शक्ति पृथकीकरण र स्रोत विनियोजन जस्ता केही कठिन विषयवस्तु विरुद्ध सङ्‍घर्ष गरेका थिए । सन् १७९० को दशकमा सर्वाधिक विवादित विषयसमध्ये एक प्रश्‍न थियो: नागरिकका रूपमा कसलाई गणना गर्ने ? सन् १७८९ मा हाम्रो संविधान पारित हुँदा अश्‍वेत दास, अमेरिकाका प्रथम निवासी, महिला तथा अन्यलाई श्‍वेत पुरुष समान अधिकार दिइएको थिएन । यस असमानताले त्यस बेला विद्यमान आचरण तथा अभ्यासहरूलाई प्रतिविम्बित गर्दछ । निकै धेरै वार्ता, एक भयानक गृहयुद्ध, विधायिकी कार्यवाही र हाम्रो संविधानमा तीन पटक संशोधन भएपछि मात्र संयुक्त राज्य अमेरिकामा दासप्रथाको अन्त्य भएको हो र अश्‍वेत अमेरिकीहरूलाई पनि अन्य अमेरिकी नागरिक समान अधिकार र संरक्षण प्रदान गरिएको हो । यस्ता प्रगतिका बाबजुद पनि हाम्रो स्वतन्त्रताको घोषणामा सुस्पष्ट रूपमा प्रस्तुत भई संविधानमा संहिताबद्ध आदर्शहरूलाई हासिल गर्नका लागि हाम्रो मुलुकले बारम्बार सङ्‍घर्ष गरेको छ । धन्य हाम्रो मुलुकको इतिहासको कालखण्डभरिका अमेरिकीहरूले हार खाएनन् र व्यवहारिक रहिरहे ।

नागरिक कार्यवाही र विधायिका प्रक्रियाको मार्गबाट नै हामीले प्रगति हासिल गरेका हौँ । अहिंसात्मक विरोध विधि अपनाउँदै र रचनात्मक, सकारात्मक राजनीतिक क्रियाकलापमा संलग्न हुँदै सन् १९५५ र १९६८ को अवधिमा मार्टिन लुथर किङ्ग, जुनियर अमेरिकामा परिवर्तनका वाहक बन्नुभयो । नागरिक अधिकार आन्दोलनमा सहभागी लाखौँ मानिसहरूको सहयोगमा डा. किङ्गको नेतृत्व र उहाँको सम्बोधन कलाको शक्तिले मानिसहरूलाई यी लक्ष्यहरूतर्फ शान्तिपूर्ण रूपमा अघि बढ्ने साहस दियो, जब कि अन्य केही मानिसहरूले हिंसात्मक आन्दोलन गरिरहेका थिए । नागरिक अधिकारका खातिर गरिएका यस्ता शान्तिपूर्ण विरोधहरूले सामाजिक परिवर्तनका लागि राजनीतिक गति उत्‍पन्न गराए । फलत: अन्यायलाई सम्बोधन गर्ने दुई कानुन बने, जसले अमेरिकामा अझ समान समाजको निर्माणमा सहयोग गरे ।

आज पनि डा. किङ्गको विरासत सान्दर्भिक छ । उहाँले ६० वर्षभन्दा पनि अघि काम थालेयता सामाजिक परिवर्तन ल्याउन र अल्पसङ्ख्यकहरूको अधिकार सुरक्षित गर्न चाहने विश्‍वभरिका मानिसहरू उहाँको सिद्धन्त, उपलब्धि र अझ उहाँको कार्यनीतिप्रति आकर्षित छन् । नेपाल जस्तो विविध जनसङ्ख्या भएको देशमा सबै नागरिक र त्यसमा पनि खास गरी आफूलाई बहिष्कृत महसुस गर्ने नागरिकहरूको प्रतिनिधित्व, संरक्षण र सुनुवाइ सुनिश्‍चित गर्नु निकै ठूलो चुनौती हो, जसलाई परास्त गर्न आवश्यक छ । अमेरिकी अनुभवबाट मलाई के थाहा छ भने वास्तविक सम्मान र समावेशीकरण सुनिश्‍चित गर्नु यस्तो कार्य हो जसलाई गम्भीरतापूर्वक, इमानदारीका साथ र अन्तत: शान्तिपूर्ण रूपमा अघि बढाउनु पर्दछ, जस्तो कि डा. किङ्गले करिब ५० वर्षअघि गर्नुभएको थियो । उहाँले भन्नुभएको छ, “अहिंसा यस्तो शक्तिशाली र न्यायिक हतियार हो, जसले घाइते नबनाइकनै काट्छ र त्यसलाई चलाउने व्यक्तिको उचाइ बढाउँछ ।” विविधताको सम्मान गर्नु हानीसँग नभई उपचारसँग सम्बन्धित छ ।

नयाँ संविधानको पूर्ण कार्यान्वयन रातारात हुँदैन । अमेरिकाको इतिहासमा जस्तै नेपालका सामु लोकतान्त्रिक आदर्श र तिनलाई यस दस्तावेजमा कसरी अभिव्यक्त गरिएको छ भन्नेसम्बन्धी प्रश्‍नहरू छन् । आधारभूत विधायिकी प्रतिनिधित्व र निर्वाचन क्षेत्रसँग सम्बन्धित बहसहरूले विवाद र विरोध प्रदर्शन सिर्जना गरेका छन्, जसमध्ये कुनै घटनाहरू दु:खलाग्दो गरी हिंसात्मक रहेका छन् । धैर्य, अहिंसा तथा शीघ्र सम्झौताको आवश्यकता छ । डा. किङ्गको भावनालाई प्रवाहित गर्दै राष्ट्रपति बाराक ओबामाले हालै आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा भन्नुभयो, “लोकतन्त्र त्यस बेला बिसर्जनको बिन्दुमा पुग्छ, जुन बेला सम्झौताका लागि कुनै इच्छा हुँदैन, वा त्यस बेला जब आधारभूत तथ्यहरूमा समेत विवाद हुन्छ र हामी हाम्रा कुरासँग सहमत हुनेहरूको कुरा मात्र सुन्दछौँ ।”

पहिलेभन्दा पनि अझ धेरै अहिले नेपालमा आपसी सहमतिमा आधारित दीर्घकालीन सम्झौताहरू हासिल गर्नका लागि सबै सरोकारवालाहरूले मिलेर डा. मार्टिन लुथर किङ्ग, जुनियरको इमानदार, रचनात्मक तथा अहिंसात्मक भावनाबाट निर्देशित भई काम गर्नु पर्दछ, ताकि नेपाली जनताहरू एउटा मुलुकका रूपमा सँगसँगै अघि बढ्न सकून् । सन् १९५७ मा लिखित आफ्नो “अहिंसाको शक्ति” शीर्षकको निबन्धमा डा. किङ्गले बल बिनाको विरोध किन सामाजिक परिवर्तन कार्यान्वयन गर्ने उत्कृष्ट तरिका हो भन्ने तर्क गर्नुभएको छ । उहाँले के भन्नुभएको छ भने उहाँका क्रियाकलापहरू समूहहरू बीच साझा थलो भेटाउनका लागि अन्तत: तय गरिएका थिए । उहाँले लेख्‍नुभएको छ, “अहिंसाको परिणाम हुन्छ मेलमिलाप र एउटा प्रिय समुदायको सिर्जना ।” अमेरिकाले पनि नेपालमा एउटा “प्रिय समुदाय” सिर्जना गर्ने दिशामा काम गरिरहेको छ, जुन समुदायले सबै जनताको प्रतिनिधित्व गरोस् र डा. किङ्गले परिकल्पना गरे जस्तो सामाजिक परिवर्तनको फल देओस् ।

प्रकाशित : आरती साप्‍ताहिक, माघ १४, २०७२