निर्वाचन नै पहिलो कदम

राजदूत अलाइना बी. टेपलेट्ज

संसारभर पछिल्लो पच्चीस वर्षमा लोकतान्त्रिक मुलुकहरूको संख्यामा करिब दोब्बर वृद्धि भएको छ । लोकतान्त्रिक मुलुकहरूमा आमनिर्वाचनले सम्पूर्ण मतदातालाई आफ्नो आवाज समान रूपमा प्रस्तुत गर्ने र नेतृत्वलाई सफलता र असफलताप्रति जवाफदेही बनाउने अवसर प्रदान गर्छ । नेपालले करिब एक दसकअघि बृहत् शान्ति सम्झौता (यसै महिना नेपालले सम्झौताको दसौं वार्षिकोत्सब मनाउँदै छ) मार्फत संक्रमणकाल अन्त्य गर्दै समतामूलक लोकतान्त्रिक व्यवस्था स्थापना गर्ने भविष्यको परिकल्पना गरेको थियो ।

यही समानताको आवाजले संयुक्त राज्य अमेरिकामा नागरिक अधिकारको आन्दोलनलाई प्रेरित गरेको थियो र अमेरिकी सरकार ‘जनताको, जनताका लागि, जनताद्वारा हो’ भन्ने भूतपूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको भनाइलाई पनि आश्वस्त गर्छ । जनताको बोली समान रूपमा सुन्ने सरकार विश्वभर नै लोकप्रिय बन्दै गइरहेको छ ।

लोकतन्त्रको सही कार्यान्वयन निर्वाचनबाटै हुन्छ । निर्वाचनले जनतालाई आफ्नो स्वार्थभन्दा पर रहेर समुदाय, क्षेत्र र देशको बृहत्तर हितको ’boutमा सोच्ने मौका प्रदान गर्छ । मेरो देशमा अमेरिकी मतदाताहरूले चाँडै हाम्रो भविष्यको नेतृत्व छनोट गर्दैछौं र साथै निर्वाचनमार्फत स्थानीय निकाय नगर, गाउँपालिका र राज्यलाई निर्देशित गर्ने प्रमुख निर्णयहरूमा पनि आफ्नो विचार प्रकट गर्दैछौं ।

उदाहरणको लागि २०१६ को यस निर्वाचनमा, वासिंटन राज्यका वासिन्दाले स्थानीय कारखानाहरूलाई कार्बन कर लगाउने कि नलगाउने भन्ने’boutमा मतदान गर्दैछन् । उता क्यालिफोर्नियावासी, न्यूनतम पारि श्रमिकमा वृद्धि, सार्वजनिक विद्यालय व्यवस्थापन समितिको नेतृत्व, सूर्तीजन्य पदार्थमा कर वृद्धि र अस्पताल जाँच शुल्क आदि विषयमा मतदान गर्दैछन् ।

आउँदो वर्षमा नेपालले पनि देशको भावी गन्तव्य निर्वाचनहरूकै माध्यमबाट तय गर्नुपर्नेछ । नेपालको पछिल्लो निर्वाचनहरूमा मतदाताको उल्लेखनीय उपस्थितिले म निकै प्रभावित छु । २०१३ मा कुल मतदाताको ७८ प्रतिशतले मतदान गरेका थिए ।

म सम्पूर्ण नेपालीलाई मतदाता सूचीमा नाम दर्ता गर्न र आगामी निर्वाचनहरूमा भाग लिन आग्रह गर्छु । २०१५ मा युनिभर्सिटी अफ सिकागोले नेपालमा गरेको एक जनधारणा सर्वेक्षणले देखाएअनुसार ८४ प्रतिशत नेपाली यहाँका निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने गरेको मान्छन् । यो स्पष्ट नै छ, हामी नेपाल र संयुक्त राज्य अमेरिका–स्वतन्त्र र निष्पक्ष निर्वाचनको महत्वमा विश्वास राख्छौं, जुन नेपाल र अमेरिकाको सम्पन्न निर्वाचन इतिहासले पनि प्रस्ट पार्दछ ।

लोकतान्त्रिक प्रणालीमा मात्रै निर्वाचनले आफ्नो भूमिका पूरा गर्न सक्छ, तर जनताको भोट अपरिहार्य छ । निर्वाचनको माध्यमबाट नागरिकहरूले कुनै पनि मान्यता, नीति र कार्यहरूमाथि आफ्नो समर्थन वा विमति व्यक्त गर्न सक्छन् । तपाईं कस्तो उम्मेदवारलाई समर्थन गर्नुहुन्छ, आफ्नो निर्वाचन क्षेत्रको मात्र हित सोच्ने वा सम्पूर्णको नेपालीको समृद्ध भविष्यप्रति प्रतिबद्ध रहने ?

के तपाईं विमतिका विषयहरूलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने वा भ्रष्टाचार मेरो चासोको विषय होइन भन्ने उम्मेदवारलाई समर्थन गर्नुहुन्छ ? तपाईं भोट केका आधारमा गर्नुहुन्छ, जातजाति वा पार्टी वा उत्कृष्ट विचार, दृष्टिकोण वा मान्यताका आधारमा ? यी निर्णय गर्नको लागि के तपाईं सम्पूर्ण विषय, उम्मेदवार र विकल्पहरूका ’boutमा पूर्ण जानकारी लिनुहुन्छ ?

हामी विदितै छौं कि निर्वाचन र जनताको भोटले मात्रै लोकतन्त्रको पूर्ण कार्यान्वयन हुन सक्दैन । अमेरिकी संविधान लेखन समूहका एक थोमस जेफर्सनले भनेका छन्, ‘नागरिक पूर्ण रूपमा शिक्षित भई सरकारमाथि निगरानी गर्न सक्ने नभएसम्म स्वशासन सम्भव हुँदैन ।’ एउटा जवाफदेही लोकतन्त्र त्यतिबेला प्राप्त हुन्छ जब निर्वाचनपछि पनि नागरिकहरू त्यसपछिका प्रक्रियाहरूमा संलग्न रहिरहन्छन् ।

निर्वाचित जनप्रतिनिधिहरू सरकारको मुख्य कार्यभार सञ्चालनमा व्यस्त रहँदा नागरिकले आफ्ना आवश्यकता र आकांक्षा उनीहरूलाई जानकारी गराउने, जवाफदेहिता र पारदर्शितामा जोड दिने र उनीहरूको कार्य सम्पादनप्रति सचेत गराउने गर्नुपर्छ । लोकतन्त्र, नागरिक र उनीहरूले आफूलाई प्रतिनिधित्व गर्न रोजेको सरकारबीचको सामाजिक सम्झौतामा निर्भर गर्छ । मेरो विचारमा निर्वाचनले नै यो सम्झौतालाई मुख्य रूपमा जोड्ने काम गर्छ ।

जब निर्वाचन सम्पन्न हुन्छ, उम्मेदवारको भूमिका तत्कालै परिवर्तन हुने गर्छ । विजयी उम्मेदवारहरूले आफ्ना समर्थकबीच मात्र सीमित नभई सबै जनताको प्रतिनिधि भई काम गर्नुपर्छ । उनीहरूको सफलता सुझाव दिने काम मात्र नभई राष्ट्रहितमा सरकारले गरेका काममा सहयोग र सहभागितामा निर्भर गर्छ ।

निर्वाचित उम्मेदवारको खराब भूमिका र सरकारमा रहेकाहरूको आलोचनाले राष्ट्रको विकास र आर्थिक उन्नतिमा नकारात्मक प्रभाव मात्र पार्दछ । यसैगरी जब निर्वाचन सकिन्छ, नागरिकहरूको निरन्तर सहभागिताले निर्वाचित जनप्रतिनिधिलाई आफ्नो चुनावी नारा पूरा गर्न र आफूले परिकल्पना गरेको देशको भविष्य यथार्थमा परिवर्तन गर्न दबाब सिर्जना गर्छ ।

अमेरिकी इतिहासमा आफ्नो निर्वाचन क्षेत्रको चासोहरूलाई सम्बोधन नगर्ने धेरै नेतृत्व पछि पराजित भएका प्रशस्त उदहारण छन् । नेपाली उखान ‘नदी तर्ने तर डुंगा बिर्सने’ भने झैं जनप्रतिनिधिहरूले निर्वाचित भइसकेपछि आफूलाई विजयी गराउने डुंगाजस्तै नागरिकहरूलाई बिर्सनु हुँदैन ।

साँच्चै भन्नुपर्दा एउटा जवाफदेही सरकार र यसका संयन्त्र निर्माण गर्नु ठूलो चुनौती हो, जसको लागि पुस्तौंपुस्ता पनि लाग्न सक्छ । राष्ट्रपति ओबामाले भन्नुभएको छ, ‘म एउटा उदारवादी राजनीतिक प्रक्रियामा विश्वास गर्छु, जुन निर्वाचन र जननिर्वाचित सरकारमा मात्र अडेको नभई मानव अधिकार र नागरिक समाजको सम्मान र स्वतन्त्र न्यायपालिका र विधिको शासनले बनेको हुन्छ ।’ यो स्पष्ट छ, यो नै एक उदाहरणीय प्रक्रिया हो, जुन बहुमत नेपालीहरू पनि चाहन्छन् । लोकतान्त्रिक उपलब्धिहरू कहिलेकाहीँ कमजोर पनि हुने गर्छन् ।

राष्ट्रहरू यस्तो परिस्थितिमा एक कदम पछाडि पनि हट्न सक्छन् । बृहत् शान्ति सम्झौतापछिको नेपालको यो एक दसकको यात्रामा केही अप्ठ्यारा बाटोमा आए पनि परिवर्तनहरू सकारात्मक छन् । आगामी वर्ष हुने निर्वाचनहरूले देशलाई आफ्नो लोकतान्त्रिक प्रक्रिया पूरा गर्न, हाल देखिएका विवादहरूको समाधान गर्न, भविष्यको लक्ष्य निर्धारण गर्न र दिगो र समतामूलक विकास निर्माणको लागि आधार तयार गर्न सहयोग गर्छ । यो सफलताको लागि सबैको सहभागिता र प्रतिबद्धताको खाँचो पर्दछ ।

अन्त्यमा, मेरो देशको राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा फेरि पनि म यो स्पष्ट पार्न चाहन्छु कि संयुक्त राज्य अमेरिका नेपाली जनता र यहाँको सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । मलाई विश्वास छ, हामीसँगै मिलेर निर्वाचन र जवाफदेही सरकार जस्ता आधारभूत लोकतान्त्रिक प्रक्रियाका माध्यमबाट नेपालमा शान्ति, स्थिरता र समृद्धिको लागि बलियो आधार निर्माण गर्न सक्नेछौं ।

प्रकाशित : अन्नपूर्ण पोस्ट, कात्तिक २३, २०७३