अमेरिकी दूतावास काठमाडौँ

नेपालस्थित अमेरिकी दूतावासको उद्देश्य नेपाललाई क्षेत्रीय स्थायित्वमा सकारात्मक योगदान पुर्‍याउने सामर्थ्य भएको शान्तिपूर्ण, समृद्ध एवम् लोकतान्त्रिक राष्ट्रको विकासका लागि सहयोग पुर्‍याउनु रहेको छ । यस उद्देश्य प्राप्तिका लागि संयुक्त राज्य अमेरिका मानव अधिकार तथा विधिको शासनको सम्मान लगायतको बहुदलीय लोकतन्त्र तथा दिगो, बजारमुखी एवम् निजी क्षेत्रको अगुवाइ रहेको आर्थिक विकासमा जोड दिन्छ । यसका अलावा प्रति-आतङ्कवाद, शान्तिसुरक्षा, लागुऔषध नियन्त्रण, वातावरण संरक्षण, एड्स तथा अन्य संक्रामक रोगहरूको रोकथाम जस्ता विश्वव्यापी मुद्दाहरूमा दूतावास नेपालको सहयोगको अपेक्षा गर्दछ । युएसएआईडी-नेपालले नेपालको विकासका लागि प्रत्येक वर्ष ८ करोड डलरभन्दा बढी रकम प्रदान गर्दछ भने दूतावास तथा अमेरिकी विदेश मन्त्रालयका अन्य कार्यक्रमहरूको उद्देश्य अमेरिका र नेपालबीचको पारस्परिक समझदारीलार्इ प्रोत्साहन गर्ने रहेको छ । नेपालका लागि राजदूत र्‍यान्डी बेरी हुनुहुन्छ ।