अमेरिकी दूतावासद्वारा संयुक्त उपचार आदानप्रदान कार्यक्रमलाई सहयोग प्रदान

२०७६ साउन ७

अमेरिकी दूतावासले साउन ६ देखि १० गतेसम्म चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा अमेरिकी सेनाका सदस्य र सशस्त्र प्रहरी बल, नेपालका १८ जना सदस्यलाई भेला गराई प्राथमिक उपचारकसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान गराएको छ । अमेरिकी सैनिक र सशस्त्र प्रहरी बलबिच सम्पन्न भएको यस प्रकारको यो दोस्रो अभ्यास हो । यसअघि २०७५ चैत २५ देखि २९ गतेसम्म सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा पहिलो अभ्यास सञ्‍चालित भएको थियो ।

उक्त विषयविद् आदानप्रदान कार्यक्रममा दुर्घटनाका घाइतेहरूको मूल्याङ्कन, च्यापिएर घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी नियम, विपद् दुर्घटनाको परिदृश्य, र गम्भीर घाइते बिरामीहरूको उपचारको वर्गीकरण लगायतका विषय समेटिएको छ । आआफ्नो बृहत् ज्ञान र प्रशिक्षण अनुभवको सदुपयोग गर्दै दुवै पक्षले एकार्काको विपद्सम्बन्धी पहिलो उपचारक क्षमता सुधारका लागि उत्कृष्ट अभ्यास तथा विचार आदानप्रदान गरेका छन् ।

विषयविद् आदानप्रदान कार्यक्रम अमेरिकी इन्डो प्यासिफिक कमान्ड (इन्डोपेकोम) र सशस्त्र प्रहरी बलबिचको साझेदारीको एक उदाहरण हो । सुरक्षा सहयोगको प्रवर्द्धन, शान्तिपूर्ण विकासको प्रोत्साहन, आकस्मिक घटनाको प्रतिकार्य, र हिंसात्मक घटनाको निवारणमार्फत अमेरिकी इन्डोपेकोम क्षेत्रीय स्थायित्वलाई बढावा दिनप्रति कटिबद्ध छ । “नेपाली र अमेरिकी फौजले आपसी सहकार्यमा एकार्काको पहिलो प्राथमिक उपचारक क्षमता कसरी वृद्धि गर्न सक्दा रहेछन् भन्ने कुरा यस आदानप्रदान कार्यक्रमबाट प्रदर्शित भएको छ,” इन्डोपेकोमका एक सहभागी एसएसजी नेथन ग्रीनले भन्नुभयो ।

###