२०७९ फागुन १७, काठमाडौँ । अमेरिकी नागरिक र निजी उद्यमहरूप्रति लक्षित एक बृहत् ठगी योजनाअन्तर्गत ४० लाख अमेरिकी डलर (करिब ५३ करोड रुपैयाँ) भन्दा बढीको चोरी गरेको आरोपमा पृथ्वी शाह र उनका सहयोगीहरूविरुद्ध आज नेपाल प्रहरीले आपराधिक उल्लङ्घनको थप प्रमाण अभियोक्ताहरू समक्ष पेस गरेको छ ।
अमेरिकी नागरिकहरूलाई झुक्क्याई निज पृथ्वी शाहद्वारा नियन्त्रित बैङ्क खाताहरूमा अनजानमै रकम स्थानान्तरण गराउने उक्त सम्भावित योजनाबारे सन् २०२१ मा र २०२२ भर अमेरिकी अर्थ मन्त्रालय मातहतको वित्तीय अपराध नियन्त्रणसम्बन्धी निकायले नेपालको वित्तीय गुप्तचर इकाईलाई सूचित गरेको थियो । अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) र अमेरिकी दूतावासले शाह र उनका सहयोगीहरू सङ्गठित अपराधमा संलग्न रहेको देखाउने थप प्रमाण सङ्कलन गर्न सहयोग पुर्याएका थिए । नेपाल पुलिसको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पृथ्वी शाह र निजका ६ सहयोगीहरूलाई सन् २०२३ को जनवरीमा पक्राउ गरेको थियो ।
नेपाल प्रहरी र अमेरिकी कानुन प्रवर्तन निकायबिचको सहयोगले सकारात्मक नतिजा ल्याएको यो पहिलो पटक भने होइन । अन्य नतिजाहरूमा बाल यौन शोषणका मुद्दाहरूको पहिचान र अभियोजन गर्ने र अवैध लागुऔषध तस्करीबारे सूचना आदानप्रदान गर्ने लगायत छन् । यस मुद्दामा सीआईबी र एफबीआईले उक्त योजनाबारे संयुक्त रूपमा अनुसन्धान गर्न जारी राख्नेछन् र ठगी भएको रकम पीडितहरूले फिर्ता पाउने पनि सुनिश्चित गर्नेछन् ।