गद्दी बैठक सर्वसाधारणका लागि खुला

१० मङ्सिर २०७६

काठमाडौँ – अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त रूपमा काठमाडौँ दरबारक्षेत्रमा आयोजित एक समारोहका बिच हालसालै पुनर्स्थापित गद्दी बैठकलाई निर्देशित भ्रमणका निम्ति सर्वसाधारणका लागि खुला गर्नुभएको छ ।

गद्दी बैठक दरबार सन् १९०८ देखि नै उक्त दरबारक्षेत्रको चिनारी रही आएको भए तापनि यो अवसर भने इतिहासमै पहिलो हो । यो दरबार सर्वसाधारणका लागि पहिले कहिल्यै खुला गरिएको थिएन । यसको मुख्य कक्ष निर्देशित भ्रमणका लागि उपलब्ध हुनेछ भने यसको भुईँ तलामा एक सङ्ग्रहालय रहनेछ । यसै वर्षको केही समयपछि खुल्ने उक्त सङ्ग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्त्विक वस्तु रहेका छन् । निर्देशित भ्रमणहरूमा सहभागीताका लागि तोकिएको प्रवेश जाँच-स्थलमा पूर्व दर्ता आवश्यक हुनेछ । यी भ्रमणले नेपाल भ्रमण वर्ष २०२० (#VisitNepal2020) कै अवसर पारेर नेपाली र विदेशी पर्यटकहरूलाई गद्दी बैठकको मजा लिने अवसर दिनेछन् ।

महाभूकम्पपछिका पुनर्लाभ कार्यप्रति अमेरिकी सरकारको निरन्तर प्रतिबद्धताको एक अंश स्वरूप, अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) ले गद्दी बैठक र प्रवेशद्वार भवनलाई संरचनात्मक रूपमा सुदृढ बनाउन कुल ९ लाख अमेरिकी डलर बराबरको दुई अनुदान प्रदान गरेको हो । यी दुवै भवन तिनका मूल भव्यतामा पुनर्स्थापित भएका मात्र नभई भविष्यमा आइपर्न सक्ने प्राकृतिक विपद्हरूबाट अब अझ बढी उत्थानशील र आउँदा धेरै पिँढीले आनन्द लिन सक्ने बनेका छन् ।

# # #