Flag

An official website of the United States government

अमेरिकाद्वारा मकवानपुरमा पुनर्निमित स्वास्थ्य चौकी उद्घाटन
2 MINUTE READ
मे 17, 2022

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग युएसएआईडी-नेपालकी प्रमुख सेपिडे केभान्शाडका साथ हिजो मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।

वि. सं. २०७२ सालको महाभूकम्पबाट प्रभावित जिल्लाहरूमा २९ वटा स्थायी विद्यालय र सात वटा स्वास्थ्य सेवा संरचनाहरूको पुनर्निर्माणमा अमेरिकी सरकारले युएसएआईडीमार्फत नेपाल पुनर्निर्माण प्राधिकरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको हो ।  यो कार्यक्रमसँगै काठमाडौँ उपत्यकाबाहिर युएसएआईडीद्वारा गरिएको भूकम्पपछिको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै राजदूत बेरीले भन्नुभयो, “सबैभन्दा बढी अभावमा रहेका नेपाली जनताको स्वास्थ्य सेवा र शिक्षामा पहुँचलाई अमेरिकी सरकारले प्राथमिकतामा कायम राखेको छ । यसै प्रतिबद्धताको एक हिस्सा स्वरूप मकवानपुरका सर्वाधिक विकट क्षेत्रमध्ये एकमा  यस स्वास्थ्य चौकीको निर्माण गर्न हामीले नेपाल सरकारसँग साझेदारी गर्‍यौँ, जसले सबैभन्दा विपन्न समुदायहरूमध्ये एकलाई फाइदा पुर्‍याउने छ । यसले चिरस्थायी मित्रता र अझ सुरक्षित नेपालको पुनर्निर्माणमा मद्दत गर्न अमेरिकी जनताको निरन्तर सहयोग दर्साउँछ ।“

वि. सं. २०७२ को महाभूकम्पपश्चात्‌को प्रतिकार्य तथा पुनर्लाभमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ । हाम्रो सहयोगले बालबालिका र परिवारहरूलाई स्वास्थ्य सेवा तथा शिक्षा प्राप्ति जारी राख्‍न सक्षम बनाएको छ । हामीले भौतिक पूर्वाधार मात्रभन्दा धेरै बनाएका छौँ, जसको प्रतीक यस स्वास्थ्य चौकीले प्रस्तुत गरेको छ । यस भवनले नेपालको प्रत्येक परिवार गुणस्तरीय स्वास्थ्य सेवा र सो सेवा प्राप्‍त गर्न सुरक्षित स्थानको हकदार होउन् भन्ने सुनिश्चित गर्नका निम्ति युएसएआईडी र नेपाल सरकारबिच रहेको सहकार्य प्रदर्शन गर्दछ ।

यी संरचनाहरूले दुई लाख ४० हजारभन्दा बढी नेपालीलाई लाभ पुर्‍याएसँगै, यस हस्तान्तरणले सुरक्षित पुनर्निर्माण गर्न र नेपालका बालबालिका तथा परिवारहरूका निम्ति गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्नमा नेपाल सरकारलाई सहयोग गर्न अमेरिका निरन्तर कटिबद्ध रहेको देखाउँदछ । अमेरिकाको नेपालसँग ७५ वर्षदेखि मजबुत र चिरस्थायी साझेदारी रहिआएको छ र हामी हाम्रो मित्रतालाई निरन्तरता दिन तत्पर रहेका छौँ ।

थप जानकारीका लागि हेर्नुहोस्: https://www.usaid.gov/nepal

###