रोजगारमा समान अवसर एवम् समावेशिता

नेपाली समाजमा रहेको विविधतालार्इ प्रतिविम्बित गर्ने गरी उच्च योग्य एवम् दक्ष जनशक्ति विकास गर्ने नेपालस्थित अमेरिकी दूतावासको उद्देश्य रहेको छ । समान रोजगारको अवसर तथा समावेशिता अमेरिकी मूल्यमान्यतामा निहित कुरा हुन् र रोजगारका सम्बन्धमा यी मूल्यमान्यतालाई अवलम्बन गर्नु भनेको वचनलाई व्यवहारमा उतार्नु सरह हो ।

दूतावास समावेशी जनशक्तिको नियुक्ति, तालिम, मेन्टोरिङ्ग एवम् त्यस्तो जनशक्ति कायम राख्न प्रतिबद्ध छ । उक्त लक्ष्य प्राप्तिका लागि दूतावास सीमान्तकृत समुदायका दक्ष व्यक्तिहरूलाई नियुक्ति गर्नेतर्फ सकारात्मक विभेदको नीति अनुशरण गर्दछ । हामी त्यस्तो कार्यस्थल सुनिश्चित गर्ने तर्फ प्रयासरत छौं जहाँ सबै कर्मचारीहरूलाई सम्मानका साथ व्यवहार गरिन्छ र उनीहरूको हर योगदानको कदर हुन्छ ।

समावेशी जनशक्ति स्थापना तथा कायम गर्नका निम्ति कर्मचारी वा रोजगारका आवेदकहरूलार्इ जाति, रङ्ग, राष्ट्रियता, वंशज, लिङ्ग, उमेर, धर्म, अपाङ्गता, यौनिक अभिमुखीकरण, वैवाहिक वा अन्य वर्गीय हैसियतका आधारमा भेदभाव गरिँदैन । समान रोजगारको अवसर तथा समावेशितासम्बन्धी हाम्रो कार्यक्रमले समाविष्ट गरेका नीतिहरू कार्यान्वयन एवम् उद्देश्य प्राप्तितर्फ उन्मुख रही कार्य गर्न सबै तहका कार्मचारीहरूलाई आग्रह गरिन्छ ।