अमेरिकी दूतावासको इन्नोभेसन हबमा “मेकर स्पेस” को स्थापना

२०७३ साउन १३ 

काठमाडौँ – अमेरिकी दूतावासले आज टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको भवनमा दूतावासको सहयोगमा सञ्‍चालित इन्नोभेसन हबमा एक नयाँ मेकर स्पेस स्थापना गरेको छ । “मेकर स्पेस” त्यो स्थल हो, जहाँ स्रोत र ज्ञान साटासाट गर्नका लागि मानिसहरू भेला हुन्छन् र जसले अनौपचारिक तथा सिर्जनशील वातावरणमा व्यावाहारिक सिकाइलाई बढावा दिन्छ ।

अमेरिकी दूतावासले प्रविधि-केन्द्रित स्थान प्रदान गरी उद्यमशीलतालाई प्रोत्साहन गर्नका लागि मेकर स्पेसको स्थापना गरेको हो । यहाँ नेपाली युवा प्रवर्तक र उद्यमीहरूले सिर्जनशीलताको संस्कारको खोजीनिती र विकास गर्नुका साथै अनौपचारिक वातावरणमा एकअर्काबाट सिक्न सक्छन् । थ्री डी प्रिन्टर र लेजर कटर लगायतको प्रविधिले युक्त यस स्थानले उद्यमीहरूलाई नयाँ उत्पादन डिजाइन र निर्माण गर्ने अवसर प्रदान गर्नेछ ।

“विश्‍वभरका हाम्रा अमेरिकन स्पेसहरूमा मेकरस्पेसहरू गतिशील नवसदस्य हुन् । यस स्पेसले नेपाली विद्यार्थी, उद्यमी र नागरिकहरूलाई लगभग सबै कुरा डिजाइन, निर्माण र उत्पादन गर्नका लागि आधुनिक औजारहरूमा पहुँच दिलाउनेछ,” अमेरिकी विदेश मन्त्रालयस्थित अन्तर्राष्ट्रिय सूचना कार्यक्रम (आईआईपी) सम्बन्धी ब्युरोका संयोजक मेकन फिलिप्सले भन्नुभयो । “हाम्रो मेकरस्पेस प्रयोग गरेर नेपालबाट धेरै युवा उद्यमीहरू उदाएको देख्‍न पाउनेछौँ भन्ने हामीलाई आशा छ ।”

टेकुस्थित इन्नोभेसन हब अमेरिकन स्पेसले नेपालीहरूलाई वस्तुगत सूचनामा नि:शुल्क पहुँच दिलाउँछ । साथै यो उद्यमीहरूका लागि भेटघाट गर्ने र व्यवसायसम्बन्धी आफ्ना नयाँ विचारहरूमा काम गर्ने स्थान पनि हो । नेपालमा रहेका आठमध्ये छ वटा अमेरिकन स्पेसहरू राजधानी बाहिर अवस्थित छन् र तिनले स्थानीय बासिन्दालाई अमेरिकी संस्कृति तथा आदर्शसँग परिचित गराउने स्थलको रूपमा काम गरेका छन् ।

यस मेकर स्पेसको सञ्‍चालनका लागि सिकाइप्रति पृथक विचार सहितको शैक्षिक कम्पनी कारखानासँग अमेरिकी दूतावासले सहकार्य गर्ने भएको छ । इन्जिनियर, डिजाइनर, कलाकार, वैज्ञानिक लगायतका कारखानाका शिक्षकहरूले यस स्थानलाई आविष्कार गर्ने प्रयोगशालामा परिणत गरेका छन् ।

###