नेपालसम्बन्धी अमेरिकाको व्यापार ग्राह्यता कार्यक्रमसम्बन्धी जानकारीका लागि म्याक्सट्रेड युएसए कार्यक्रम आयोजित

२०७४ वैशाख ८

काठमाडौँ – नेपाली हस्तकला उत्पादक, निर्यातकर्ता तथा व्यवसायहरूले अमेरिकामा निर्यात गरिने निश्‍चित नेपाली वस्तुहरूको हकमा प्रदान गरिएका व्यापारसम्बन्धी नयाँ छुटसुविधाहरूबाट कसरी लाभ लिन सक्छन् भन्ने विषयमा वरिष्‍ठ सरकारी अधिकारी तथा निजी क्षेत्रका विज्ञहरूले स्पष्‍ट पारेका छन् । अमेरिकी दूतावासले आयोजना गरेको र नेपाल सरकार वाणिज्य मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासंघको सहभागिता रहेको म्याक्सट्रेड युएसएले आर्थिक क्षेत्रका विभिन्न व्यक्तिहरूलाई एक ठाउँमा भेला गराएको छ । उनीहरू नयाँ भन्सारछुट कार्यक्रमको विषयमा थाहा पाउनका साथै यस अन्तर्गत कुन वस्तुहरू योग्य छन् र यस कार्यक्रमलाई प्रयोग गरी नेपालमा व्यापारलाई कसरी प्रवर्द्धन सकिन्छ भन्ने विषयमा जानकारी हासिल गर्न जम्मा भएका हुन् ।

छुटसुविधाका लागि योग्य वस्तु अमेरिका निर्यात गर्दै आएका नेपाली उत्पादकहरू सम्मिलित प्यानल छलफलमा आर्थिक लाभका सम्भावना तथा अवसरहरूमाथि चर्चा गरियो । कार्यक्रममा नयाँ कानुन अन्तर्गत अमेरिकी बजारमा भन्सारछुट प्राप्‍त गर्ने वस्तुका नमूना समेत प्रदर्शनीमा राखिएको थियो ।

माननीय वाणिज्य मन्त्री रोमी गौचन थकाली तथा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले कार्यक्रममा आआफ्ना मन्तव्य राख्दै अमेरिका र नेपालबीचको आर्थिक साझेदारीका सबल पक्षहरूमाथि प्रकाश पार्नुभयो । “हाम्रो दौत्य सम्बन्धको आर्थिक स्तम्भ बलियो छ र अझै बलियो बन्दैछ,” राजदूत टेपलेट्जले भन्नुभयो । “नेपालसम्बन्धी व्यापार ग्राह्यता कार्यक्रम हाम्रा दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउने बाटो हो ।”

सन् २०१५ को अमेरिकी व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयनसम्बन्धी ऐन २०७३ मङ्‌सिर ३० गते देखि लागु भएको हो । नेपालकेन्द्रित यो कार्यक्रम सन् २०२५ सम्मका लागि स्वीकृत गरिएको छ र यसले नेपाललाई २०७२ सालको भूकम्पपछिको आर्थिक पुनरुत्थानमा सहयोग गर्नेछ । यस कार्यक्रम अन्तर्गत निश्‍चित प्रकारका गलैँचा, झोला, शिरपोस, शल, स्कार्फ, छाला तथा भ्रमण सामग्री लगायतका नेपाली निर्यात वस्तुलाई नयाँ भन्सारछुट सुविधा प्रदान गरिएको छ । यसअघि यस्ता निर्यात वस्तुलाई अमेरिकी बजारमा अन्य सुविधा वा छुटको व्यवस्था थिएन । यस नयाँ कार्यक्रमले नेपालसँग व्यापार विस्तार गर्नका लागि अमेरिकाको थप प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ ।

# # #