एमसीसीका जोनाथन ब्रुक्स नेपाल भ्रमणमा

२०७६ माघ २४

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स माघ २४ देखि २७ गतेसम्म काठमाडौँ भ्रमणमा हुनुहुन्छ । नेपालसँगको साझेदारीको हिस्सास्वरूप नियमित तथा जारी परामर्शका लागि उहाँ आउनुभएको हो । भ्रमणका क्रममा उहाँले एमसीसी र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) का कर्मचारी, अर्थ मन्त्रालयबाट नवनियुक्त एमसीए-नेपाल सञ्‍चालक समितिका अध्यक्ष र नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री लगायत सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ । सन् २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पुरा गर्ने देशहरूलाई आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नका निम्ति समय-सीमित अनुदान प्रदान गर्दछ । नेपाल र अमेरिकाबिच २०७४ भदौमा नेपालका लागि ५० करोड अमेरिकी डलरको अनुदान सहमतिमा हस्ताक्षर भएको थियो । दक्षिण एसियाकै पहिलो उक्त सहमति सरकार, नागरिक समाज र अन्य सरोकारवालाहरूसँग परामर्शको प्रक्रिया अपनाएपछि गरिएको थियो ।