मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच कम्प्याक्ट डेभलपमेन्टसम्बन्धी छलफल

२०७२ फागुन २१

अमेरिकी सरकारको मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसीसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्‍ता नेपालको भ्रमण गर्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय कुमार गच्छदार, अर्थमन्त्री बिष्णु पौडेल र ऊर्जा सचिव सुमन प्रसाद शर्मा लगायत प्रमुख सरकारी अधिकारीहरूसँगका बैठकमा नेपाल सरकार तथा एमसीसीबीच विद्युत् तथा यातायात क्षेत्रमा गर्न सकिने लगानीको खोजीनिती गर्ने सहमति भएको छ । भ्रमणका क्रममा सुमारले नेपालको नागरिक समाज तथा व्यापारिक समुदायसँग समेत भेटघाट गर्नुभएको छ । 

आगामी वर्ष एमसीसीले विद्युत् तथा यातायात क्षेत्रभित्रका निश्‍चित परियोजनाका विकल्पसम्बन्धी विस्तृत मूल्याङ्कन सञ्‍चालन गर्नेछ । विद्युत् क्षेत्रमा प्रस्तावित परियोजनाहरू प्रसारणका व्यवधानलाई न्यूनीकरण गर्दै विद्युत् वितरणमा सुधार ल्याउन र उत्पादनका अन्य क्षेत्रहरूमा सुधार ल्याउनतर्फ केन्द्रित छन् । यातायात क्षेत्रमा प्रस्तावित परियोजनाहरू सडकको मर्मतसम्भार, पुनर्स्थापना तथा अत्यावश्यक सत्तरोन्नतिको मिश्रणतर्फ केन्द्रित छन् । एमसीसीको सम्भाव्यता अध्ययन तथा मूल्याङ्कनको नतिजाका आधारमा अन्तत: कुन परियोजनाहरूलाई अघि बढाउने भन्ने कुरा निर्धारण गर्न एमसीसीले मिल्लेंनियम च्यालेन्ज नेपालको कार्यालयमार्फत नेपाल सरकारसँग सहकार्य गर्नेछ । 

नेपालका लागि एमसीसीको कम्प्याक्ट कार्यक्रमको आकारसम्बन्धी अन्तिम निर्णय गरिएको छैन । एमसीसीको लगानीसम्बन्धी मापदण्ड पूरा गर्ने परियोजनाहरू र उपलब्ध रकमका आधारमा उक्त आकार निर्धारण हुनेछ । प्रस्तावित परियोजनाको पूर्ण विश्‍लेषण गरी एमसीसीको सञ्‍चालक समितिसमक्ष पेश भई सञ्‍चालक समितिले स्वीकृति प्रदान गरेपछि मात्र कम्प्याक्ट कार्यक्रम तथा कोषको रकमसम्बन्धी अन्तिम निर्णय गरिन्छ । 

प्रस्तावित लगानीको सफलताका लागि वातावरण निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्न एमसीसी प्रतिबद्ध रहेको बताउँदै गर्दै सुमारले भन्नुभयो, “यो थोरै मात्र देशहरूले पाउने अवसर हो र यसप्रति नेपालले गौरव गर्नुपर्छ । यो १००% अनुदान सहयोग हो । यो कुनै ऋण, कर्जा वा सहुलितपूर्ण सापटी होइन । यो अमेरिकी करदाताको अनुदान सहयोग हो, जसले लोकतान्त्रिक अधिकार, असल शासन, आर्थिक स्वतन्त्रता र जनतामा लगानीको सिद्धान्तलाई अपनाउने देशहरूलाई पुरस्कृत गर्दछ ।”

एमसीसीको सञ्‍चालक समितिले सन् २०१४ को डिसेम्बरमा नेपाललाई कम्प्याक्ट कार्यक्रमका लागि योग्य देशका रूपमा छनोट गरेको हो । एमसीसी एक नवीनतम र स्वतन्त्र अमेरिकी वैदेशिक सहयोग नियोग हो, जसले आर्थिक वृद्धिमार्फत विश्‍वव्यापी गरिबीविरुद्धको सङ्‌घर्षको नेतृत्व गर्न सघाइरहेको छ । अमेरिकी कंग्रेसद्वारा सन् २००४ मा गठित एमसीसीले असल नीति, मुलुकको अपनत्व र प्रतिफलमा केन्द्रित रहेका देशहरूलाई समय-सीमित अनुदान तथा सहायता प्रदान गर्दछ ।

###