नेपालमा मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसनको कार्यक्रम अघि बढ्दै

२०७३ असोज १०

काठमाडौँ – अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) ले विद्युत् क्षेत्रका विभिन्न परियोजनासम्बन्धी सम्भाव्यता अध्ययनहरू सुरु गर्ने घोषणा गरेको छ । एमसीसी कार्यक्रमको विकासक्रमलाई समन्वय गरिरहेको मिल्लेन्नियम च्यालेञ्‍ज नेपालको कार्यालय (ओएमसीएन) नामक नेपाल सरकारको कार्यलयले उक्त परियोजनाहरू प्रस्तावित गरेको हो । ती सम्भाव्यता अध्ययनहरू जुलाई २०१६ मा एमससी र नेपाल सरकारबीच हस्ताक्षर भएको १ करोड अमेरिकी डलरको कम्प्याक्ट विकास अनुदान कोषसम्बन्धी सहमतिका हिस्सा हुन् । अध्ययनहरूले एमसीसीको कम्प्याक्ट कार्यक्रम विकास प्रक्रियाको जगको रूपमा काम गर्दै एमसीसीले भविष्यमा आर्थिक सहायता प्रदान गर्नसक्ने समग्र कार्यक्रमको साइज, स्कोप र उपयुक्ततासम्बन्धी विस्तृत जानकारी दिनेछन् ।

“नेपालको विद्युत् र सडक यातायात क्षेत्रका पूर्वाधारसम्बन्धी अति गम्भीर आवश्यकताहरूलाई प्राथामिकीकरण गर्नका लागि एमसीसी र नेपाल सरकारले सहकार्य गरेका छन्, जसलाई तिनीहरूको संयुक्त विश्‍लेषणमा आर्थिक वृद्धिका मुख्य बाधकका रूपमा पहिचान गरिएको छ,” नेपालका लागि एमसीसीका देशीय निर्देक हिमेश ढुंगेलले भन्नुभयो । “विद्युत् परियोजनासम्बन्धी सम्भाव्यता अध्ययनको सुरुआत नेपाल सरकार र एमसीसीद्वारा हासिल गरिएको महत्त्वपूर्ण कोसेढुङ्गा हो, जसले तिनीहरूलाई पाँच-वर्षीय कम्प्याक्ट कार्यक्रम विकास गर्ने दिशामा अगाडि बढ्न सक्षम बनाउनेछ । नेपाल सरकार तथा अन्य इच्छुक पक्षहरूको पूर्ण सहयोगको फलस्वरूप कार्यक्रम बेलैमा तर्जुमा भई सन् २०१७ मा एमससीको सञ्‍चालक समिति समक्ष स्वीकृतिका लागि पेश गरिने आशा गर्न सकिन्छ ।”

###

मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) आर्थिक विकासमार्फत विश्‍वव्यापी विपन्नताको न्यूनीकरणका लागि कार्यरत एक स्वतन्त्र अमेरिकी सरकारी निकाय हो । सन् २००४ मा स्थापित एमसीसीले भ्रष्टाचार विरुद्ध सङ्‍घर्ष गर्नेदेखि लोकतान्त्रिक अधिकारको सम्मान गर्नेसम्मका सुशासनका कडा मापदण्ड पूरा गर्ने छानिएका केही विकासोन्मुख देशहरूलाई समय-सीमित अनुदान र सहायता प्रदान गर्दछ । एमसीसीसम्बन्धी थप जानकारी www.mcc.gov बाट र नेपाल कार्यक्रमसम्बन्धी थप जानकारी English (PDF 95KB) Nepali (PDF 41KB)बाट प्राप्‍त गर्न सकिन्छ ।