नेपाल तथा अमेरिकाद्वारा “सिस्टर पार्क” सम्बन्ध स्थापित

Denali, named Mount McKinley from 1917 until 2015, is the highest mountain peak in North America. Located in the Alaska Range in the interior of the U.S. state of Alaska, Denali is the centerpiece of Denali National Park and Preserve. Photo by Carol M. Highsmith.

२०७३ जेठ २१

नेपालका चितवन, लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्‍ज तथा संयुक्त राज्य अमेरिकाको योसेमिटी राष्ट्रिय निकुञ्‍जबीच “सिस्टर पार्क” (निकुञ्‍जबीचको मितेरी साइनो) सम्बन्ध गाँसिएको घोषणा गर्न पाउँदा अमेरिकी राजदूतावासलाई खुसी लागेको छ । प्रदूषण, आक्रामक प्रजाति, वनस्पति तथा पशुरोग र लोपोन्मुख सांस्कृतिक सम्पदा जस्ता साझा समस्याहरूलाई सम्बोधन गर्नका लागि सूचना आदानप्रदान तथा निकुञ्‍जहरूबीच प्रत्यक्ष सम्पर्क वृद्धि गरी यी निकुञ्‍जहरूको आपसी लाभका लागि द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने गरी निकुञ्‍जहरूबीचको साइनो तय गरिएको हो ।

“सिस्टर पार्क” को सहमतिले साझा शोध र अनुगमनसम्बन्धी सहकार्यका लागि समेत मञ्‍च प्रदान गर्दछ भने अन्तर्राष्ट्रिय आदानप्रदानमार्फत निकुञ्‍जका कर्मचारीहरूलाई अनुभव र प्रशिक्षणका हिसाबले समृद्ध बनाउँछ । २०२९ जेठ २३ मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा स्थापित विश्‍व वातावरण दिवस नजिकिँदै गर्दा हाम्रा दुई देशका लागि यो सम्बन्ध विशेष महत्त्वपूर्ण वातावरणीय कोशेढुङ्गा हो ।

यस सहमतिमार्फत चितवन, लाङटाङ, सगरमाथा र योसेमिटीले प्राकृतिक तथा सांस्कृतिक स्रोतको संरक्षण तथा पुनर्स्थापना, आगन्तुक शिक्षा तथा सुरक्षा, जलवायु परिवर्तनको अनुकूलनसम्बन्धी रणनीति विकास, साझेदारी संलग्नता रणनीतिका लागि सहकार्य गर्नेछन् भने निकुञ्‍जहरूलाई संरक्षण र जगेर्ना गर्नका लागि आवश्यक शोध कार्यान्वयन गर्नेछन्, सूची तयार पार्नेछन् र कार्यक्रमको अनुगमन गर्नेछन् ।

“योसेमिटी, लाङटाङ र सगरमाथा विविध पर्यायवरणीय समुदाय, अपार प्राकृतिक स्रोत र शदियौँको मानव इतिहासलाई समर्थन गर्ने चमत्कारपूर्ण पर्वतीय शृङ्खलामा अवस्थित छन्,” नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भन्नुभयो। “दुवै देशका निकुञ्‍जहरू आफ्ना छिमेकी समुदायका लागि बलिया आर्थिक इन्जिन समेत हुन् । तर विकास, अवैध क्रियाकलाप, जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनका कारण तिनीहरूले बढ्दा चुनौतीहरू भोगिरहेका छन् ।”

विश्‍व वातावरण दिवसले संसारभरका करोडौँ मानिसहरूलाई एकजुट गरी चुस्त र दिगो संरक्षणको महत्त्वलाई अङ्गीकार गर्ने क्रियाकलापहरूमा संलग्न गराउँदछ ।

###