Flag

An official website of the United States government

1 MINUTE READ
मार्च 11, 2022
नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार २०२२ बाट सम्मानित

काठमाडौँ – अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आईडब्ल्यूओसी) २०२२’ एलजीबीटीक्यूआई+ समुदायको जीवनमा सुधार ल्याउने कार्यप्रतिको समर्पणका लागि भूमिका श्रेष्ठलाई प्रदान गरिने उद्घोष गर्न पाउँदा नेपालस्थित अमेरिकी दूतावासलाई खुसी लागेको छ । उक्त पुरस्कार नेपालीले प्राप्त गरेको यो लगातार दोस्रो वर्ष हो । गत वर्ष यो पुरस्कार एसिड हमलाविरुद्धको कार्यका लागि मुस्कान खातुनले प्राप्त गर्नुभएको थियो ।

वार्षिक रूपमा हुने आईडब्ल्यूओसी पुरस्कार कार्यक्रमको आयोजना अमेरिकी विदेश मन्त्री एन्टोनि जे. ब्लिङ्कनले एक भर्चुअल समारोहमार्फत गर्नुहुनेछ । फागुन ३० गते सोमबार नेपाली समयानुसार साँझको ७:४५ बजे www.state.gov मा प्रत्यक्ष प्रसारित हुने उक्त कार्यक्रममा अमेरिकी प्रथम महिला डा. जिल बाइडनले मन्तव्य व्यक्त गर्नुहुनेछ ।

हाल १६ औँ वर्षमा रहेको र अमेरिकी विदेश मन्त्रीद्वारा प्रदान गरिने आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागसहित शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समता तथा समानता, र सबै खाले विविधतासहितका महिला तथा किशोरीहरूको सशक्तीकरणको वकालत गर्ने असाधारण साहस, शक्ति र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ । सन् २०२२ को आईडब्ल्यूओसी पुरस्कार समारोहमा सबैका निम्ति उज्ज्वल भविष्य निर्माण गर्न कार्यरत विश्वभरका बाह्र जना असाधारण महिलाहरूको सम्मान गरिनेछ । सन् २००७ को मार्च महिनादेखि हालसम्म अमेरिकी विदेश मन्त्रालयले ८० भन्दा धेरै देशका १७० भन्दा बढी महिलाहरूलाई आईडब्ल्यूओसी पुरस्कारबाट सम्मानित गरिसकेको छ । उपर्युक्त भर्चुअल समारोहपश्चात् पुरस्कार विजेताहरू आफ्ना अमेरिकी समकक्षीहरूसँग सम्पर्क बनाउन र महिला नेतृत्वको विश्वव्यापी सञ्जाल सुदृढीकरण गर्न अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम (आईभीएलपी)  अन्तर्गत भर्चुअल एक्सचेन्जमा सहभागी हुनेछन् ।

###