Flag

An official website of the United States government

नेपाल र अमेरिकाद्वारा नयाँ पञ्च-वर्षीय विकास सहायता सम्झौतामा हस्ताक्षर
1 MINUTE READ
मे 5, 2022

काठमाडौँ, २०७९ वैशाख २२: नेपाल सरकारले अर्थ मन्त्रालयमार्फत आज संयुक्त राज्य अमेरिकासँग अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत नयाँ विकास उद्देश्य सम्झौतामा हस्ताक्षर गरेको छ।

यस सहायता सम्झौताले पाँच वर्षको अवधिलाई समेट्नेछ र यसमा अमेरिका र नेपालबिचका सहयोग र सहकार्यका विकासका बृहत् क्षेत्रहरूको रूपरेखा प्रस्तुत गरिएको छ। पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर (७९.७१ अर्ब रुपैयाँ बराबर) को अनुदानले पाँच वर्षको अवधिमा नेपालको मध्यम आयको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यलाई सहयोग गर्नेछ।

नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको साझेदारीमा उक्त अमेरिकी सहायताले सुदृढ लोकतान्त्रिक शासन, उद्यम-निर्देशित आर्थिक विकासमार्फत र प्राकृतिक विपद् तथा जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका समुदायहरूको उत्थानशीलता वृद्धि गरेर नेपालको दिगो विकासलाई अगाडि बढाउनेछ।

आर्थिक सहायताको रकम नेपाल सरकारको रातो किताबमा अभिलेख गरिनेछ र त्यसलाई नेपाल सरकारको बजेटअन्तर्गत सञ्चित कोषमार्फत वा अन्य माध्यमबाट कार्यान्वयन गरिनेछ। युएसएआईडीले यस सहायता सम्झौताअन्तर्गतका परियोजनालाई साझेदार मन्त्रालयहरूसँगको सहकार्यमा विकसित गर्नेछ र नेपाल सरकारका नियम-कानुनअनुसार परियोजना कार्यान्वयन गरिनेछ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख, सहसचिव ईश्वरीप्रसाद अर्याल र युएसएआईडी-नेपाल निर्देशक सेपिडे केभान्शाडले आ–आफ्ना सरकारका तर्फबाट हस्ताक्षर गरी सम्झौता आदानप्रदान गर्नुभयो।

हस्ताक्षर समारोहमा मन्तव्य दिँदै सहसचिव अर्यालले भन्नुभयो, “सन् १९५१ मा पोइन्ट फोर कार्यक्रममा हस्ताक्षर गरेपछि अमेरिका नेपालको पहिलो द्विपक्षीय दाता बन्यो। यसबाट विश्वास, आपसी सम्मान र नेपाली जनताप्रतिको प्रतिबद्धतामा आधारित ७० वर्षभन्दा लामो सम्बन्धको सुरुआत भयो।“ साथै उहाँले नेपालको आर्थिक-सामाजिक विकासलाई मद्दत गर्न अमेरिकाले प्रदान गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट नेपाल निकै लाभान्वित भएको बताउनुभयो। यस स्थिर साझेदारीअन्तर्गतको अमेरिकी सहायता पहिलो पटक पूर्ण रूपमा नेपाल सरकारको रातो किताबमा प्रतिविम्बित हुने भएकाले यो सहायता सम्झौता दुवै देशका सरकारका लागि महत्त्वपूर्ण सम्झौता भएको उहाँले बताउनुभयो।

त्यसैगरी युएसएआईडी-नेपाल निर्देशक केभान्शाडले भन्नुभयो, “आज हामीले नेपाल सरकार र नेपाली जनतासँगको हाम्रो लामो समयदेखिको साझेदारीमा नयाँ अध्याय थपेका छौँ। हामी नेपालको लोकतन्त्र, सुशासन र देशव्यापी आर्थिक वृद्धिलाई सबल बनाउने गतिविधिहरूलाई समर्थन गर्ने अमेरिकी सरकारको दीर्घकालीन प्रतिबद्धतालाई निरन्तरता दिन तत्पर छौँ।“

यस वर्ष अमेरिकी सरकार र नेपाल सरकारले आफ्नो दौत्य सम्बन्धको ७५औँ वर्षगाँठ मनाइरहेका छन्। नेपालको आर्थिक-सामाजिक विकास र मानव संसाधनको उन्नतिमा अमेरिकाले गरेको नियमित सहयोगका लागि नेपाल सरकार अमेरिकी सरकारप्रति हार्दिक सराहना व्यक्त गर्दछ। दुवै देशका सरकारहरू आफूबिचको साझेदारी अनेक सफलताको साक्षी बनिसकेको कुरा स्वीकार गर्दछन् र बलियो सहकार्यको मर्ममा त्यसलाई जारी राख्न उत्सुक छन्।

२०७९ वैशाख २२
अर्थ मन्त्रालय,
सिंहदरबार, काठमाडौँ