Flag

An official website of the United States government

अमेरिकाद्वारा नेपाललाई १ लाख ६२० मात्राको कोभिड-१९ विरुद्धको फाइजर खोप प्रदान
2 MINUTE READ
अक्टोबर 25, 2021

United States Gives 100,620 COVID-19 Pfizer Vaccines to Nepal
United States Gives 100,620 COVID-19 Pfizer Vaccines to Nepal

काठमाडौँ, नेपाल – अमेरिकी जनताको उदारतामार्फत अमेरिकी सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्नका लागि १ लाख ६२० मात्राको फाइजर खोप अनुदानस्वरूप उपलब्ध गराएको छ । यो अत्यन्तै प्रभावकारी खोप प्रदान गर्नुअघि अमेरिकाले नेपाललाई गत असारमा एक मात्रा लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एन्ड जोन्सन खोप अनुदानस्वरूप उपलब्ध गराएको थियो भने १२ करोड २० लाख डलरभन्दा बढीको सहायता जीवन रक्षा गर्ने स्वास्थ्य सामग्री, तालिम र प्राविधिक सहयोगको स्वरूपमा नेपाललाई प्रदान गरेको थियो । महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरूप अमेरिकाले खोप नि:शुल्क र पूर्वशर्तबिना अनुदानस्वरूप प्रदान गरेको हो ।

यसका अतिरिक्त अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र उसका साझेदारहरूले अत्यन्त न्यून तापक्रमका फ्रिजर, वाक-इन फ्रिजर, वाक-इन कोल्ड रूम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा र चश्मा उपलब्ध गराउनुका साथै स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर नेपाललाई फाइजर खोपको यस किस्ताका लागि तयारी गर्न मद्दत गरेका छन् । यसको फलस्वरूप थप खोप प्राप्त गर्ने दिशामा नेपालका विकल्प र क्षमतालाई बल पुग्नेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेपिडे केभान्शाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई खोप हस्तान्तरण गर्नुभयो । युनिसेफमार्फत खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा पछिको समयमा बाँकी मुलुकमा खोप वितरण गर्ने बेला नभएसम्मका लागि उक्त खोप भण्डारण गरिनेछ ।

“जीवन रक्षा गर्ने १ लाख ६२० मात्राको फाइजर खोप नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउँदै कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिन पाएकोमा अमेरिकालाई खुशी लागेको छ । यस खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना सुनिश्चित गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा हामीलाई गर्व लागेको छ । यसको फलस्वरूप नेपाललाई भविष्यमा फाइजर खोपका थप मात्राहरू प्राप्त गर्न सहज हुनेछ,” निर्देशक केभान्शाडले भन्नुभयो ।

महामारीको सुरुदेखि नै अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा कोभिड-१९ महामारीलाई सम्बोधन गर्न, महत्त्वपूर्ण स्वास्थ्य सेवाको निरन्तरतालाई सुनिश्चित गर्न र मुलुकलाई खास गरी शिक्षा तथा जीविकोपार्जनका क्षेत्रमा पर्ने महामारीका सहायक सामाजिक तथा आर्थिक प्रभावहरूको न्यूनीकरणमा सहयोग गर्नका लागि सहकार्य गरेको छ ।

अमेरिकाले विश्वभरका १०० भन्दा बढी देशलाई (हालसम्म वाचा गरिएका जम्मा १.१ अर्ब खोपमध्ये) २० करोड मात्राका कोभिड-१९ विरुद्धका खोपहरू उपलब्ध गराएको छ भने लाखौँ मात्राका थप खोपहरू उपलब्ध गराउने योजना छ । विश्वव्यापी खोप कार्यक्रम कोभ्याक्समा अमेरिका सबैभन्दा ठूलो दातृराष्ट्र हो, जसअन्तर्गत यो खोप अनुदान प्रदान गरिएको हो ।

कोभिड-१९ विरुद्धको विश्वव्यापी प्रतिकार्यको नेतृत्व गर्न अमेरिका प्रतिबद्ध छ किनभने यो नै सही कार्य हो र यसले अमेरिकी तथा नेपाली लगायत हामी सबै जनालाई समान रूपमा सुरक्षित बनाउनेछ । यस महामारीको अन्त्य गर्ने र सुरक्षित विश्वको निर्माण गर्ने कार्यका निम्ति नेपालसँग सहकार्य गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।

###

NZ7_5246