पूर्व सांसद मञ्‍च, नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा  क्लिङ्टन एस. “ट्याड” ब्राउनले दिनुभएको मन्तव्य

पूर्व सांसद मञ्‍च, नेपालद्वारा आयोजित  विश्‍व परिस्थिति र नेपालको भविष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकी दूतावास, काठमाडौँका राजनीतिक तथा आर्थिक शाखा प्रमुख क्लिङ्टन एस. ट्याड ब्राउनले दिनुभएको मन्तव्यको नेपाली अनुवाद

२०७६ भदौ ३१

जनताले आफ्नो सरकार आफै चुन्नुपर्छ भन्ने आदर्शमा अमेरिकाको स्थापना भएको हो । हामीकहाँ सरकार आउनु पहिले नै कङ्ग्रेसको स्थापना भइसकेको थियो । एक अमेरिकी नागरिकका लागि जनताद्वारा निर्वाचित प्रतिनिधिभन्दा महत्त्वपूर्ण कुरा अर्को हुँदैन । तसर्थ वर्तमान तथा पूर्व सांसदहरूसमक्ष अमेरिका र नेपालको विषयमा बोल्न पाउँदा म आफूलाई सम्मानित महसुस गर्दछु । मलाई आशा छ, मेरो मन्तव्यले संसद्‌भित्र र बाहिरका नेपालका नेताहरूलाई अमेरिकी नागरिकहरूले अमेरिका-नेपाल सम्बन्धलाई कसरी हेर्दछन् भन्ने कुरा बुझ्न मद्दत गर्नेछ ।

दुई वर्षअघि मात्र हामीले हाम्रा दुई देशबिच सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ मनायौँ । हाम्रो दूतावास ’round जताततै हामीले त्यस सम्बन्धको सम्पन्नताको प्रतिनिधित्व गर्ने तस्बिरहरू प्रदर्शन गरेका छौँ । राजदूतको कार्यालय नजिक सन् १९४७ देखि अमेरिकी सम्बन्धलाई अगाडि बढाउँदै आएका सबै पूर्व अमेरिकी राजदूतका तस्बिर राखिएका छन् । हाम्रो जनसम्पर्क कार्यालय नजिक हाम्रै युवा परिषद्‌मा सहभागिता जनाउँदै गरेका नेपाली युवा, सञ्‍चारमाध्यमसम्बन्धी हाम्रा तालिमहरूमा भाग लिएका नेपाली पत्रकार र सांस्कृतिक सम्बन्धलाई विकसित गरेका नेपाली कलाकारका तस्बिर देख्‍न सकिन्छ । मलाई मनपर्ने चाहिँ युएसएआईडी हो । उनीहरूले सार्वजनिक कार्यसम्बन्धी परियोजना तर्जुमा गर्न सघाउने अमेरिकी इन्जिनियर, तराईमा औलो विरुद्धको लडाइँमा सहयोग गर्ने अमेरिकी जनस्वास्थ्य विशेषज्ञ र नेपाली किसानसँगसँगै खेतमा काम गरिरहेका कृषि विशेषज्ञका तस्बिर सजाएर राखेका छन् ।

नेपालमा अमेरिकाको ७० वर्षको इतिहास अमेरिकाले नेपालसँग अझै समृद्ध, अझै उत्थानशील, अझै सुरक्षित र अझै सार्वभौम बन्नका लागि काम गरेको ७० वर्षभन्दा लामो छ ।

अझै समृद्ध : हामीले नेपाली साझेदार तथा अन्यसँग नेपाली जनताको आय र जीवनस्तर उकास्न मद्दत गर्नका लागि काम गर्‍यौँ । सन् १९६२ यता झन्डै चार हजार अमेरिकी नागरिकले नेपालमा पीसकोर स्वयंसेवकका रूपमा शिक्षा, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, स्वास्थ्य र समुदाय तथा युवा विकासका क्षेत्रमा काम गरिसकेका छन् । युएसएआईडीले नेपाली उद्यमीहरूलाई तालिम दिएको छ । अमेरिकाले नेपाली उत्पादनका लागि आफ्नो बजार खुला गरेको छ । भारत बाहेक अमेरिकाले जति नेपालका निर्यात वस्तु अन्य कुनै मुलुकले किन्दैन । सन् २०१८ मा नेपालले अमेरिका बाहेक आफ्ना अन्य मुख्य व्यापार साझेदारबाट व्यापक व्यापार घाटा बेहोरेको थियो । अध्ययनका लागि अमेरिका पुगेका युवा नेपालीहरूले नेपाल फर्की व्यवसाय सञ्‍चालन र रोजगार सिर्जना गरेका छन् । नेपालको अर्थतन्त्रका लागि अमेरिकामा रहेका नेपालीहरू विप्रेषणको दोस्रो ठूलो स्रोत हुन् । विश्‍वको अर्को कुनामा भए तापनि हामी नेपाल आउने पर्यटकको तेस्रो ठूलो स्रोत हौँ र औसत पर्यटकको तुलनामा हाम्रा पर्यटकहरू यहाँ धेरै बस्छन् र बढी खर्च गर्छन् ।

अझै उत्थानशील : अमेरिकी जनताले नेपाली सेनालाई २०७२ सालको भूकम्प र नियमित बाढी प्रकोप लगायतका प्राकृतिक विपद् व्यवस्थापनमा सघाउन तालिम र उपकरण उपलब्ध गराएका छन् । युएसएआईडी र अमेरिकी सेनाले उपकरण र तालिम दिनुका साथै नेपाललाई विपद्‌को पूर्वतयारी र व्यवस्थापनमा मद्दत गर्नका लागि संरचना निर्माण गरेका छन् । तपाईँहरूको राजनीतिक यात्रामा हामीले नेपालीहरूलाई साथ दिएका छौँ । आफूले चाहेको भनी तपाईँहरूले हामीलाई बताएका लोकतान्त्रिक प्रक्रियालाई हामीले सघाएका छौँ । उदाहरणका लागि, हामीले प्रतिनिधि सभा सदस्यहरूका लागि तालिम उपलब्ध गराउनुका साथै नेपालको निर्वाचन प्रक्रियामा सहयोग गरेका छौँ । नेपालले सही अर्थमा आफ्नो निर्वाचन प्रक्रियाप्रति गर्व गरेको छ । नेपालले निकै धेरै उपलब्धि हासिल गरेको छ र यस प्रक्रियामा नेपालको साझेदार बन्न पाएकोमा हामीलाई गर्व महसुस भएको छ ।

अझै सुरक्षित : अमेरिकी सेनाले नेपाली सेनालाई सहयोग गर्नका लागि तालिम, उपकरण र दक्षता उपलब्ध गराएको छ । यहाँनेर पनि हामीले त्यही सहयोग उपलब्ध गराएका हौँ जुन नेपालले आफ्ना लागि आवश्यक भनेर हामीलाई बताएको हो र यस प्रकारको सहयोग मूलत: मानवीय साहयता तथा विपद् व्यवस्थापन र व्यावसायीकरणमा केन्द्रित छ । मुद्दा समाधानका लागि हाम्रो प्रहरीले तपाईँहरूको प्रहरीसँग काम गरेको छ, हाम्रा वकिलहरूले नेपालका वकिलहरूसँग उत्कृष्ट अभ्यासका विषयमा वार्तालाप गरेका छन् र हाम्रा न्यायाधीशहरूले नेपाली न्यायाधीशहरूसँग कानुन र दण्डसम्बन्धी छलफल गरेका छन् । यी भ्रमण मोजमस्तीका लागि विदेशमा गरिएका पर्यटकीय भ्रमण होइनन् । बरु यी सघन तालिम अधिवेशनहरू हुन्, जसले सिप विकास गर्छन्, जसले मानव बेचबिखन र साइबर अपराध नियन्त्रण जस्ता नेपालका प्राथमिकताका लागि मुलुकको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँछन् ।

अझै सार्वभौम : मैले विश्‍वभर अमेरिकी विदेश नीतिको इतिहास पढेको छु । मलाई थाहा छ, त्यहाँ केही अध्याय छन् जसप्रति हामीलाई गर्व छ र केही यस्ता अध्याय पनि छन् जसप्रति हामीलाई त्यति गर्व लाग्दैन । जहाँसम्म मैले अध्ययन गरेको छु, हामी अमेरिकीहरूका लागि नेपालमा आफ्नो संलग्नताका सम्बन्धमा गौरव गर्ने ठाउँ छ । नेपालको सार्वभौमिकतामा खलल पुग्ने कुनै काम हामीले कहिल्यै गरेका छैनौँ । हामीले नेपाललाई आफ्नो मार्ग आफै निर्धारण गर्ने उसको सार्वभौम अधिकारमा ठेस लाग्ने कुनै काम गरेका छैनौँ । हामीले नेपाल सरकारलाई उचाल्न वा पछार्न मद्दत पुग्ने कोसिस कहिल्यै गरेका छैनौँ । हामीले राजनीतिक दलहरूलाई कसको पक्ष लिने वा विरोध गर्ने भनेर भन्ने कोसिस कहिल्यै गरेका छैनौँ । नेपाललाई अझै समृद्ध, उत्थानशील र सुरक्षित बन्न मद्दत गर्दै हामीले नेपाललाई आफूलाई दिगो बन्न अझै सक्षम बनाएका छौँ । तसर्थ नेपाल अझै सार्वभौम, अझै स्वतन्त्र र अरुमाथि कम निर्भर बनेको छ ।

अमेरिका-नेपाल सम्बन्धको सैन्य पक्षलाई लिएर केही मानिसहरू चिन्तित छन् भन्ने मैले सुनेको छ र त्यसलाई सम्बोधन गर्न म दुइटा कुरा भन्न चाहन्छु । पहिलो कुरा, नेपालसँगको अमेरिकी सैन्य संलग्नतामा केही पनि लुकेको छैन । हामी नेपाली सुरक्षा निकायसँग काम गर्छौँ र जहिले पनि उनीहरूको निरीक्षण गर्ने गैरसैनिक मन्त्रालयहरू र परराष्ट्र मन्त्रालय मार्फत काम गर्छौँ । नेपाल सरकारले आवश्यक रहेको भनी हामीलाई बताएको तालिम दिन्छौँ । खास गरी उनीहरूलाई शान्ति सेनाका लागि तयारी गर्न मद्दत पुगोस् भन्ने खालको तालिम दिइन्छ । शान्ति सेनामार्फत नेपाली सुरक्षाकर्मीले विश्‍वव्यापी शान्ति तथा सुरक्षामा योगदान गरेका छन् र बहादुरी तथा व्यावसायिकताका लागि कहलिएका छन् । अमेरिकाले दिएको सैन्य तालिमका कारण २०७२ सालको भूकम्पपछि र त्यस अघि तथा पछिका बाढीहरूमा नेपाली र अमेरिकीहरूको जीवन रक्षामा मद्दत पुगेको छ । “स्विफ्ट वाटर रेस्क्‍यु” सम्बन्धी हाम्रो अर्को तालिम आउँदैछ । तपाईँका छिमेकीहरूलाई अस्थिर बनाउनका लागि चालिएको यो कुनै गोप्य चाल होइन । यो त नेपालीहरूको जीवन रक्षाका लागि बनाइएको योजना हो । कुनै गोप्य कुरा होइन । केही मानिसहरू अति जायज संलग्नतामा समेत गोप्य चाल देख्छन् । जब म नेपालमा अमेरिकी सैन्य संलग्नताको विषयमा सोच्छु, म २०७२ सालको भूकम्पपछि हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका छ जना अमेरिकी सैनिकहरूलाई सम्झन्छु । आफूले कहिल्यै नभेटेका नेपाली नागरिकहरूलाई मद्दत गर्ने कोसिस गर्ने क्रममा उनीहरूको ज्यान गएको थियो । यही कुराले नेपालमा अमेरिकी सैन्य संलग्नताको चरित्रलाई चित्रण गर्छ ।

दोस्रो कुरा, जसले अमेरिकी सैन्य संलग्नतालाई सुन्दा पनि डरलाग्दो बनाइरहेका छन्, उनीहरूले के आशा गरेका छन् भने सैन्य क्षेत्र अमेरिका-नेपाल सम्बन्धको एक टुक्रा मात्र हो र सम्पूर्ण गैरसैन्य पक्षको तुलनामा त्यो सानो आकारको छ भन्ने कुराप्रति तपाईँले ध्यान दिनुहुने छैन । तथ्यतिर हेरौँ : यदि अमेरिकाका लागि नेपालमा सैन्य क्षेत्र त्यति महत्त्वपूर्ण हुन्थ्यो भने हामीले गर्ने अरु सबै कामको तुलनामा त्यो क्षेत्र किन त्यति सानो छ ? त्यो महत्त्वपूर्ण अवश्य छ । त्यसले जीवन रक्षा गरेको छ । नेपाली र अमेरिकी नागरिकको जीवन रक्षा गरेको छ । तर हाम्रो बृहत् सम्बन्धको त्यो एक हिस्सा मात्रै हो ।

त्यसो भए के हो त अमेरिका-नेपाल सम्बन्ध ?

अमेरिकाले नेपालमा स्वास्थ्य, शिक्षा, ऊर्जा, कृषि, सडक, पुलपुलेसा, सञ्‍चारमाध्यम, उद्यमी, सुरक्षा, भूकम्प पूर्वतयारी तथा व्यवस्थापन, सीमान्तकृत समुदायको सशक्तीकरण, मानव बेचबिखनविरुद्ध लड्ने प्रयत्‍न, वातावरण संरक्षण लगायत थुप्रै क्षेत्रमा लगानी गरेको सात दशक पुगिसकेको छ ।

र यसमा अमेरिकाको कुनै स्वार्थ छैन ।

हरेक वर्ष अमेरिकाले झन्डै २० करोड डलरको विकास सहायता अनुदानको रूपमा उपलब्ध गराउँछ, कर्जा स्वरूप होइन । र यसमा कुनै स्वार्थ मिसिएको छैन ।

त्यसका अतिरिक्त एमसीसीले सडक र ऊर्जा क्षेत्रमा सहयोग गर्नका लागि ५० करोड डलर अनुदान उपलब्ध गराउने भएको छ । नेपाली जनताले हामीलाई आफ्नो प्राथमिकताका क्षेत्र यिनै हुन् भनेका थिए । यसमा पनि हाम्रो कुनै स्वार्थ छैन ।

अमेरिकाले नेपाली वस्तुका लागि आफ्नो बजार खुला गरेको छ । यसमा पनि हाम्रो कुनै स्वार्थ छैन । नेपालको संस्कृतिको आनन्द लिन र अर्थतन्त्रमा योगदान गर्न ९० हजार अमेरिकी पर्यटक आउँछन् । यसमा पनि कुनै स्वार्थ छैन ।

लाखौँ नेपाली विद्यार्थीहरू आफ्नो सिप विकास गर्नका लागि अमेरिकी विश्‍वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् । यसमा कुनै स्वार्थ छैन ।

कुनै स्वार्थ छैन ।

यद्यपि, के कुरा सत्य हो भने कुनै पनि सरकार च्यारिटी (परोपकारी निकाय) होइन । मेरो सरकार पनि होइन । सबै सरकारले आफ्नो राष्ट्रिय राष्ट्रिय हितलाई अघि बढाउने हुन् । मेरो सरकारले पनि त्यसै गर्छ ।

अमेरिकालाई शक्तिशाली राज्यका रूपमा के कुराले अलग बनाउँछ भने जब हामी आफ्नो स्वार्थको ’boutमा सोच्छौँ, हामी आफ्नो प्रबुद्ध स्वार्थको ’boutमा सोच्छौँ । हामीलाई लाग्छ, नेपालको भलो हुँदा अमेरिकाको भलो हुन्छ । नेपाल बलियो भयो भने अमेरिका बलियो हुन्छ । जब शिशु र मातृ मृत्युदर घट्छ, तब हामीलाई राम्रो हुन्छ । त्यसैले हो हामीले नेपालको स्वास्थ्य क्षेत्रमा मद्दत गर्न करोडौँ अमेरिकी डलर दिएको ।

अमेरिकाले नेपालमा के गरेको छ भन्ने विषयमा म केही उदाहरण दिन चाहन्छु । यी वास्तविक उदाहरण हुन्, रित्ता वाचाबन्धन होइनन् ।

हामीलाई लाग्छ, नेपालको अर्थतन्त्रले नेपालीका लागि नेपालमै रोजगार सिर्जना गर्‍यो भने अमेरिकालाई राम्रो हुन्छ । त्यस कारण हामीले नेपालका उत्पादनका निम्ति आफ्नो बजार खुला गरेका छौँ र युएसएआईडीले नेपाली किसान र नेपाली उद्यमीहरूको तालिममा मद्दत गरेको छ । हामीलाई लाग्छ, नेपालको ऊर्जा क्षेत्र सफल भयो भने अमेरिकालाई राम्रो हुन्छ । त्यसैले हामी एमसीसीमार्फत ५० करोड डलर खर्च गर्न तयार छौँ । वचनबद्धता बमोजिम सो रकम प्रयोग होस् भन्ने बाहेक हामीले नेपालबाट अरु केही चाहेका छैनौँ ।

मेरो कुरा नपत्याउनुहोस् । मलाई “विश्‍वास” नगर्नुहोस् । हाम्रो आजको अभिलेख हेर्नुहोस् । ७० वर्षदेखिको अभिलेख हेर्नुहोस् । अभिलेखले भन्छ कि यस अवधिमा अमेरिकाले नेपालको यात्रामा जहिले पनि, लगातार मद्दत गरेको छ र बदलामा निकै थोरै मात्र मागेको छ ।

अङ्ग्रेजीमा एउटा भनाइ छ, उपहारमा आएको घोडाको ’boutमा कुनै प्रश्‍न नसोध्नू । तर मेरो विचारमा त्यो कुरा सही होइन । म त भन्छु, नेपालले सधैँ उपहारको घोडाको विषयमा सोध्नुपर्छ । फाइन प्रिन्ट (सानो अक्षरमा लेखिएको कुरा) पढौँ । कसैले आफूलाई कुनै कुरा सित्तैमा दियो भने किन दिएको भनेर सोधौँ । उनीहरूको स्वार्थ के हो ? के त्यो प्रबुद्ध स्वार्थ हो ? या स्वार्थ मात्र ?

अमेरिकाले नेपालबाट चाहेको कुरा के हो ? हाम्रो मुख्य चाहना नेपाल अमेरिकाको पक्षमा उभियोस् भन्ने होइन । तर नेपाल त्यसो चाहन्छ भने स्वागत छ ! हाम्रो मुख्य चाहना के हो भने नेपाल नेपालकै पक्षमा उभियोस्, नेपालले आफ्नो सार्वभौमिकतालाई अत्यन्त सावधानीका साथ संरक्षण गर्ने क्रमलाई निरन्तरता देओस् र नेपालले फाइन प्रिन्ट पढोस् । गत वर्षभर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएका अधिकांश मन्तव्यहरूमा विधिको शासनद्वारा शासित, लोकतान्त्रिक सिद्धान्तलाई आत्मसात् गर्ने, साना मुलुकलाई ठूला मुलुकबाट आक्रमण वा दादागिरीको डर नहुने खालको अन्तर्राष्ट्रिय प्रणालीप्रति नेपालको समर्थन ’bout बोल्नुभएको छ ।

यस कुरालाई त्यसभन्दा राम्रा शब्दमा हामी आफै भन्न सक्दैनौँ ।

जब हामी स्वतन्त्र तथा खुला इन्डो-प्यासिफिक क्षेत्रसम्बन्धी हाम्रो ध्येयको कुरा गर्छौँ, हामीले गरेको कुरा पनि त्यही नै हो ।

जब हामी इन्डो-सिफिक नीतिको कुरा गर्छौँ, यो कुनै क्लब होइन जसमा नेपाल सामेल हुन सकोस् । यो त हाम्रो आफ्नो नीति हो, रणनीति होइन । अन्तर्राष्ट्रिय प्रणाली र त्यसमा पनि खास गरी इन्डो-प्यासिफिक क्षेत्र विधिको शासन, खुलापन, स्वतन्त्रता र सुरक्षाद्वारा शासित होस् र साना मुलुकलाई ठूला मुलुक, चाहे त्यो अमेरिका नै किन नहोस्, त्यस्ता मुलुकबाट आक्रमण वा दादागिरीको डर नहुने खालको स्थान बनोस् भन्ने कुरा सुनिश्‍चित गर्न मद्दत गर्नका लागि हामीले अपनाएको नीति हो ।

जसले स्वतन्त्र तथा खुला इन्डो-प्यासिफिक क्षेत्रसम्बन्धी अमेरिकी ध्येय चीन विरुद्धको एक प्रकारको गोप्य योजना हो भनी दाबी गर्छन्, उनीहरूलाई कि यो कुरा थाहा छैन, कि उनीहरूले थाहा नपाएको बहाना गरेका हुन्, कि विगत सात दशकमा स्वतन्त्र तथा खुला इन्डो-प्यासिफिक क्षेत्र सुरक्षण गर्ने अमेरिकी व्यवहारकै कारण थुप्रै चीनियाँ समुदाय लगायत करोडौँ मानिसहरूलाई गरिबीबाट उकास्न सम्भव भएको हो । वास्तवमा इन्डो-प्यासिफिक क्षेत्रलाई स्वतन्त्र र खुला राख्‍ने नीति चीन विरोधी नीति वा दमनकारी रणनीति होइन, चीन पक्षधर नीति हो भन्ने मेरो तर्क हो । स्वतन्त्र र खुला इन्डो-प्यासिफिक क्षेत्र नै हो जसले चीनको आर्थिक इन्जिनलाई पुन: जीवित तुल्यायो; त्यही सुरक्षा हो जसले शान्ति कायम गर्‍यो जसले गर्दा चीन आफ्नो विकासमा केन्द्रित हुन पायो र आफ्ना छिमेकीसँग द्वन्द्वमा संलग्न भएन; त्यही खुलापन हो जसले गर्दा चीनले विश्‍वभर आफ्ना विमानहरू उडाउन पायो, चीनियाँ पानीजहाजहरू विश्‍वका महासागरमा सञ्‍चालित भए र चीनियाँ विद्यार्थीहरू अमेरिकी विश्‍वविद्यालयमा अध्ययनका लागि आउन सक्षम भए । स्वतन्त्र तथा खुला इन्डो-प्यासिफिक क्षेत्रले चीनलाई माथि उठ्न मद्दत गरेको हो र यसले नेपाललाई पनि आफ्ना लक्ष्यहरू हासिल गर्न सघाउन सक्छ ।

सत्य कुरा के हो भने स्वतन्त्र तथा खुला इन्डो-प्यासिफिक क्षेत्रसम्बन्धी अमेरिकी ध्येयको आशय न अहिले चीन वा अन्य मुलुकलाई सहभागी बन्न नदिनु हो न पहिले कहिल्यै थियो । नेपालका नेताहरू लामो समयदेखि यिनै आदर्शका हिमायती बन्दै आइरहेका छन् : विधिको शासन, सार्वभौमिकताको संरक्षण, ठूला देशले साना देशमाथि दादागिरी गर्न पाउँदैनन् भन्ने सिद्धान्त र शान्तिपूर्ण माध्यमबाट विवाद समाधान ।

म नेपालमा अमेरिकी कूटनीतिज्ञ हुनुमा गर्व गर्नुको एउटा कारण हो हाम्रो यहाँको अभिलेख । अभिलेखले भन्छ : हामीले आफ्ना सिद्धान्तलाई आत्मसात् गरेका छौँ र आफ्ना वचनबद्धताहरू पुरा गरेका छौँ । हामीले आफ्नो हितलाई प्रबुद्ध स्वार्थमार्फत अघि बढाएका छौँ । ७० वर्षभन्दा लामो समयदेखि हामी आफ्नो कार्यविधिमा एकरूप रहँदै आएका छौँ । जुनसुकै ठाउँमा थोरै मात्र सरकारहरूको सम्बन्धमा यसो भन्न सकिन्छ । मलाई विश्‍वास छ, आगामी ७० वर्ष र त्यस उपरान्त समेत हामी यस कार्यविधिलाई निरन्तरता दिनेछौँ ।