संविधान गतिशील प्रक्रिया हो

राजदूत अलाइना बी. टेपलेट्ज

विश्वभरका अमेरिकीले आज ‘थ्यांक्सगिभिङ’ बिदा मनाउनेछन्। आफ्नो धर्म, जातीयता वा सम्प्रदाय जेसुकै भए पनि थ्यांक्ससगिभिङ सबै अमेरिकीले मनाउँछन्। यस वर्ष सो चाड नेपालमै आफ्ना साथी, परिवार र सहकर्मीसँग मनाउन पाएकोमा म हर्षित छु।

अमेरिकी थ्यांक्सगिभिङको परम्परा सन् १६२१ मा सुरु भएको हो र यसलाई एउटा मिथकसँग जोडिन्छ। त्यसअनुसार म्यासाच्युसेट्सस्थित प्लिमथमा युरोपेली उपनिवेशवादीहरूले नेटिभ अमेरिकन वाम्पानोआग जातिका सदस्यहरूलाई आफूसँगै भोजन गर्न बोलाएका थिए। शरद् ऋतुमा नयाँ बासिन्दाहरूले पहिलोपटक सफलतापूर्वक बाली भित्याएको सुखद उपलक्ष्यमा सो भोजको आयोजना गरिएको थियो।

धेरै वर्षपछि थ्यांक्सगिभिङ राष्ट्रिय बिदा बन्यो र हाल यो चाड अमेरिकी पात्रोमा एक विशेष अवसरका रूपमा स्थापित भएको छ। यो पर्व हामी एक ठाउँमा भेला भएर मनाउँछौँ र टर्की तथा क्यानबेरीलगायतका ती पहिला बासिन्दाहरूले खाएका केही खानेकुरा बाँडेर खान्छौँ। हरेक परिवारले भोजनमा आफ्नै परिकारहरू थप्छन् भने पम्पकिन पाई, कन्दमूल र हरियो सिमीको क्यासरोललगायत खानाका मुख्य परिकार हुन्। मेरो आफ्नै परिवारमा हामी नुडल कुगल खाना पकाउँछौँ, जुन मेरी आमाले बनाउने गर्नुहुन्थ्यो र मैले मेरा छोराहरूलाई पनि पकाउन सिकाएकी छु। दसैँ र तिहारको बिदापछि मैले के देखेँ भने यस्ता पारिवारिक जमघट र परम्पराहरूप्रति नेपालीको पनि उस्तै समर्पण भाव छ।

हामी जीवनमा जुन कुराका लागि आभारी छौँ, तिनलाई सम्झन र तिनका लागि धन्यवाद दिन पनि भेला हुन्छौँ र यस वर्ष म ती निकायहरूलाई सम्झन चाहन्छु, जसले संयुक्त राज्य अमेरिकालाई बलियो र जीवन्त लोकतन्त्र बनाएका छन्। पहिलो थ्यांक्सगिभिङ हतारमा व्यवस्था गरिएको अनौपचारिक भोजन थियो। एउटा बहुमूल्य अमेरिकी परम्परा बन्नमा त्यसले गरेको यात्राले हाम्रो वर्तमान लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्न अमेरिकाले गरेको झन्डै ४ सय वर्षको यात्रालाई प्रतिविम्बित गर्छ, जुन यात्राका बाटाभरि थुप्रै प्रयत्न गरिएका छन् र दुःखकष्ट भोगिएको छ। हाम्रो आदिम इतिहासका कतिपय उपनिवेश तथा राज्यहरूले थ्यांक्सगिभिङ मनाउने गरेका थिए तर आधिकारिक तवरले राष्ट्रका रूपमा यस चाडलाई मनाउन थालिएको सन् १७७७ मा अमेरिकन कन्टिनेन्टल कंग्रेसले पहिलो राष्ट्रिय थ्यांक्सगिभिङको घोषणा गरेपछिमात्र हो। त्यसै वर्ष हामीले आर्टिकल्स अफ कन्फेडरेसनलाई अनुमोदन गरेका थियौँ, जुन हाम्रो संविधान निर्माणतर्फको पहिलो प्रयत्न थियो। त्यसको एक वर्षअघि मात्र हामीले बेलायती साम्राज्यबाट स्वतन्त्रतासम्बन्धी घोषणापत्र (डिक्लेरेसन अफ इन्डिपेन्डेन्स फ्रम द ब्रिटिस क्राउन) जारी गरेका थियौँ।

त्यस प्रसिद्ध दस्तावेजमा संयुक्त राज्य अमेरिकाका १३ राज्यहरूले के घोषणा गरेका छन् भने – ‘सबै मानिस बराबर भई जन्मेका हुन्’ र जीवनयापन, स्वतन्त्रता र सुखको खोजीलगायतका निश्चित हक हाम्रो आफ्नै, आफैंले चयन गरेको र स्वतन्त्र व्यवस्थासहितको सरकारको निर्माणका लागि महत्वपूर्ण छन्। स्वतन्त्रताको घोषणामा निहित यी अवधारणाहरू हाम्रो उदीयमान लोकतन्त्रका आधार बने। यद्यपि, नेपालमा जस्तै हामीलाई हाम्रो संविधान लेख्न र स्थायी संविधान पारित गर्न केही समय लाग्यो।

हाम्रो पहिलो प्रयत्न आर्टिकल्स अफ कन्फेडरेसनले हामीलाई असफलता दिलायो। जनताका प्रतिनिधिहरू फेरि गृहकार्यमा जुटे र उनीहरूले कडा परिश्रमका साथ दोस्रो संविधान लेखे। अन्ततः उनीहरूले जुन दस्तावेजमा हस्ताक्षर गरी अनुमोदन गरे, त्यही दस्तावेज गत २२६ वर्षदेखि हाम्रो संविधानका रूपमा रहँदै आएको छ। त्यसबेलाको सरकारका लागि सबैभन्दा लोकतान्त्रिक मानक ठानिएको अमेरिकाको संविधान सन् १७८७ मा पहिलो पटक हस्ताक्षर हुँदा र पछि सन् १७८८ मा अनुमोदित हुँदा भने विवादास्पद थियो। सुरुमा त्यसले मुलुकलाई विभाजित गर्योह र नागरिकले आफ्ना राजनीतिक विचारअनुसार कि त त्यसको प्रशंसा गरे कि त्यसका कमीकमजोरीहरूलाई लिएर निन्दा गर्ने काम गरे। यस महान् बहसलाई शृंखलाबद्धरूपमा प्रभावकारी लेखरचनामा कैद गरियो, जसलाई हाल फेडरलिस्ट पेपर्स भनिन्छ।

भर्खर जन्म हुँदा अमेरिकी संविधान पनि निपुणताबाट टाढा थियो। प्रतिस्पर्धी क्षेत्रीय बफादारी, असमान आर्थिक हित र जातीय तथा धार्मिकरूपमा विविधतापूर्ण जनसंख्यासहितको विशाल भूगोलबाट त्यस संविधानले सफलतापूर्वक एउटा एकीकृत मुलुक सिर्जना गर्ला भन्नेमा स्वयं त्यसका मसौदाकारलाई शंका थियो। अमेरिकी संविधानका मौलिक सर्तअनुसार सम्पत्तिवाल श्वेत पुरुषहरूलाई मात्र मतदान गर्ने हक थियो, जसले त्यस समयमा अमेरिकी जनसंख्याको २० प्रतिशतभन्दा कम हिस्सा ओगटेका थिए। महिला, अन्य वर्णका व्यक्ति, दास, निश्चित धार्मिक अल्पसंख्यक र अन्य व्यक्तिले अमेरिकामा मतदानको पूर्ण हक पाउनका लागि दशकौँ कुर्नुपरेको थियो भने महिलाहरूले त झन् १३० वर्षभन्दा बढी समय कुर्नुपरेको थियो। हामीले यी त्रुटिहरूलाई संवाद, सम्झौता, संवैधानिक संशोधन र हाम्रो लोकतान्त्रिक प्रक्रियाले स्वतन्त्रताको घोषणामा गरिएका वाचाहरूको फल प्रदान गर्न सक्छ भन्ने बलियो विश्वासमार्फत् सम्बोधन गर्‍यौँ।

वर्तमान अमेरिकी संविधान जारी भएको पहिलो छ वर्षमा ११ पटक संशोधन भएको थियो। हाम्रो संविधानको कार्यान्वयनलाई आकार दिन २०० वर्षसम्म अदालती मुद्दाहरू आवश्यक भए। प्रत्येक वर्ष सर्वोच्च अदालतमा पुराना दस्तावेजका शब्दहरूलाई आधुनिक युगअनुकूल बनाउनुपर्ने भन्दै नयाँ मुद्दाहरूको सुनुवाइ भयो। संविधानमा हस्ताक्षर भएदेखि २७ पटक संशोधन भइसकेको छ, जसबाट के प्रमाणित हुन्छ भने संवैधानिक लोकतान्त्रिक शासन प्रणाली गतिशील प्रक्रिया हुनसक्छ र हुनुपर्छ, जो अझ बढी प्रतिनिधि, समावेशी र हकअधिकार तथा संरक्षणसम्बन्धी हाम्रो विकासशील बुझाइ र समयको आवश्यकताप्रति प्रतिक्रियाशील हुने निरन्तर प्रयास गर्छ।

साथै, अमेरिकाको संघीय प्रणालीले मौलिक संविधानमा व्यवस्था गरिएभन्दा राम्रो जातीय, भौगोलिक र अल्पसंख्यकका हितको समग्र संरक्षणलाई उत्प्रेरित गरेको छ। उदाहरणका लागि, अमेरिकामा महिलाहरूलाई मतदान गर्ने हक दिनुपर्छ भन्ने आन्दोलनको थालनी सन् १८०० को शतकको उत्तरार्द्धमा पहिले राज्यस्तरीय प्रयत्नका रूपमा भएको हो। तर, सन् १९२० नभई यसका पक्षमा राष्ट्रिय कानुन बनेन। आफूबाट अलग गर्नै नसकिने अधिकारले मान्यता नपाउँदासमेत अमेरिकी महिला आफ्नो लोकतन्त्रबाट पर हटेनन्। बरु प्रक्रियामा संलग्न रहँदै उनीहरूले शान्तिपूर्ण विरोध, सन्धि र अदालतमार्फत् परिवर्तनका लागि संघर्ष गरिरहे।

हाम्रो इतिहासकै अन्धकारमध्येको एक घडीमा राष्ट्रपति अब्राहम लिंकनले हाम्रो मुलुकलाई लोकतन्त्र भनेको ‘जनताको, जनताद्वारा र जनताका लागि’ गरिने शासन हो भन्ने स्मरण गराउनुभयो र कालान्तरमा उचित कार्यान्वयन हुँदै जाँदा लोकतन्त्रका हकमा त्यही कुरा साबित भएको छ। शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, संघीयता र आधारभूत अधिकारको प्रत्याभूति तथा संरक्षणका सिद्धान्तमा आधारित र आफ्ना नागरिकको सेवा गर्ने सरकारका लागि हाम्रो संविधानले ठोस प्रारूपको काम गरेको छ।

सन् १८१७ मा जेम्स मुनरो हाम्रा पाँचौँ राष्ट्रपति निर्वाचित हुँदासम्म थ्यांक्सगिभिङको निरन्तरता टुटिसकेको थियो र यसलाई आधिकारिकरूपमा राष्ट्रियस्तरमा मनाउन छाडिसकिएको थियो। त्यसपछि फेरि सन् १८६३ मा राष्ट्रपति लिंकनले त्यसलाई राष्ट्रिय अमेरिकी बिदाका रूपमा घोषणा गर्नुभयो। उहाँले नै इम्यान्सिपेसन प्रोक्लेमेसनमा अलग भएका राज्यका सबै दासलाई त्यस वर्षको जनवरी १ तारिखबाट स्वतन्त्र भएको घोषणा गर्नुभएको थियो। केही मानिसको अनुमानअनुसार थ्यांक्सगिभिङलाई राष्ट्रिय बिदाका रूपमा पुनर्स्थापित गर्नु भनेको तत्कालीन अवस्थाको गृहयुद्धबाट आक्रान्त र कतिपय प्रमुख संवैधानिक सिद्धान्तहरूका लागि लडिरहेको विभाजित मुलुकलाई एकतामा बाँध्ने एउटा तरिका थियो। त्यसपछिको छोटो अन्तरालमै नागरिकतालाई परिभाषित, दास प्रथालाई उन्मूलन र मतदानको हकलाई संरक्षण गर्ने गरी हाम्रो संविधानमा ३ थप संशोधन भए।

तुलना गर्न नमिले पनि नेपालको नयाँ संविधानले समेत हाम्रो संविधानले वर्षौं पहिले उत्पन्न गरेको जस्तै विवाद उत्पन्न गराएको छ। शान्त, एकीकृत र लोकतान्त्रिक समाजको ढाँचा निर्माण गर्ने प्रक्रिया लामो र कठिन हुन्छ र अप्ठ्यारा सम्झौताहरू गर्नुपर्छ भन्ने कुरा अमेरिकीहरू बुझ्छन्। यद्यपि, हामीलाई के पनि थाहा छ भने समावेशी, प्रतिनिधि र आधारभूत अधिकार प्रत्याभूत गर्ने संविधान नै त्यो हो जुन कार्यान्वयन गर्न लायक हुन्छ र स्वशासन, लोकतन्त्र र सार्वभौमिकता नै ती सिद्धान्तहरू हुन् जुन संरक्षण गर्न लायक हुन्छन्।

राजदूत बन्नका लागि शपथ लिँदा मैले संयुक्त राज्य अमेरिकाको संविधानलाई आत्मसात् गर्ने र त्यसको बचाउ गर्ने कसम खाएकी छु। थुप्रै अमेरिकी कडा परिश्रमका साथ हाम्रो संघीय संविधान बनाउन लागिपरेका थिए। यो तथ्य हो, जसका लागि आज थ्यांक्सगिभिङको अवसरमा म धन्यवाद दिन चाहन्छु। हाम्रो संविधानका सुरुका पंक्तिहरूमा भनिएझैँ यो ‘अझ परिपूर्ण एकता’ (मोर पर्फेक्ट युनियन) को आधार हो। लोकतान्त्रिक मार्गमा आफ्नो यात्रालाई नेपालले निरन्तरता दिँदै गर्दा र आफ्ना सबै नागरिकका हकलाई प्रत्याभूत र संरक्षण गर्ने संविधानलाई कार्यान्वयन गर्दै गर्दा म सम्पूर्ण नेपालीलाई आफ्नो संघीय संविधानलाई ‘अझै परिपूर्ण’ बनाउने चुनौतीप्रति प्रतिबद्ध हुन आग्रह गर्छु।

प्रकाशित : नागरिक, मङ्‌सिर १०, २०७२