अमेरिका-नेपाल सम्बन्धको इतिहास

प्रारम्भिक इतिहास

पहिलोपटक औपचारिक भ्रमणमा नेपाल आउने अमेरिकी अधिकारी जर्ज आर. मेरेल हुन् । त्यसबेला भारतको दिल्लीस्थित अमेरिकी दूतावासमा चार्जे डि’अफेयर (Charge d’Affaires) रहेका मेरेल सन् १९४५ नोभेम्बर १६–२२ मा नेपाल आई तत्कालीन प्रधानमन्त्री पद्मशम्सेर जंगबहादुर राणासमक्ष दोस्रो विश्वयुद्धमा नेपालका गोर्खा सैनिकले बेलायती सेनाका तर्फबाट पुर्‍याएको योगदानको कदरस्वरूप अमेरिकी सेनाको लेजन अफ मेरिट (Legion of Merit) चढाएका थिए ।

त्यसअघि सन् १९४४ मा नयाँ दिल्लीबाट फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनमा कार्यरत एन्ड्रयु कारी नेपाल आएका थिए । त्यस्तै सन् १९४५ मा फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनकै ह्यारी विट र अमेरिकी सेनाका लेफ्टिनेन्ट अल्फ्रेड ब्राउन वाणिज्य सम्बन्ध स्थापनाका लागि छलफल गर्न नेपाल आएका थिए । सन् १९४५ मा अफगानिस्तानका लागि अमेरिकी मिनिस्टर कर्नेलियस वान एच. इन्गर्ट नेपाल आएका थिए भने कलकत्ताका भाइस कन्सुल हेलेन निकोल्स १९४६ मा आएका थिए । इन्गर्ट र निकोल्स दुवै बेलायती मन्त्रीको पाहुनाको रूपमा यहाँ आएका थिए ।

अमेरिकामा पहिलो नेपाली अधिकारीको भ्रमण चाहिँ सन् १९३९ को अन्त्यतिर भएको थियो । लण्डनस्थित नेपाली मन्त्री जनरल कृष्ण राणा घर फर्कने क्रममा अमेरिका हुँदै आएका थिए । उनका उत्तराधिकारी जनरल सिंह राणा १९४५ को अन्त्यतिर अमेरिका पुगेका थिए । सन् १९४६ को गृष्म ऋतुमा कमाण्डिङ जनरल बबर राणाको नेतृत्वमा अमेरिकी विदेश र सामरिक मन्त्रालयहरूको पाहुना भई गएको नेपाली मिसनले केही हप्ता अमेरिकामा बिताएको थियो । उक्त टोलीले जुलाई २५ देखि अगस्ट १ सम्म वाशिङ्गटनको भ्रमण गरेको थियो ।

सन् १९४७ मार्च २२ तारिखमा विदेश मन्त्रालयले नेपालका लागि एक विशेष कूटनीतिक मिसन पठाउने घोषणा गरेको थियो । मिसनमा जोसेफ सी. स्याटर्थवाइट, स्यामुएल एच. डे (इकोनोमिक अफेयर्स काउन्सेलर, नयाँ दिल्ली), रेमण्ड ए. हेयर, विलियम सी. जोन्स्टन जुनियर (प्रमुख सार्वजनिक मामिला अधिकारी, नयाँ दिल्ली), लेफ्टिनेन्ट कर्नेल नथानियल आर. हास्कट (सहायक सैनिक सहचारी, नयाँ दिल्ली), जे. जेफर्सन जोन्स तृतीय (भाइस कन्सुल, बम्बई), र चार्ल्स डब्ल्यु. बुथ (भाइस कन्सुल, कराँची) सम्मिलित थिए ।

स्याटर्थवाइट अमेरिकी राष्ट्रपतिको व्यक्तिगत प्रतिनिधिका रूपमा मिनिस्टर स्तरीय हैसियतमा नेपाल मिसनमा आएका थिए । उनी अप्रिल १३ तारिखमा काठमाडौं आइपुगेका थिए र अप्रिल २१ मा उनले राजा त्रिभुवनलाई अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानको पत्र चढाएका थिए । यसरी अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो ।

सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खोलेको थियो, साथै अमेरिकी नागरिकप्रति गरिने व्यवहारको मापदण्ड स्थापित गर्दै भविष्यका वाणिज्य सम्बन्धहरूमा पक्षपातरहित व्यवहार अपनाइने नीति अवलम्बन गरेको थियो । (TIAS 2198)

त्यही दिन गरिएको अर्को सहमतिले भारतका लागि अमेरिकी राजदूतलार्इ नेपालका लागि पनि मिनिस्टर तोकेको थियो । त्यस्तै, नयाँ दिल्ली र कलकत्तामा भएका अन्य कर्मचारी पनि नेपाल हेर्नेगरी तोकिएका थिए । त्यसै गरी नेपालले पनि वाशिङ्गटनमा चार्जे डि’अफेयरको नेतृत्वमा नेपाली लिगेसन र न्यूयोर्कमा कन्सुलेट स्थापना गर्ने सहमति भएको थियो ।

(स्याटर्थवाइटले नेपालमा मिसन खोल्ने कुराको वर्णन गर्दै ‘मिसन टु नेपाल’ लेखेका थिए जुन अमेरिकन फरेन सर्भिस जर्नलको अगस्ट १९४७ को अंकमा पृष्ठ ८–१०, ३२–४० मा प्रकाशित भएको थियो । उनका अनुसार त्यस बेला विदेशीहरू तत्कालीन प्रधानमन्त्रीका पाहुना भएर वा उनीहरूको अनुमति लिएर मात्र देशभित्र प्रवेश पाउँथे । नेपालमा आधिकारिक मिसन हुने एक मात्र युरोपेली राष्ट्र बेलायत थियो । नेपालसँग जोडिएको कुनै पनि सीधा मार्ग थिएन । उनीहरूको मिसन यहाँ आउँदा रेल र रोडको यात्रा तय गरी अन्तिममा घोडा/खच्चर र डोलीमा चढेर काठमाडौंसम्म आउनुपर्थ्यो ।)

१९४८ फेब्रुअरी ३ मा अमेरिकी विदेश मन्त्रालयले नेपाल र अमेरिका दुवैले एक अर्को देशमा मिनिस्टरहरू राख्ने घोषणा गर्‍यो । बेलायतका लागि नेपाली राजदूत कम्याण्डिङ् जनरल केशर शमसेर जङ्गबहादुर राणाले वाशिङ्गटनमा पनि नेपालको प्रतिनिधित्व गर्ने निधो भयो । उनले वाशिङ्गटनमा आफ्नो ओहदाको प्रमाणपत्र सन् १९४८ फेब्रुअरी १९ तारिखमा बुझाएका थिए ।

१९४८ मे ३ तारिखमा भारतका लागि अमेरिकी राजदूत हेनरी एफ. ग्रेडीले नेपालका लागि पहिलो मिनिस्टरका रूपमा ओहदाको प्रमाणपत्र बुझाए । १९५९ सम्म नेपाल हेर्ने जिम्मेवारी पाएका अमेरिकी कूटनीतिक अधिकारीहरू भारतको पनि जिम्मेवारीमा हुन्थे र त्यहीँ बस्थे ।

१९४८ डिसेम्बर ३ मा भारतका लागि अमेरिकी राजदूत र नेपालका लागि मिनिस्टर लोय डब्ल्यु. हेन्डर्सनले काठमाडौंमा ओहदाको प्रमाणपत्र बुझाए । उनको नियुक्ति जुलाई १४ मा भएको थियो ।

(अमेरिकी विदेश मन्त्रालय, इतिहास कार्यालयका इभान एम. डंकनले मार्च १९८७ मा तयार गरेको घटनाक्रम बाट लिइएको अंश)

फोटोहरू :