संयुक्त राज्य अमेरिकाका राष्ट्रपति

राष्ट्रपति डोनाल्ड जे. ट्रम्पडोनाल्ड जे. ट्रम्प अमेरिकी सफलताको एक अनुपम उदाहरण हुनुहुन्छ । आफ्नो सम्पूर्ण जीवन उहाँले व्यवसाय र उद्यमशीलतामा उच्च गुणस्तर कायम राख्नमा निरन्तर समर्पित गर्नुभएको छ । यो उत्कृष्टता रियलस्टेट, खेलकूद, र मनोरञ्जनजस्ता उहाँको व्यवसायका क्षेत्रहरूमा देख्न सकिन्छ । राजनीति र सार्वजनिक सेवामा प्रवेशसँगै उहाँले पहिलो पटकमै अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजय प्राप्त गर्नुभयो, जुन सबैलाई आश्चर्यचकित पार्ने खालको उपलब्धि थियो ।

ह्वार्टन स्कूल अफ फाइनान्सबाट स्नातक गरेपछि ट्रम्पले आफ्ना पिताको पदचिह्न पछ्याउँदै रियलस्टेटको व्यवसायमा हात हाल्नुभयो र न्यूयोर्कमा काम सुरु गर्नुभयो । न्यूयोर्कको म्यानहटनमा ट्रम्पले निर्माण गर्नुभएका भवनहरू प्रतिष्ठाका पर्याय हुन थाले । उहाँको नामसँग जोडिएर आउने ख्याति उहाँले निर्माण गरेका भवनहरूसँगै विश्वभर पुग्न थाल्यो । व्यवसायका अलावा लेखनमा पनि उहाँको नाम छ । उहाँले लेखेका १४ भन्दा बढी किताब बेस्टसेलर भएका छन्, जसमध्ये द आर्ट अफ द डील नामक पुस्तक त वर्षको उत्कृष्ट पुस्तक हुनुका अलावा वाणिज्यशास्त्रका क्षेत्रमा विशिष्ट पुस्तक मानिन्छ ।

सन् २०१५ जुन १६ तारिखमा ट्रम्पले राष्ट्रपति पदको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । उहाँसँगै प्रारम्भिक दौडमा रहेका सत्र जना चुनावी अभियानबाट फिर्ता भएपछि उहाँ २०१५ को जुलाई महिनामा रिपब्लिकन पार्टीका तर्फबाट संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि उम्मेदवार बन्नुभयो । सन् २०१६ नोभेम्बर ८ मा भएको चुनावमा ट्रम्पले विजय हासिल गर्नुभयो । यो विजय २८ वर्षपछि रिपब्लिकन उम्मेदवारले अमेरिकी निर्वाचन प्रणालीअन्तर्गत इलेक्टोरल कलेजमा प्राप्त गरेको सबैभन्दा ठूलो जित थियो । उहाँले देशभरका २,६०० काउन्टीमा जित हासिल गर्नुभयो, जुन सन् १९८४ मा राष्ट्रपति रोनाल्ड रेगनको विजयपश्चातको सबैभन्दा ठूलो विजय थियो । उहाँले ६ करोड २० लाख लोकप्रिय मत प्राप्त गर्नुभयो, जुन कुनै पनि रिपब्लिकन उम्मेदवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो । त्यस्तै उहाँले सन् १९८८ मा राष्ट्रपति जर्ज एच. डब्लु. बुशपश्चात सबैभन्दा धेरै अर्थात ३०६ इलेक्टोरल मत प्राप्त गर्नुभएको थियो । यथास्थितिबाट माथि उठेर अमेरिकी राष्ट्रको पुननिर्माण गर्ने उहाँको नारालाई लाखौँलाख मानिसले समर्थन गरे । यो वास्तवमा राष्ट्रकै विजय थियो र अमेरिकी राष्ट्रका लागि एक ऐतिहासिक क्षण थियो ।

डोनाल्ड जे. ट्रम्पले ती स्थानमा चुनावी अभियान लिएर जानुभयो जहाँ रिपब्लिकनलाई जित्न धौधौ पर्थ्यो । उहाँ फ्लिन्ट, मिसिगन, क्लीवल्याण्डका भित्री शहरका चार्टर स्कूलहरू, र फ्लोरिडाका हिस्प्यानिक चर्चहरू पुग्नुभयो, किनकि उहाँलाई प्रत्येक अमेरिकी नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउने आफ्नो सन्देश सबै ठाउँमा पुर्‍याउनु थियो । रिपब्लिकन पार्टीका लाखौँलाख नयाँ समर्थकहरूले ट्रम्पलाई भोट दिए । अनुकूल व्यावसायिक कारोवारहरूमार्फत समृद्धि हासिल गर्ने प्रस्ताव उहाँले अघि सार्नुभएको थियो, जसलाई धेरैले समर्थन गरे । परिणामस्वरुप प्रतिकूल क्षेत्रहरूमा पनि उहाँको राम्रो बहुमत आयो । निश्चय नै राष्ट्रपति ट्रम्पको विजयले सबै पृष्ठभूमिका अमेरिकी नागरिकलाई एक ठाउँमा ल्यायो । उहाँ आफ्नो कार्यकालको पहिलो दिनदेखि नै राष्ट्रको हितमा परिणाममुखी कार्यसम्पादन गर्न अनवरत क्रियाशील हुनुहुन्छ ।

राष्ट्रपति ट्रम्प श्रीमती मेलानियासँग बाह्र वर्ष अघि विवाहबन्धनमा बाँधिनुभएको थियो । ट्रम्प दम्पतीको ब्यारोन नामका एक छोरा छन् । यस अतिरिक्त ट्रम्पका चार वयस्क सन्तान (डोन जुनियर, इभान्का, एरिक, र टिफनी) र आठ नातिनातिना छन् ।

जीवनी स्रोत : whitehouse.gov