संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति

उपराष्ट्रपति माइक पेन्समाइकल आर. पेन्स (माइक पेन्स) इन्डियाना राज्यको कोलम्बसमा सन् १९५९ जुन ७ तारिखमा जन्मनु भएको हो । माता न्यान्सी र पिता एडवर्ड पेन्सका छ सन्तानमध्येका एक उहाँ त्यो समयमा जन्मनुभएको थियो, जुन समय ‘अमेरिकी सपना’को समय थियो । यो सपनालाई उहाँले नजिकबाट नियाल्न पाउनुभएको थियो । उहाँका हजुरबुबा १७ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा आप्रवासीको रूपमा प्रवेश गर्नुभएको थियो र त्यसपछि उहाँको परिवार अमेरिकाको मध्यपश्चिममा बसोबास गर्न थालेको थियो । सानो छँदा माइकले आफ्ना मातापिताले ती चीजहरू जोडेको देख्‍नुभएको थियो जसले मानिसको जीवनमा अत्यन्तै ठूलो महत्व राख्दछन् – परिवार, व्यवसाय, र आफ्नो नाम । पौरखी मातापिताको छत्रछायामा रहेर यी भविष्यका उपराष्ट्रपतिले परिश्रम, धार्मिक निष्ठा, र पारिवारिक सम्बन्धको महत्व बुझ्न पाउनुभएको थियो ।

उपराष्ट्रपति पेन्स अध्ययनका लागि ह्यानोभर कलेजमा भर्ना हुनुभयो, जहाँबाट उहाँले सन् १९८१ मा इतिहासमा स्नातक उपाधि हासिल गर्नुभयो । कलेजमा रहँदा उहाँले क्रिश्चियन धर्मप्रतिको आफ्नो निष्ठालाई थप प्रगाढ बनाउन पाउनुभयो । जीवनको उर्जाको रूपमा हालसम्म पनि यो निष्ठाले उहाँलाई उत्प्रेरित गरिरहेको छ । थप उच्च शिक्षाका लागि उहाँ इन्डियाना युनिभर्सिटीको ‘स्कूल अफ ल’ मा भर्ना हुनुभयो, जहाँ उहाँले आफ्नी भविष्यकी जीवनसंगिनी क्यारेन पेन्सलाई भेट्नुभयो ।

विश्वविद्यालयबाट पढाइ पूरा गरेपछि उहाँले कानुन व्यवसायमा हात हाल्नुभयो । उहाँले ‘इन्डियाना पोलिसी रिभ्यु फाउन्डेसन’नामको संस्था चलाउनुभयो । उहाँले रेडियोमा ‘द माइक पेन्स शो’नामको छलफल कार्यक्रम चलाउन थाल्नुभयो । टेलिभिजनमा पनि सार्वजनिक मामिलासम्बन्धी साप्ताहिक कार्यक्रम चलाउन थाल्नुभयो । यही क्रममा उहाँ तीन सन्तानको पिता भइसक्नुभएको थियो — माइकल, शार्लोट र अड्री ।

इन्डियानामा परिश्रमी र असल हुजियर (इन्डियाना राज्यका बासिन्दा) हरूको बीचमा हुर्किएका उपराष्ट्रपति पेन्सको मनमा सधैँभरि एउटै ध्याउन्न थियो — उहाँले आफ्नो राज्य र राष्ट्रका लागि केही गर्नुछ, किनकि यहाँबाट उहाँले धेरैथोक पाउनुभएको थियो । यसैका लागि उहाँ राजनीतिमा आउनुभयो र अमेरिकी व्यवस्थापिकाका लागि चुनाव लडे । ४० वर्षको उमेरमा उहाँ सन् २००० मा अमेरिकी प्रतिनिधि सभा (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा निर्वाचित हुनुभयो ।

पूर्वी–मध्य इन्डियानाका बासिन्दाहरूले पेन्सलाई अमेरिकी कङ्ग्रेसमा छ पटक जिताए । क्यापिटल हिलमा रहँदा पेन्सले आफूलाई सीमित सरकारी शासन, जिम्मेवार वित्तीय व्यवस्था, आर्थिक वृद्धि, शैक्षिक अवसरको पर्याप्तता, र अमेरिकी संविधानको रक्षाको पक्षमा उभ्याउनुभयो । उहाँका समकक्षीहरूले उहाँमा भएको नेतृत्व क्षमता देखे र हाउस रिपब्लिकन स्टडी कमिटीको सभापति तथा हाउस रिपब्लिकन कन्फरेन्सको सभापतिमा निर्विरोध निर्वाचित गरे । यी पदहरूमा रहेका बेला उपराष्ट्रपति पेन्सले केन्द्रीय सरकारको शासकीय भूमिकालाई न्यून गर्दै शासनलाई राज्य र स्थानीयस्तरमा विकेन्द्रित गर्ने र सरकारलाई चुस्त, प्रभावकारी, र कम खर्चिलो बनाउनेतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

सन् २०१३ मा उपराष्ट्रपति पेन्स राजधानीबाट आफ्नो राज्य फर्कनुभयो किनकि उहाँलाई इन्डियानाका बासिन्दाले राज्यको गभर्नर पदमा निर्वाचित गरेका थिए । आफूले प्रवर्द्धन गर्दै आएको सीमित सरकारी शासन र न्यून करको सिद्धान्त उहाँले इन्डियाना राज्यमा पनि भित्र्याउनुभयो । गभर्नरको हैसियतमा उहाँले राज्यले लिने करमा व्यापक कटौती गर्नुभयो, जुन इन्डियानाको इतिहासमै सबैभन्दा ठूलो कटौती थियो । व्यक्तिगत आयकर, व्यावसायिक व्यक्तिगत सम्पत्ति कर, र कर्पोरेट सम्पत्ति करको दर घटाउँदै उहाँले नयाँ लगानी भित्र्याउनुभयो र राम्रो रोजगारीको सिर्जना गर्न भूमिका खेल्नुभयो ।

रोजगारीको सिर्जनामा उहाँले दिएको जोडका कारण उहाँको चारवर्षे कार्यकालमा इन्डियानामा बेरोजगारहरूको सङ्ख्या आधै कम भयो । उहाँको कार्यकालको अन्तमा आइपुग्दा रोजगारप्राप्त हुजियरहरूको सङ्ख्या इन्डियाना राज्यको २०० वर्षको इतिहासमै सबैभन्दा बढी थियो ।

इन्डियानाको गभर्नरको हैसियतमा उपराष्ट्रपति पेन्सले विद्यालयको अनुदान बढाउने, विद्यालयहरूको सङ्ख्यावृद्धि, र राज्यको अनुदानमा प्रि–किन्डरगार्टेनको सञ्चालन योजना अगाडि बढाउनुभयो । रोजगारीमूलक र सीपमूलक शिक्षालाई हरेक उच्चमाध्यमिक विद्यालयको प्राथमिकतामा राख्‍नुभयो । ‘अमेरिकाको क्रसरोड’उपनामले परिचित इन्डियाना राज्यमा सडक र पुलहरू बनाउन पेन्सको नेतृत्वमा ८० करोड डलरको नयाँ लगानी थपिएको थियो ।
करमा गरिएको ऐतिहासिक कटौती र सडक तथा विद्यालयमा गरिएको नयाँ लगानीका बाबजुद उहाँको पालामा राज्य वित्तीय रूपमा सुदृढ रह्यो । इन्डियाना राज्यको जनरल एसेम्ब्लीका सदस्यहरूसँग सहकार्य गर्दै पेन्सले दुई पटक सन्तुलित बजेट पारित गराउनुभयो र राज्यको कोषलाई सबल बनाउँदै ‘ट्रिपल ए’रेटिङ हासिल गराउनुभयो, जुन राष्ट्रियस्तरमै सबैको लागि इर्श्याको विषय बन्न पुगेको थियो ।

इन्डियानामा उहाँले हासिल गरेको सफलता, व्यवस्थापिका र कार्यपालिकामा उहाँको अनुभव, र पारिवारिक मूल्यमान्यताप्रति उहाँको आस्था देखेर माइक पेन्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को जुलाईमा आफ्नो चुनावी सहयात्रीका रूपमा छनौट गर्नुभयो । अमेरिकी जनताले सन् २०१६ नोभेम्बर ८ मा ट्रम्पलाई राष्ट्रपति र पेन्सलाई उपराष्ट्रपतिको रूपमा निर्वाचित गरे । सन् २०१७ जनवरी २० मा उहाँहरू दुवैले आ–आफ्नो पदबहाली गर्नुभयो ।

उपराष्ट्रपति माइक पेन्स कृतज्ञ हुनुहुन्छ — ईश्वरको अनुकम्पाप्रति, आफ्नो परिवारबाट प्राप्त स्नेह र सहयोगप्रति, र नागरिक स्वतन्त्रताप्रति, जुन प्रत्येक अमेरिकी नागरिकको जन्मसिद्ध अधिकार हो । अमेरिकालाई पुन: महान् बनाउने सामूहिक अभियानमा उहाँ अमेरिकी जनतासँग हातेमालो गरेर हिँड्न चाहनुहुन्छ ।

जीवनी स्रोत : whitehouse.gov