काठमाडौँ – यो महिना पिस कोर-नेपालले पिस कोर स्वयंसेवकहरूको पहिलो समूह काठमाडौँ आइपुगेको अवसरको ६० औँ वर्षगाँठ मनाउँदै छ । सन् १९६२ को सेप्टेम्बर महिनामा ७० भन्दा बढी अमेरिकी स्वयंसेवकहरू काठमाडौँ आइपुगेका थिए र उनीहरूले नेपालभर मुख्यतः विद्यालय र कलेजहरूमा सेवा गरी नेपाल र अमेरिकाबिच दिगो सम्बन्धको सृजना गरेका थिए । सन् १९६२ देखि झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा स्वयंसेवक भई सेवा गरेका छन् र शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत बहुल क्षेत्रका परियोजनाहरू सम्पन्न गरेका छन् । कोभिड-१९ महामारीका कारण सन् २०२० को मार्च महिनामा पिस कोर स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रमण गरिएकोले उनीहरूलाई फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ ।
पिस कोरबारे : पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्छन् । पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तर-सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्याउँछ । सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडिले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा सेवा गरिसकेका छन् । थप जानकारीका लागि peacecorps.gov हेर्नुहोस् र फेसबुक, इन्सटाग्राम र ट्विटरमा हामीलाई फलो गर्नुहोला ।
###